वि.सं.२०८१ कात्तिक २८ बुधवार

‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रममा १० करोड घोटाला, १० जनाविरुद्ध मुद्दा (विज्ञप्तिसहित)

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रम अन्तरगत साइकल खरिदमा १० करोड रुपैयाँभन्दा बढीको अनियमितता भएको छ।

अनियमितता भएको आरोपमा प्रदेश सचिव याम प्रसाद भुसालसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ।

प्रदेश सरकारलाई १० करोड ३३ लाख ७५८ रुपैयाँ हानी नोक्सानी पुर्‍याइएको पुष्टि गर्दै अख्तियारले प्रदेश सचिव भुसाल, सिडिई भगवान झा, सह लेखापाल राजाराम मण्डल, भण्डार तथा जिन्सी शाखा प्रमुख अधिकृत राम स्वार्थ महतो, भण्डार शाखाका खरिदार जित मोहन कुमार दास र ओम सत्य साई प्रालि वीरगञ्जका प्रबन्ध निर्देशक रेनु अग्रवालविरुद्ध आज विशेष अदालतमा मुद्धा दायर गरेको हो।

साइकल खरिद प्रकृया सुरु गर्दादेखि भुक्तानी कार्य गर्दासम्म संलग्न कर्मचारीहरु र आपूर्तिकर्ताले बदनियतपूर्वक हिनामिना गरेको पुष्टि भएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

सम्झौता अनुसार अम्बिका ब्राण्डका साइकल आपूर्ति हुनुपर्नेमा सम्झौता विपरीतका ब्राण्ड नखुलेका कमसल तथा गुणस्तरहीन लेडिज साइकलको आपूर्ति गरी सार्वजनिक हानी नोक्सानी गरेको अख्तियारको ठहर छ।

प्रवक्ता भण्डारीका अनुसार प्रदेश सचिव भुसाल, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय जनकपुरधामका तत्कालीन प्रमुख सिडिई झा, सह लेखापाल मण्डल र आपूर्तिकर्ता कम्पनीका प्रवन्ध निर्देशक अग्रवाललाई प्रतिव्यक्ति १० करोड ३३ लाख ७५८ रुपैयाँ बिगो कायम गरी असुल गर्न तथा कैद र जरिवाना हुन सजाय मागदाबी लिईएको छ।

गलत लिखित प्रतिवेदन तयार गर्ने भण्डार शाखा प्रमुख महतो र खरिदार दासविरुद्ध भने बिगो रकम नराखी कैद सजाय र जरिवाना माग गरिएको अख्तियारले जनाएको छ।

अख्तियारले सोही अनियमिततामा बोलपत्र मूल्यांकन समितिका पदाधिकारीहरुसहित अन्य चार जनाविरुद्ध छुट्टै मुद्दा लगाएको छ।

बोलपत्र मूल्यांकन समितिका पदाधिकारी/सदस्यहरु उप–सचिव दिलिप कुमार प्रधान (अध्यक्ष), अधिकृत आठौं सुरेन्द्र कुमार कर्ण, (सदस्य–सचिव), सह–लेखापाल राजाराम मण्डल (सदस्य)ले बोलपत्र मूल्यांकन समितिमा रही दोस्रो कम अंक कबोल गर्नेलाई योग्यता सम्बन्धी मापदण्ड नपुग्दासमेत बदनियतपूर्वक छनौटका लागि सिफारिस गरी बोलपत्र मूल्यांकन गरी प्रतिवेदन पेश गर्दा गलत मनसायले बदनियतपूर्ण तवरबाट गलत प्रतिवेदन दिएको पाइएको प्रवक्ता भण्डारीले बताए ।