एथ्लेटिको म्याड्रिडले म्यानचेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डोलाई भित्र्याउन एन्टोनियो ग्रिजमानलाई बिक्रीमा राखेको खबर छ ।
रोनाल्डोलाई भित्र्याउने हो भने स्पेनिस क्लबले पहिलो आफ्नो तलबमानलाई मिलाउन जरुरी हुन्छ ।
यसका लागि क्लबले ग्रिजमानलाई पेरिस सेन्ट जर्मेनलगायत सम्भावित क्लबहरूलाई अफर गरेको द टाइम्सले जनाएको छ ।
गत सिजन बार्सिलोनाबाट एथ्लेटिको फर्किएका ३१ वर्षीय फ्रान्स फरवार्ड र क्लबबीच दुई वर्षको ऋण सम्झौता रहेको छ ।
क्लबले त्यसपछि उनलाई ४ करोड युरोमा अनिवार्य अनुबन्ध गर्नुपर्छ । उता पीएसजी आफैँ नेयमारजस्ता धेरै कमाउने र राम्रो प्रदर्शन गर्न नसक्ने खेलाडीहरूलाई बाहिर निकाल्ने प्रयास गरिरहेको छ । उसले ग्रिजमानलाई भित्र्याउने अफर अस्वीकार गरेको छ ।
उता क्लब छाड्ने इच्छा व्यक्त गरेका रोनाल्डोलाई ऋणमा पठाउन युनाइटेड तयार भएको द मिररले जनाएको छ । त्यसअघि युनाइटेडले रोनाल्डोलाई एक वर्षको करार थप गर्नुपर्ने माग गरेको छ ।