वि.सं.२०८२ माघ २२ बुधवार

४ लाख घुससहित एआईजीका घुमुवा धिरेन बिष्ट पक्राउ

नेपाल प्रहरीको उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट परिचालित सादा पोशाकका घुमुवा सहायक हवल्दार धिरेन बिष्टलाई लागूऔषध कारोबारीसँग ४ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको छ।

बिष्टसहित अर्का एक प्रहरी जवान पनि पक्राउ परेका हुन् ।

बिष्टलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । बिष्टसहित दुबै प्रहरीलाई अदालतबाटै पक्राउ पूर्जी जारी गरी ४ दिन म्याद थप गरिसकिएको छ ।

बिष्टलाई जेनजी आन्दोलनअघिका उपत्यका प्रहरी कार्यालयका एआईजी टेकबहादुर तामाङले घुमुवाका रुपमा खटाएका थिए ।

तामाङकी श्रीमतीकै जोडबलमा बिष्टलाई घुमुवाका रुपमा खटाइएको थियो ।

तामाङले खटाएका घुमुवा बिष्टको टोलीलाई वर्तमान उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी ईश्वर कार्कीले पनि निरन्तरता दिएका थिए ।

बिष्ट लामो समयदेखि काठमाडौंमै घुमुवाका रुपमा कार्यरत छन् । यसअघि २०७७ असारमा काठमाडौंका दुई प्रहरी हुन्डी व्यापारीलाई लुटेको आरोपमा बिष्ट र अर्का प्रहरी बिक्रम चन्द पक्राउ परेका थिए ।

सहायक हवल्दार बिष्ट र चन्दले न्यूरोडका एक व्यापारीसँग १० लाख लिएको खुलेपछि उनीहरु पक्राउ परेका थिए ।