समाजवादी प्रेस संगठनले सदस्यता विवाद समधान नगरी नेपाल पत्रकार महासंघको निर्वाचन कार्यक्रम सार्वजनिक गरेकोप्रति आपत्ति जनाएको छ।
संगठनका अध्यक्ष विश्वमणि सुवेदीले आज एक विज्ञप्ति जारी गर्दै सदस्यता विवाद समधान गरेरमात्रै निर्वाचन कार्यक्रम सार्वजनिक गरिनुपर्छ भन्ने बहुसंख्यक पत्रकार संगठनको मागलाई महासंघले लत्याउँदैको आरोप लगाएका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘महासंघको निर्वाचन गर्नका निम्ति तयार पारिएको सदस्यता विवरणमा आपत्ति जनाउँदै हामीले तालाबन्दी गर्नुपरेको थियो । अहिले त्यही विवरणका आधारमा निर्वाचन गराउन खोज्नु आपत्तिजनक छ ।’
दुई बुँदे सहमति गर्दै तालाबन्दी गर्नुपर्नाका कारणलाई हल गरिने, सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण, अन्तरजिल्ला स्थानान्तरण र शुद्धीकरणका सम्बन्धमा तालाबन्दी गर्ने तीन संगठनका मागलाई सम्बोधन गरिने प्रतिवद्धता पत्रमा महासंघका अध्यक्ष विपुल पोखरेल र महासचिव रोशन पुरीले हस्ताक्षर गरेपनि प्रतिवद्धताविपरितको सदस्यता विवरणका साथ निर्वाचनलाई अगाडि बढाउन खोज्नु निन्दनीय भएको उल्लेख गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘पत्रकारलाई महासंघको सदस्यताबाट बञ्चित गर्ने र गैरपत्रकारका नाम थप्ने होडबाजीबीच तयार पारिएको सदस्यता सूची खारेज गरिनुपर्छ । न्यायोचित सदस्यता सूची प्रकाशित नगरी हुने निर्वाचन महासंघलाई निश्चित संगठनको सिण्डिकेट बनाउने परिपञ्च हो, हामीलाई त्यस्तो निर्वाचन स्वीकार्य छैन ।’
हेर्नुस् प्रेस विज्ञप्ति
सदस्यता विवाद हल गरेरमात्रै निर्वाचन कार्यक्रम सार्वजनिक गरिनुपर्छ भन्ने बहुसंख्यक पत्रकार संगठनको मागलाई लत्याउँदै नेपाल पत्रकार महासंघद्वारा निर्वाचन कार्यक्रम घोषणा गरिनु आपत्तिजनक विषय हो ।
महासंघको निर्वाचन गर्नका निम्ति तयार पारिएको सदस्यता विवरणमा आपत्ति जनाउँदै हामीले तालाबन्दी गर्नुपरेको थियो । अहिले त्यही विवरणका आधारमा निर्वाचन गराउन खोज्नु आपत्तिजनक छ । यस संगठनसहित प्रगतिशील पत्रकार संघ नेपाल र प्रेस मञ्च नेपालले उक्त सदस्यता विवरणमा आपत्ति जनाउँदै जेठ १४ गते महासंघको केन्द्रीय कार्यालयसहित विभिन्न जिल्ला शाखामा तालाबन्दी गरेको थियो । तालाबन्दीपछि जेठ २० गते छलफलका निम्ति विभिन्न संघ, संगठनलाई बोलायो । दुई बुँदे सहमति गर्दै तालाबन्दी गर्नुपर्नाका कारणलाई हल गरिने, सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण, अन्तरजिल्ला स्थानान्तरण र शुद्धीकरणका सम्बन्धमा तालाबन्दी गर्ने तीन संगठनका मागलाई सम्बोधन गरिने प्रतिवद्धता पत्रमा महासंघका अध्यक्ष विपुल पोखरेल र महासचिव रोशन पुरीले हस्ताक्षर गर्नुभएको थियो । तर, महासंघले प्रतिवद्धताविपरितको सदस्यता विवरणका साथ निर्वाचनलाई अगाडि बढाउन खोज्नु निन्दनीय विषय हो ।
पत्रकारलाई महासंघको सदस्यताबाट बञ्चित गर्ने र गैरपत्रकारका नाम थप्ने होडबाजीबीच तयार पारिएको सदस्यता सूची खारेज गरिनुपर्छ । न्यायोचित सदस्यता सूची प्रकाशित नगरी हुने निर्वाचन महासंघलाई निश्चित संगठनको सिण्डिकेट बनाउने परिपञ्च हो, हामीलाई त्यस्तो निर्वाचन स्वीकार्य छैन । तसर्थ, सहमतिका साथ सदस्यता विवाद सुल्झाउन र निर्वाचन कार्यक्रम ल्याउन महासंघ नेतृत्वलाई हामी आग्रह गर्दछौं ।
(विश्वमणि सुवेदी)
अध्यक्ष
२०८१।०३।०८































