वि.सं.२०८३ कात्तिक २२ आइतवार

दुई वटा बियर खाँदा ५६ हजारको बिल, तिर्न नसक्दा बन्धक, प्रहरी लुटेराको पहरेदार

काठमाडौं । रात्रिकालीन समयमा बार छिर्दै हुनुहुन्छ भने एक पल्ट होइन, दश पल्ट होइन, हजार पल्ट सोच्नु होला । अझ तपाईंको मदिरा पिउने बानी छ र बाहिरैबाट हल्का स्वाँठ्ठ पारेर बार छिर्नु परे, ५६ हजार पल्ट सोच्नु होला । यत्ति कुरो थाहा पाउँदा पाउँदै पनि तपाईंको सास अझै ति लुटेरा बारको झल्याक झुलुकमा अड्किरहयो भने सोच्नु कि रसुवा बाढीभन्दा ठूलो बाढी आउनेवाला छ ।

बारले तपाईंले छुँदै नछोएको खाली बोत्तल टेबुल अघिल्तिर उभ्याएर ५६ हजारको बिल भिडाइदिन सक्छ । खाँदै नखाएको स्पेशल खाजा सेटको ९ हजार तिराइदिन सक्छ । ब्रिकेट निभेको हुक्का अनुहारअघि अड्याइदिएर ४५ सय, पाँच हजार उडाइदिन सक्छ । देख्दै नदेखेको ब्लु लेभल एउटाको १५ हजार ठटाइदिन सक्छ ।

यस्तै उस्तै कट्याङ कटुङ जोडेर ५६ हजार नौ सय ९७ को बिल थमाइदिन सक्छ । त्यो बिल खुरुक्क तिर्नु भएन भने उसले बन्धक बनाउन पनि सक्छ, मोबाइल कब्जा गरेर मामाको हप्ता असुलीघर पुर्याइदिन सक्छ ।

हो, भक्तपुर सूर्यविनायक ५ बस्ने साजन भट्टराईलाई पनि हालै रसुवामा आएको भन्दा ठूलो बाढी आइलागेको छ, काठमाडौंको ठमेलस्थित नरसिंह चोकमा रहेको रिमिक्स क्लव एण्ड लाउन्ज बार छिर्दा ।

पत्यार लागेन भने हेर्नुस्, यो बिलको ओरिजिनल कपि ।

जम्मा दुई जनाले एक–एक वटा बियर पिएका मात्रै थिए । तर, बिलमा छुँदै नछोएका, खाँदै नखाएका र देख्दै नदेखेका मेनु मेन्सन गरेर ५६ हजार नौ सय ९७ को हिसाब आयो । बिलमा लेखिएकोजति रकम खल्तीमा नभएपछि बार साहुले मुन्द्रे चुल्ठे लगाएर मोबाइल जफत गर्न लगाए भने झण्डै ३ घण्टा बन्धक बनाए ।
बार साहुले परिवारका सदस्यलाई फोन हानेर रकम नतिरे जे पनि हुने भन्ने धम्की दिन थालेपछि प्रहरीको सहयोग मागिएकामा सोह्रखुट्टे प्रहरीले पीडितलाई दुई खुट्टेबाट एक खुट्टे बनाइदियो । मानौ बार छिरेर जम्मा दुई बियर पिउने ती दुईले ठूलै जघन्य अपराध गरे जस्तो ।

घटनाबारे पुरापुर जानकार रहेको सोह्रखुट्टे प्रहरीले आफ्नो डिउटी भुल्यो वा लुटेरा कै पक्ष लियो, त्यसको जाँचबुझ हुँदै जाला । तर, यति धेरै रकमको बिल बिजक जारी गर्ने यस्ता बारहरुले महानगरलाई कति कर तिर्दा रहेछन् ? त्यो पनि खोजीको विषय हुने देखियो । त्यसै कारण हुनसक्छ, यो आर्थिक वर्षको पहिलो तीन महिना सकिनै लाग्दा पनि काठमाडौं महानगरले संकलन गरेको व्यवसाय करको हिस्सा १७ प्रतिशत मात्रै छ ।

के यस्तै लुटेरा व्यवसायीको अनुहार हेरेर महानगरले चालु आर्थिक वर्षमा प्रक्षेपण अरेको एक अर्ब माथिको व्यवसाय कर उठाउला ?
अनि, बार साहुको बन्धक मुक्त भए पनि धम्की खाइरहनु परेका साजनहरुलाई कसले दिने हो, शान्ति सुरक्षा ? प्रहरी मेरो साथी हो कि, लुटेराको साथी ?? यदि त्यसो होइन भने शान्ति सुरक्षाको लागि सीडीओको शरण किन पर्नु परेको ? नभन्दै साजनले सोमबार (१९ गते) जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत काठमाडौं प्रहरी परिसर भद्रकालीमा शान्ति सुरक्षाको निवेदन दर्ता गराएका छन् ।


यो घटनाबारे कुरा गर्न खप्तडटिभी डटकमले सोह्रखुट्टे प्रहरीलाई सम्पर्क गर्दा केही दिनअघि घुमुवा प्रहरीले स्थानीय युवालाई खुट्टाको नलीहाड भाँचिने गरी कुटेको भिडियो प्रकाशित वा प्रसारित भएको घटना सम्झिएको हुनुपर्छ नम्बर चिनेर मरिगए फोन उठेन ।

यस्तै, घटना के कसो भएको भनी सम्बन्धित क्लव वा बारका जंग बहादुर थापालाई सम्पर्क गर्दा उनले पनि फोन उठाएनन् ।

सायद उनी कुनै अर्का साजनलाई लुट्नमा व्यस्त थिए कि ? अचम्मको कुरा के भने ? क्लबको फेसबुक पेज हेर्दा न नौ हजारको खाजा सेटको मेनु नै भेटियो न नौ हजारको खाजा सेट तयार पार्ने स्पेशल सेफको कुनै एक क्लिक देखियो । त्यहाँ त केबल हुल्याहा केटा केटीको सामूहिक वा एकल तस्वीर पोज पोजमा खिचेर पोस्ट्याएको भेटियो । हो, यस्तै रहेछ, यहाँको चलन… ।