वि.सं.२०८१ साउन ६ आइतवार

आरएनसीले निकाल्यो विज्ञप्ति, कान्तिपुरका संवाददाताको बेइमानी र सहायक सीडीओको सफाई

बझाङका सहायक सीडीओ प्रमोद बहादुर चन भन्छन्, कान्तिपुरमा आएको समाचार झुटो

कैलाली बर्दगोरीया गाउँपालिका  वडा नम्वर-१ साझा चाेकमा केन्द्रीय कार्यालय रहेको आरएनसी ट्रेडिङले अनुगमनका नाममा आफुनो केन्द्रीय कार्यालय तथा शाखा कार्यालय बझाङ भएको ज्यादतीको विरोध गरेको छ ।

बिहीबार यो संस्थाका केन्द्रीय निर्देशक रविन चन्दले विज्ञप्ति जारी गरेर घटनाको भत्र्सना गरेका हुन् । विज्ञप्तिमा उनले आफ्नो व्यवसाय कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा दर्ता एवं नविकरण हुँदा हुँदै र आन्तरिक राजश्व कार्यालय कैलालीबाट स्थायी लेखा नम्बर लिएको देख्दा देख्दै विना दर्ता कम्पनी चलाएको भनी गरिएको पूर्वाग्रहीपूर्ण कारबाहीप्रति आपत्ति जनाएका छन् ।

यस्तै, उनले आफ्नो कम्पनीले विक्रिवितरण गरिरहेका वस्तु आफ्नै उद्योगमा उत्पादन भएको जिकिर गरेका छन् । उद्योग दर्ता गरेर चलाइएको र त्यसबाट उत्पादित वस्तु मात्रै बजारमा विक्रि वितरण गरिएको उनले खप्तडटिभीलाई बताए ।

राज्यका नियामक निकायले आफुहरुले गरिरहेको पेशा व्यवसायबारे निगरानी, अनुगमन तथा निरीक्षण गर्न पाउने भए पनि कसैको उक्साहटमा पूर्वाग्रही ढंगले कारबाही गर्नु नियोजित भएको जिकिर चन्दले विज्ञप्तिमा गरेका छन् ।

अनुगमनकै नामा आफ्नो संस्थाका कागजात तथा सरसामान जफत गरिएको र दुई जना प्रतिनिधिलाई झुठा आरोप लगाई प्रहरी हिरासतमा राखिएकोप्रति पनि उनले खेद व्यक्त गरेका छन्।

संस्थाको कागजात र सरसामान फिर्ता गर्न र प्रहरीले नियन्त्रणमा लिएका केशव बोहरा र भीम ऐरीलाई तत्काल थुनामुक्त गर्न स्थानीय प्रहरी प्रशासनलाई आग्रह गरिएको छ ।

कान्तिपुर दैनिकका बझाङ संवाददाताले गरेको फट्याइँबारे पनि चन्दले खेद जनाएका छन् । उनले भनेका छन्, ‘फागुन १५ गते सोमबार प्रकाशति कान्तिपुर दैनिकको पृष्ठ ९ मा ‘गाउँ पस्यो नेटवर्किङ ठगि’शीर्ष राखेर छापिएको समाचार र १७ गते पृष्ठ १० मा प्रकाशित ‘नेटवर्र्किङ कारोबार गर्ने आरएनसी ट्रेडिङ बन्द’शीर्षकको समाचार एउटै व्यक्ति वसन्तप्रताप सिंहको बाइलाइनमा छापिनु, समाचारमा बझाङको शाखा कार्यालयको तस्वीर बाहेक पुष्टि हुने खालका कुनै पनि तथ्य वा विवरण उल्लेख नहुनुले ति व्यक्ति केवल हाम्रो संस्थालाई बदनाम गर्ने, सञ्चालकहरुको चरित्र हत्या गर्ने उद्देश्यले परिचालित भएको प्रष्ट हुन्छ ।’

विज्ञप्तिमा चन्दले अगाडि भनेका छन्, ‘एकातिर अनुगमन गर्दा सिमित केही व्यक्तिहरु मात्रैलाई संलग्न गराइनु, अर्कोतिर तिनै व्यक्तिहरुले भने बमोजिमका अपुष्ट तथ्यहरु राखेर समाचार प्रकाशित हुनुले अनुगमन अधिकारी र समाचार सम्प्रेषण गर्ने व्यक्तिबीच मिलेमतोको शंका समेत उब्जिन्छ । यस घटनाले सरकार वा राज्य सञ्चालकहरु अभिभावक हुन भन्ने हाम्रो विश्वास पूर्ण रुपमा टुटेको छ । अभिभावकले सम्झाई बुझाई गर्नुको साट्टा सोझै डण्डा बर्साउनुले राज्यको नियत प्रष्ट हुन्छ । यो घटनाले हाम्रो संस्थालाई गरेको बदनामी र आर्थिक एवं भौतिक क्षतिका लागि राज्य स्वयं जिम्मेवार हुनुपर्दछ भन्ने हाम्रो माग हो ।’

निर्देशक चन्दले आफुहरुको संस्थालाई निशाना बनाएर गरिएको कुप्रचारको भत्र्सना गर्दै हाम्रो संस्थामा आवद्ध सदस्य तथा पदाधिकारी, सेवा सेवाग्राही तथा सुभेच्छुकलाई हतोत्साही नहुन र भ्रममा नपर्न भन्दै अपिल गरेका छन् ।

के भन्छन् अनुगमन संयोजक चन ?

बझाङ जिल्लाका सहायक सीडीओ एवं अनुगमन समितिका संयोजक प्रमोद बहादुर चनले वस्तुको प्रत्यक्ष विक्रि व्यवस्थापन तथा नियमन ऐन २०७४ बमोजिम लिनुपर्ने इजाजत नलिई कारोबार गरिरहेको भेटिएकाले बन्द गर्न लगाइएको बताएका छन् ।

उनले अनुगमनकै बेलामा समितिले देखाएको रवैया कायम राख्दै कम्पनी रजिष्ट्रारको कार्यालय, राजश्व कार्यालय र घरेलुमा दर्ता नभएका कारण आरएनसीले गरेका गतिविधि सबै अवैधानिक भएको जिकिर गरे ।

उनी भन्छन्, ‘प्रकाश बहादुर चन्दको नाममा पालिकामा मात्रै व्यवसाय दर्ता गरेर काम गरेको देखियो । अन्य कुनै कागजात देखाउन सकेन । र, हामीले जानकारी नै दिएर बन्द गराएका हौँ ।’

केन्द्रीय कार्यालय कैलालीमा रहेको र त्यो कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएकोबारे आफुलाई जानकारी नभएको कुरा उनले खप्तडटिभीलाई बताए ।

उनले एकोहोरो आफ्नै कुरा माथि राखे पनि ठगि गरेको भनी कान्तिपुरमा आएको समाचार भने झुटो भएको बताए ।

उनी भन्छन्, ‘ठगि गरेको भनेर एक जना पनि पीडित हामीकहाँ आएको देखेका छैनौँ । ठगि गरेको भनी भनिहाल्न मिल्दैन । जे होस् इजाजत नलिई काम गरेको हुनाले हामीले अवैधानिक भन्न मिल्छ ।’

खप्तडटिभीले कम्पनीमा दर्ता भएको, स्थायी लेखा नम्बर लिएको र उद्योग दर्ता गरी आफ्नै उद्योगको वस्तु मात्रै विक्रि गरेको कुरा खोतल्दै गएपछि उनी हच्किए । र, हतार हतार फोन काटे । अनुगमन गरेको दिन वाणिज्य विभागमा फोन गरेर कानून सचिवसँग यस्तोमा कुन कानून आकर्षण हुन्छ भनी सोधेका बताइन्छ ।

उनी हठात कसैको उक्साहटमा लागेर यसो गरेका भए के कारबाही हुन्छ ? भनी विभागलाई खप्तडटिभीले प्रश्न गर्दा विभागका निर्देशकले त्यहाँबाट लिखित जानकारी नआएसम्म केही भन्न सकिँदैन भनी जवाफ दिए ।

यस्तो छ आरएनसी ट्रेडिङको प्रेस विज्ञप्ति

प्रस्तुत विषय सन्दर्भमा नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरबाट कम्पनी ऐन, २०६३ को दफा ५ को उपदफा (९) बमोजिमको प्रमाणपत्र प्राप्त, दर्ता नम्बर २६७२६५/०७८/०७९ मा रजिष्ट्रड आर.एन.सी. ट्रेडिङ प्रा.लि.को केन्द्रीय कार्यालय कैलाली जिल्ला बर्दगोरीया गाउँपालिका वडा नम्बर १ मुडामा रहेको व्यहोरा यहाँहरुलाई अवगत गराउँदछौँ । र, यसका शाखा कार्यालय नेपाल सरकारको ऐन नियम अनुरुप सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा विस्तार भएको समेत सबैको जानकारीका लागि प्रष्ट पारिन्छ । आन्तरिक राजश्व कार्यालय लम्कीबाट प्रदत्त स्थायी लेखा नम्बर ६१००४९९१० हरेक विल विजकमा उल्लेख भएको व्यहोरा पनि अनुरोध गर्दछौँ । हामीले गर्दै आएको पेशा व्यवसाय अन्तर्गत भए गरेका गतिविधि राज्यको नियामक निकायले निगरानी गर्न पाउने तथा अनुगमन निरीक्षण गर्ने गराउने सन्दर्भमा हामीलाई कुनै द्विविधा वा आपत्ति छैन । तर, जसरी हाम्रो केन्द्रीय कार्यालय मुडाबाट अनुगमनको नाममा कागजात तथा सरसामान जफत गर्ने र हाम्रो संस्थाका प्रतिनिधिहरुलाई प्रहरी थुनामा राख्ने कार्य भयो त्यसको हामी घोर भत्र्सना गर्दछौँ । बझाङ शाखामा भएकै शैलीले जुन षड्यन्त्र र वदनीयतपूर्वक धरपकड गरियो यो कानूनी राज्यका लागि दुर्भाग्यपूर्ण हो । त्यस कारण अनुगमनका नाममा जफत गरिएका कागजात, सरसामान फिर्ता गर्न र प्रहरीले नियन्त्रणमा लिएका केशव बोहरा र भीम ऐरीलाई तत्काल थुनामुक्त गर्न हामी सम्बन्धित निकायलाई अपिल गर्दछौँ । साथै बझाङ शाखालाई निशाना बनाएर गरिएको अनुगमन र कुप्रचारलाई तत्काल सच्याउन पनि आग्रह गर्दछौँ । फागुन १५ गते सोमबार प्रकाशति कान्तिपुर दैनिकको पृष्ठ ९ मा ‘गाउँ पस्यो नेटवर्किङ ठगि’शीर्ष राखेर छापिएको समाचार र १७ गते पृष्ठ १० मा प्रकाशित ‘नेटवर्र्किङ कारोबार गर्ने आरएनसी ट्रेडिङ बन्द’शीर्षकको समाचार एउटै व्यक्ति वसन्तप्रताप सिंहको बाइलाइनमा छापिनु, समाचारमा बझाङको शाखा कार्यालयको तस्वीर बाहेक पुष्टि हुने खालका कुनै पनि तथ्य वा विवरण उल्लेख नहुनुले ति व्यक्ति केवल हाम्रो संस्थालाई बदनाम गर्ने, सञ्चालकहरुको चरित्र हत्या गर्ने उद्देश्यले परिचालित भएको प्रष्ट हुन्छ । एकातिर अनुगमन गर्दा सिमित केही व्यक्तिहरु मात्रैलाई संलग्न गराइनु, अर्कोतिर तिनै व्यक्तिहरुले भने बमोजिमका अपुष्ट तथ्यहरु राखेर समाचार प्रकाशित हुनुले अनुगमन अधिकारी र समाचार सम्प्रेषण गर्ने व्यक्तिबीच मिलेमतोको शंका समेत उब्जिन्छ । यस घटनाले सरकार वा राज्य सञ्चालकहरु अभिभावक हुन भन्ने हाम्रो विश्वास पूर्ण रुपमा टुटेको छ । अभिभावकले सम्झाई बुझाई गर्नुको साट्टा सोझै डण्डा बर्साउनुले राज्यको नियत प्रष्ट हुन्छ । यो घटनाले हाम्रो संस्थालाई गरेको बदनामी र आर्थिक एवं भौतिक क्षतिका लागि राज्य स्वयं जिम्मेवार हुनुपर्दछ भन्ने हाम्रो माग हो । र, हाम्रो संस्थालाई निशाना बनाएर गरिएको कुकर्मको फेरि पनि भत्र्सना गर्दै हाम्रो संस्थामा आवद्ध सदस्य तथा पदाधिकारीहरु, हामीबाट सेवा लिइरहनु भएका सेवाग्राहीहरु र सुभेच्छुक सबैमा कुनै पनि प्रकारको भ्रममा नपर्न र यस्ता भ्रामक, झुठा, कपोकल्पित, नियोजित कुप्रचारको डटेर विरोध गर्नहुन हार्दिक अपिल गर्दर्छौँ ।

…………….
रविन चन्द
निर्देशक