वि.सं.२०८२ फागुन ६ बुधवार

नेपाल प्रहरीमा ४ जना मात्रै एआइजी राख्ने तयारी

नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआइजी) को दरबन्दी घटाउने तयारी गरिएको छ । ५ महिनादेखि चारवटा पद रिक्त हुँदा समेत बढुवा गर्न नसकेपछि प्रहरी प्रधान कार्यालयको सिफारिसमा सरकारले एआइजीको दरबन्दी कटौती गर्न लागेको हो ।

बढुवाको प्रतिस्पर्धामा रहेका प्रहरी नायब महानिरीक्षक (डिआइजी) हरुको बिहीबार सरुवा भएपछि अब तत्काल एआइजी बढुवा नहुने पक्कापक्की जस्तै भएको छ । बरियतामा क्रमशः पहिलो, दोस्रो, तेस्रो र चौथो नम्बरमा रहेका डिआइजीहरुको नै प्रदेशमा सरुवा भएको छ ।

यस अघि नेपाल प्रहरीमा एआइजीको दरबन्दी ८ थियो । चारवटा कटौती भएको अवस्थामा प्रहरीमा अब ४ जना एआइजी रहन्छन् । हाल चारवटै पद रिक्त छैन । आगामी चैत १९ पछि हालका प्रहरी महानिरीक्षक (आइजीपी) धिरज सिंहको अवकाशपछि मात्र बढुवाको बाटो खुल्नेछ ।

सिंहको अवकाशपछि ५ वटा पद रिक्त हुनेछ । प्रहरीमा अब डिआइजीबाट नै आइजी बन्नेछन् । यसअघि एआइजीबाट आइजी बनेका सिंहलाई गृहमन्त्री रवि लामिछानेले सरुवा/बढुवा मिलाएर गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्री लामिछानेले प्रहरीको सरुवा/बढुवामा कुनै हस्तक्षेप नगर्ने बताएपछि आइजी सिंहले आफ्नो नजिकका अधिकृतलाई राम्रो अवसर दिएको प्रधान कार्यालय स्रोत बताउँछ ।