वि.सं.२०८१ कात्तिक २७ मंगलवार

यस्तो छ सशस्त्र प्रहरीमा रासन घोटालाको प्रमाण

१२२ जनालाई सिपाहीलाई एकसाथ बिदामा छाडेर भत्ता हजम गर्न लागेका एक जना एसपी त्रिभुवन बिष्टको कर्तुत छोप्नका लागि अर्का एक निरिह हवल्दारलाई पिडित बनाउन लागिएको छ ।

सशस्त्र प्रहरी नं ४४ गण दार्चुलाको गोप्य सूचना सञ्चारमाध्यममा दिएको आरोपमा सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार नरेश सिंह साहु थुनामा छन्। उनले दार्चुलाको खलंगास्थित सशस्त्र प्रहरी गणका १२२ जनालाई एकसाथ बिदामा छाडिएको सूचना पत्रकारलाई दिएका थिए।

साहुको दरबन्दी हाल सशस्त्र प्रहरी बल नं २५ चण्डिका गण पर्वत हो। बिष्ट माथि रासन भत्तामा अनियमितता गर्ने उदेश्यले यसरी बिदा छाडेको आरोप छ। अनियमितताको बारेमा जानकारी दिने हवल्दारलाई भने सर्वस्वसहित जन्म कैदको माग गर्दै सशस्त्रले मुद्दा दायर गरेको छ।

गणमा २५८ जना कार्यरत रहेकोमा १२२ जनालाई एकसाथ बिदामा छाडिएको भने पुष्टि भइसकेको छ। हवल्दारले सूचना दिएका पत्रकारले आफ्नो स्रोतको गोपनियता नराख्दा साहु समस्यामा परेका हुन्। पत्रकारले आफूलाई हवल्दार साहुले नै सूचना दिएको खुलाइदिएका थिए।

असार २२ गते सशस्त्र प्रहरीको विशेष अदालतमा हवल्दार साहुविरुद्ध मुद्दा दायर भएको थियो। विशेष अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। अन्तिम फैसला हुन बाँकी छ। सशस्त्र प्रहरीले भने एसपी चोख्याउन गणमा रहेका हात हतियार र सशस्त्र प्रहरीको संख्या बारे पनि सूचना दिएको आरोप लगाएको छ।