सुस्मिता सुनार, काठमाडाैं ।
ललितपुर महानगरपालिका वडा १५ मा रहेको संरक्षित क्षेत्रको रुख सम्बन्धित निकायको स्विकृती बिना कटान गरिएको छ ।
सातदोबाटोमा अवस्थित भेल्पा मन्दिर परिसरको करिब २५ वटा रुख स्विकृती बेगर नै काटिएको हो ।
भेल्पा मन्दिर परिसर संरक्षित क्षेत्र हो । संरक्षित क्षेत्रको रुख कटान गर्न पालिकासँगको समन्वयमा जिल्ला वन कार्यालयबाट स्विकृती लिनु पर्ने हुन्छ ।
रुख कटानसम्बन्धी विषयमा ललितपुर महानगरपालिकाको कार्यपालिकाले १५ वडाका वडाध्यक्ष सुरेश शाहीसँग असाढ १९ गते पत्र संख्या १३२००–०७८/०७९ मार्फत स्पष्टिकरण सोधिसकेको छ ।
स्पष्टिकरणमा वडाध्यक्ष शाहीले सो जग्गा सार्वजनीक नभइ निजी रहेको स्पष्टिकरण दिएका छन् । रुख कटान गरिएको जग्गा रहेको स्थान कित्ता नम्बर ५/श ७२ को १ रोपनी १ आना जग्गा मालपोत कार्यालयमा नेपाल सरकारको नाममा दर्ता रहेको छ ।
उक्त क्षेत्रमा तत्कालिन जिल्ला वन अधिकृतलगायतको टोलीले वृक्षारोपण गरेको थियो ।
ललितपुर जिल्ला वन कार्यालयले समेत उक्त रुख कटानसम्बन्धी विषयलाई लिएर वडाध्यक्ष शाहीसँग सूचना माग गरेको ललितपुर जिल्ला वन अधिकृत राम कुमार भण्डारीले जानकारी दिए ।
उक्त सार्वजनीक क्षेत्रको रुख कटान गरिएको पाइएको पनि उनले जानकारी दिए ।
रुख कटान कसले गरेको भन्ने बारेमा स्थानीयहरु पनि अन्जान छन् ।
तर वडाध्यक्ष शाहीले उक्त स्थान सार्वजनीक रहेको भन्ने जान्दाजान्दै पनि निजी भनि दिएको स्पष्टिकरणले पनि उनको मिलेमतो रहेको आशंका गर्ने प्रसस्त ठाँउ रहेको छ ।
रुख कटान गरिएको छेत्रको लालपुर्जा – तत्कालिन श्री ५ को सरकार, हाल नेपाल सरकारको नाममा
वडाध्यक्ष शाहीले सार्वजनिक जग्गालाई निजी भनि महानगरलाई उपलब्ध गराएको जानकारी