वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरको सट्टा चिनाको दाहसंस्कार गरिएको छ ।
शंखमुलस्थित बागमती घाटमा जोशीको जन्मकुण्डलीको दाहसंस्कार गरिएको हो । उनका छोराद्वय अनुराज जोशी र डा. पूर्णराज जोशीले जन्मकुण्डलीको दाहसंस्कार गरेका हुन् ।
जिवित छँदै संस्कृतिविद् जोशीले शरीर दान गरेका थिए । उनको इच्छाअनुसार, आज परिवारजनले पार्थिव शरीर किस्ट अस्पताललाई हस्तान्तरण गरेका थिए ।
किस्ट अस्पतालले जोशीको पार्थिव शरीरलाई केमिकलमा सुरक्षित राख्ने भएको छ । विद्यार्थीलाई अध्ययनका लागि सुरक्षित राखिन अस्पतालले जनाएको छ ।
२४ दिनदेखि किस्ट अस्पतालमा उपचाररत जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो । आइतबार बिहान उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि किस्ट अस्पताल प्राङ्गणमा राखिएको थियो । त्यसपछि सर्वसाधारणका लागि ललितपुर महानगरपालिकाको प्राङ्गणमा राखिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका थिए । देउवा लगायत नेताहरूले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । जोशीलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न सर्वसाधारण पनि ललितपुर महागनर कार्यालय परिसर पुगेका थिए ।
जोशीको पार्थिव शरीर किस्ट अस्पताललाई हस्तान्तरण गरिएको थियो । अस्पताललाई पार्थिव शरीर हस्तान्तरणपछि उनका परिवारजन जन्मकुण्ली बोकेर शंखमुलस्थित बागमती घाट पुगेका हुन् ।
साँझ ६ बजेर १४ मिनेटमा जोशीका दुवै छोराले उनको जन्मकुण्डलीको दाहसंस्कार गरेका हुन् ।
बुवाको इच्छाअनुसार पार्थिव शरीर अस्पताललाई दान गरेर जन्मकुण्डलीको दाहसंस्कार गरेको उनीहरूले बताएका छन् ।






























