नेपाल प्रहरीभित्र अहिले फेरि एकपटक वर्गगत विभेद, भावनात्मक बेवास्ता र संस्थागत प्रश्न उठिरहेका छन्।
“संगठन शीरदेखि खुट्टासम्म एउटै”, “समान पोशाक, समान पहिचान” यस्ता नारा बाहिर सुन्न सजिलो छ।
तर प्रहरीका तल्ला तहमा काम गर्ने जवानका आँखाबाट हेर्दा नारा र वास्तविकता बीच एक संसारको दूरी देखिन्छ।
‘इनस्पेक्टरदेखि माथि मात्रै नयाँ ज्याकेट, हामी त के…?’
हालै वितरण गरिएको नयाँ डिजाइनको शीतकालीन ज्याकेट हल्का, तातो, टिकाउ, आधुनिक र आकर्षक, तर वितरण भने केवल इनस्पेक्टर र सोभन्दा माथिका पदमा सीमित। प्रहरीहरूबीच व्यापक असन्तोष फैलिएको छ।
तल्लो तहका प्रहरी भने पुरानै, भारी, च्यातिनलाग्दा, पानी सोस्ने, र धेरैले “अर्कै युगको सम्झना दिलाउने” भन्दै आलोचना गर्ने ज्याकेटमै सीमित।
प्रहरी एक जवानले भने ‘हामी सधैं पहिलो लाइनमा हुन्छौं, तर सुविधा अन्तिममा!’
फेरि अर्का जवान भन्छन्:- “हिउँ जमेतिर हामी ड्युटी गर्छौं। बरफ परे पनि हामी। रात–बिरात अपराधीहरुलाई पक्राउ गर्न खटिन्छाै हामी।
तर नयाँ ज्याकेट चाहिँ शीर्ष अधिकारीलाई मात्र? संगठनले काम हामीकहाँ खोज्छ, सम्मान र सुविधा भने अरूलाई दिन्छ।”
उनको याे भनाइ भित्र केवल गुनासो मात्र होइन, वर्षौँदेखि थिचिएको पीडाको स्वर मिसिएको छ।
भौतिक सुविधा मात्रै होइन, मनोबलमै असमानता परेको आरोप
जवानहरूले आरोप लगाउँछन् :- विदेश तालिम ? अधिकारीलाई, उत्तम तालिम? अधिकारीलाई, बढुवा? अधिकारीलाई।
कपडा, बुट, जैकेट? अधिकारीलाई।
जबकि, प्रहरी जवानले भिड नियन्त्रण गर्छन्, जोखिम उनीहरूले लिन्छन् ।अपराधी समात्दा चोट उनीहरूले खान्छन्। चिसो, गर्मी, वर्षासबै मौसमको धेरै भार उनीहरूमै पर्छ।
स्रोतका अनुसार, नयाँ ज्याकेट राम्रो क्वालिटीको, तातो, टिकाउ र पहिरनमा समेत आकर्षक छ। तर यो केवल इनस्पेक्टरदेखि माथि पद भएका अधिकृतहरूको लागि मात्र वितरण गरिएको बताइन्छ। तल्लो तहका कर्मचारीहरूलाई पुरानै, भारी र धेरैले “अर्कै युगको” भन्दै आलोचना गर्ने ज्याकेटमै काम गर्न बाध्य बनाइएको छ।
तल्लो तहका प्रहरीको गुनासो: ‘संगठन हाम्रो मात्रै काम चाहन्छ, अधिकार दिंदैन’
तल्लो तहमा कार्यरत प्रहरीहरू भन्छन्:-
“युद्घ त जसले लड्छ, ज्याकेट किन शीर्ष पदधारीले मात्रै पाउँछन्? माइनस डिग्रीमा ड्यूटी गर्ने त हाम्रै हो। तर नयाँ पोशाक चाहिँ हामीलाई नदिने? किन?”
भौतिक सुविधा, ड्रेस, तालिम, विदेश तालिम, पदोन्नति, कार्यस्थल–सबै कुरामा दुई वर्ग बनाइएको अनुभूति तल्लो तहका धेरै प्रहरीले व्यक्त गरेका छन्।
प्रहरी प्रवक्ताले भने नयाँ ज्याकेट परीक्षण रूपमा केही पदका अधिकृतलाई मात्र वितरण गरिएको, प्रभावकारिता अध्ययनपछि क्रमिक रूपमा सबै तहमा वितरण गरिने दाबी गरेका छन्।
तर संगठनभित्रै हैसियत पद–आधारित प्राथमिकता भएको आरोप लगाएका छन्।
स्रोतका अनुसार “यदि प्रभावकारिता परीक्षणकै कुरा हो भने तल्लो तहका प्रहरीले नै बढी टेम्परेचर–लोड सामना गर्छन्। परीक्षणका लागि उनीहरू नै उपयुक्त थिए।”
युवा प्रहरीहरूको आवाज चर्किदै: ‘हामी संगठनका रीढ हौं, भेदभाव अन्त्य गर’
फेरि अर्का प्रहरी जवान भन्छन्: “समान जोखिम, समान ड्युटी, समान पोशाक। यो अहिलेको माग होइन, हाम्रो अधिकार हो।”
तल–स्तरका प्रहरीले आफूहरूलाई “रोजगारका निम्ति मात्र प्रयोग भएको तर सुविधामा “अधिकृतवादी चरित्र” कायम भएको बताउँछन्। “हामीले संगठनलाई ढालेनौं। संगठनले हामीलाई नै किन टुक्र्याइदियो?”
यस समाचारमा प्रहरी जवानहरुकाे नाम गाेप्य राख्नुका साथै समाचारमा प्रयोग गरिएको तस्बिर AI बाट साभार गरिएको हाे : सम्पादक






























