वि.सं.२०८१ माघ १ मंगलवार

फलोअप : जुम्लाकी १३ वर्षीया बालिकामाथि बलात्कार, पक्राउ परे आरोपित प्रेमजंग महत

मिलापत्र गराउनेबारे अनिर्णित प्रहरी प्रशासन

जुम्लामा धर्मपुत्रीको रूपमा राखेकी १३ वर्षीया बालिकामाथि बलात्कारको आरोप लागेका व्यक्ति पक्राउ परेका छन् । आरोपित प्रेमजंग महतलाई जुम्ला प्रहरीले प्रकाउ गरेकाे हो ।

जाजरकोट स्थायी घर भएर आमासँग जुम्ला सदरमुकाम खलंगा आएकी १३ नाबालिकामाथि चन्दननाथ नगरपालिका–७ निवासी महतले एक महिनासम्म पटकपटक जबरजस्ती करणी गरेको पीडित पक्षको आरोप छ ।

नाबालिकालाई महतले छोरीका रूपमा घरमा राखेर पढाइ दिने आश्वासन दिएर आफ्नो घरमा राखेका थिए ।

जबरजस्ती करणी गरेको घटना बाहिर आएपछि ७ लाख रुपैयाँको लेनदेनमा मिलापत्र गरिएको छ ।

मिलापत्र कागज

स्रोतका अनुसार सामुदायिक प्रहरी केन्द्रमा कार्यरत एक स्थानीय, एकजना अधिवक्ता, मानवअधिकार आयोगमा कार्यरत सुरक्षा गार्ड, एक होटल व्यवसायी महिलालगायतका व्यक्तिको रोहवरमा ७ लाखमा मिलापत्र गरिएको हो ।

मिलापत्रमा जबरजस्ती करणीको घटनाबारे कतै केही उल्लेख छैन । मिलापत्रमा बालिकालाई पठनपाठन सहयोगका लागि भनेर रकम दिइएको कागज बनाइएको छ । बालिकालाई महतले पढाइदिने र घरायसी कामका लागि छोरी (धर्मपुत्री) बनाएर राख्ने बालिकाकी आमासँग सहमति गरी घरमा लगिएको बुझिएको छ । आमाले दोस्रो बिहे गरेकाले उनी पनि जुम्ला आएकी थिइन् । उनकी आमाले पसल चलाउँदै आएकी छन् ।

महतले जबरजस्ती करणी गरेको कुरा अरूसँग नभन्न र सबैका अगाडि ‘बाबा’ भन्ने राति आफूलाई श्रीमान् स्वीकार्न दबाब दिने गरेको ती पीडित बालिकाले बताएकी छन् । महतले आफूलाई जबरजस्ती करणी गर्ने र अरूसँग भने मारिदिन्छु भन्ने धम्की दिन थालेपछि नाबालिकाले मुसा मार्न प्रयोग हुने विष पनि खाएको बुझिएका छ ।

जबरजस्ती करणी गर्ने महतका दाजु सामुदायिक प्रहरी केन्द्रमा कार्यरत छन् । उनीलगायतका व्यक्तिको रोहवरमा ७ लाखमा घटना सामसुम पार्न मिलापत्र गरिएको पीडित पक्षको आरोप छ ।

७ लाखकाे बैङ्क भाैचर

मिलापत्र गरेको कागजातमा कालीबहादुर भण्डारी (वडा सदस्य) चन्दननाथ नपा ५, जीवन महत, चन्दननाथ–४ का नवराज भारती, तातोपानी गापा–८ का ईश्वरी आरसी, कागज बनाउन सहयोग गर्ने अधिवक्ता दिलबहादुर महत र चन्दनाथ–७ का महेन्द्रबहादुर महत छन् ।

मुलुकी अपराध संहिता, मुलुकी अपराध कार्यविधि अनुसार बलात्कारको घटना मिलाउनु कानुन विपरीत हो । बलात्कारका घटनामा मिलापत्र गराउनेलाई समेत ६ महिनादेखि ३ वर्ष कैद वा ३० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । मिलापत्र गराउने व्यक्ति सार्वजनिक पद धारण गरेको भए थप ६ महिना कैद हुने उल्लेख छ ।

मुलुकी अपराध संहिताअनुसार मिलापत्र गराउनेलाई समेत कानुनी दायरामा ल्याउनु पर्ने भए पनि प्रहरीले उनीहरूलाई पक्राउ गरेको छैन ।

जिल्ला प्रहरी कार्यालय जुम्लाको डीएसपी नरेन्द्र चन्दले अभियुक्तलाई पक्राउ गरेको जानकारी दिए । तर, मिलापत्र गराउने व्यक्तिलाई भने नियन्त्रणमा नलिएको उनको भनाइ छ । उनी भन्छन्, ‘आरोपितलाई नियन्त्रणमा लिएका छौँ । अरूलाई के गर्ने भन्ने अनुसन्धान गर्दैगर्दा थप निर्णय लिन सकिन्छ ।’

पीडित बालिका चन्दननाथ नमुना माध्यमिक विद्यालयको कक्षा ४ मा पढ्थिन् । सोही विद्यालयकी शिक्षक बबी केसी भन्छिन्, ‘ती बालिका सुरुमा स्कुल आउँदा पढाइमा जागरुक थिइन् । केही समयपछि भने उनी विद्यालय आउँदा टोलाएर बस्ने गरेको देखेँ । मैले चासो दिएर सोधेँ । उनी बेस्सरी रुन थालिन् ।’

सोध्दै जाँदा बालिकाले आफूमाथि जबरजस्ती करणी भएको बताएकी केसीले बताइन् । घटनापछि विद्यालयमा अभिभावक भेला बोलाएर यो विषयमा छलफल भएको थियो । ‘बालिकाकी आमासमेत आइन् । उनलाई मैले नराम्ररी झपारेँ’, शिक्षक केसीले भनिन्, ‘बालिकाकी आमालाई कानुनी रूपमा जान सुझाएकी थिएँ । तर, उनी पैसा लिएर मिलापत्र गरेको खबर सुन्न आएको छ ।’

याे पनि पढ्नुहाेस्

कुशे गाउँपालिकाकी १३ वर्षीया बालिकामाथि करणी, ७ लाख पाएपछि गुपचुप रह्यो काण्ड