वि.सं.२०८२ कात्तिक १ शनिवार

‘प्रेम र यौन प्रस्ताव अस्वीकार गर्दा दुई किशोरीको हत्या’

काठमाडौँ । अछामको ढकारी गाउँपालिका-१ का १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको ढुङ्गा प्रहारबाट हत्या गरेको प्रहरीले जनाएको छ ।

गत शुक्रबार गोठालो गएका बेला बेपत्ता भएर भोलिपल्ट छिन्ने जङ्गलमा मृत भेटिएकी ढकारी गाउँपालिका-८ पल्साताकी किशोरीको प्रेम र यौन प्रस्ताव अस्वीकार गर्दा हत्या गरिएको प्रहरीले जनाएको छ ।

शनिवार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले केही दिन पहिले पक्राउ परेका दुई किशोरले नै उनीहरुको हत्या गरेको बताएका छन् । ‘ किशोरीको हत्याको प्रमुख कारण प्रेम सम्बन्ध र यौन प्रस्ताव हो ’ प्रहरी प्रमुख डिएसपी भण्डारीले भने ।

मृतक इशरा खड्का र पक्राउ परेका मध्येका एक नाबालक किशोरबीच लामो समयदेखि टेलिफोनमा कुराकानी हुने गरेको थियो ।

शुक्रवार गोठालो गएका बेला छिन्ने जङ्गलमा भेट्ने कुरा भएकाे थियो । इशरा खड्कासँग प्रेम सम्बन्धमा रहेका युवकबीच कुराकानी भइरहेको हुन्छ । उनीहरुबीच प्रेमको चिनो स्वरूप विवाह गर्ने सर्तमा चुन्नी साटिसकेका हुन्छन् ।

यता इशराको फुपू नाता पर्ने सरस्वतीसँग अर्का एक किशोरले संवाद सुरु गर्छन् । ‘उनीहरू जस्तै हामी पनि प्रेम गरौँ, विवाह गरौँ भन्दै अर्का युवकले सरस्वतीसँग कुरा गर्छन् । विवाह गर्ने सर्तमा चुन्नी साटासाट गर्न आग्रह गर्छन् । तर सरस्वतीले उनको प्रस्ताव अस्वीकार गर्छिन् ’ डिएसपी भण्डारीले भने, ‘पहिले प्रेम र त्यसपछि यौन प्रस्ताव अस्वीकार गरेपछि आवेशमा आएका युवकले नजिकै भएको ढुङ्गाले हानेर सरस्वतीको हत्या गरेको हो । ’

प्रहरीका अनुसार ढुङ्गा खसेको आवाज आएपछि इशरा र अर्का युवक घटनास्थलमा आइपुग्छन् । त्यहाँ सरस्वतीको शव क्षतविक्षत अवस्थामा देख्छन् । युवकले माथिबाट खसेको ढुङ्गा लागेर उनको मृत्यु भएको दाबी गर्छन् । तर इशराले भने फुपू सरस्वतीको हत्या गरेको भन्दै गाउँमा खबर गरिदिने भनेर आक्रोश व्यक्त गर्छिन् ।

‘घटना बाहिर आउने डरले इशारालाई पहिले पछाडिबाट डुङ्गाले हानेर हत्या गरियो, लडेपछि फेरि अगाडिबाट ढुङ्गाले हानेर मारिएको देखिन्छ’ प्रहरीले पत्रकार सम्मेलनमा प्रष्ट पारेको छ ।