वि.सं.२०८२ फागुन २० बुधवार

रामग्राममा ७५ अर्बको घोटाला काण्ड मच्चाइदै, करिब ४ सय घर बस्ती उठिबास

राज्यसत्तामा पहुँच हुनेले देशका महत्वपूर्ण स्रोत साधन लुटपाट मच्चाउनु नेपालको लागि नयाँ होइन ।

पश्चिम नवलपरासीस्थित रामग्राम नगरपालिका वडा नं ७ उदैनी करिब ४ सय घर परिवारलाई उठिबास लगाएर ७५ अर्ब रुपैयाँको घोटाला काण्ड मच्चाउन लागिएको तथ्य फेला परेको छ ।

देशैभरिका ठेक्कापट्टा आफ्नो हातमा लिएर समयमा निर्माण नगरेर जनतालाई दुःख दिँदै आएका ठेकेदार शारदा प्रसाद अधिकारीका छोरा निकेश अधिकारीले प्रमिश ल्याण्ड नामक प्राइभेट कम्पनी खडा गरी सो क्षेत्रमा लुम्बिनी जस्तै रामग्रामको विकास गर्ने भन्दै परियोजना अघि बढाइएको छ ।

नेपालका दर्जनौं सडकहरु अलपत्र पारेर विवादमा आएका अधिकारी प्रधानमन्त्री प्रचण्डका घरबेटी समेत हुन् ।

सोही कुराको फाइदा उठाएर अधिकारीसहितको गिरोहले रामग्राम उदैनीमा प्रमिश ल्याण्ड प्रा.लिमार्फत बस्ती उठाउने र नयाँ ऐतिहासिक शहर बसाउने ७५ अर्ब रुपैयाँ घोटाला सम्बन्धी परियोजना अघि बढाइएको छ ।

विवादित छवीका ल्हारक्याल लामा हाल लुम्बिनी विकास कोषको उपाध्यक्ष छन् ।

उनको समेत मिलेमतोमा अर्बौ रुपैयाँ घोटाला सम्बन्धी परियोजना अघि बढाउन लागिएको हो ।

उक्त कार्यमा पर्यटन मन्त्री सुदन किराँती समेत नियतबस वा अन्जानबस भव्य रुपमा लागि परेको सूचना प्राप्त भएको छ ।

रामग्राममा विकास गर्न लागिएको नयाँ परियोजनाले करिब ४ सय घर परिवारको उठिबास लगाउने रामग्राम नगरपालिकाका जनप्रतिनिधिहरुले स्वीकार गरेका छन् ।

यति ठूलो परियोजना पर्यटन मन्त्री सुदन किराँती र लुम्बिनी विकास कोषको दवावमा आएर काम गरिरहेको उनीहरुको भनाई छ ।

विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने भनेर सुरु गरिएको बृहत परियोजना प्रधानमन्त्री प्रचण्डका घरबेटीका छोरा अध्यक्ष रहेको प्रमिश ल्याण्ड प्रा.लिको मुख्य अगुवाईमा हुन लागेको लुम्बिनी विकास कोषका अध्यक्ष ल्हारक्याल लामाले स्वीकार गरेका छन् ।

हाल कार्यक्रममा व्यस्त भएकोले थप विवरण पछि दिने उनले बताए ।

उता, रामग्राम नगरपालिकाकी उपमेयर सम्झना चौधरीले रामग्रामको आज प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने जानकारी दिएकी छिन् ।

यद्यपि प्रधानमन्त्री प्रचण्ड आज लुम्बिनी जानेबारे सचिवालयले केही बताएको छैन ।

प्रचण्डबाट उद्घाटन हुन लागेको सो परियोजनामा प्रम प्रचण्ड सहभागी नहुन पार्टीभित्रैबाट खवरदारी सुरु भएको छ ।

आज प्रम प्रचण्ड आफै गएर उद्घाटन गरेमा ७५ अर्ब घोटला सम्बन्धी परियोजना प्रधानमन्त्री प्रचण्डले आज आफ्नै जन्मदिनमा गर्नु अर्को संयोग बन्नेछ ।

विवादास्पद ठेकेरदारबाट हुन लागेको अर्बौ रुपैयाँ घोटाला काण्ड यसअघिको चर्चित बालुवाटार काण्ड भन्दा पनि ठूलो काण्डको रुपमा पश्चिम नवलपरासीमा हेरिएको छ ।

हाल चर्चा गरिएको १०० बिघा जमिन भन्नाले करिब १३०० रोपनी क्षेत्रफलबाट जनतालाई उठाएर उक्त स्थानको मुख्य केही स्थानको उत्खनन् गरी ऐतिहासिक सम्पदाको रुपमा विकास गर्ने र बाँकी जग्गा कोलोनी बनाएर स्वदेश तथा विदेशीलाई बिक्री गर्ने मुख्य उद्देश्य निहित छ ।

सो परियोजनाको उद्घाटन गर्न लगाएर प्रधानमन्त्री प्रचण्डलाई विवादमा पार्न लागिएको भन्दै माओवादी पार्टीभित्रै प्रचण्डको आलोचना सुरु भएको छ ।

पार्टीका केही जिम्मेवार नेताहरुले बालुवाटारस्थित सचिवालयले सही व्यवस्थापन गर्न नसकेको आरोप लगाइरहेका छन् ।

स्मरणरहोस्, केही दिन पहिले मात्रै प्रम प्रचण्डका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजिनामा दिएका थिए ।