काठमाडौं । अष्ट्रेलिया अवार्डजस्तो प्रतिष्ठित छात्रवृत्तिबाट उच्च शिक्षा हासिल गरेकी यजस्वी राईले, साढे दुई वर्ष युथ कांग्रेस हाँकेर अब नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३५ वर्षमुनिको युवा क्लस्टरतर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी छन्।
दिगो विकास, कृत्रिम बुद्धिमत्ता र समावेशिताका क्षेत्रमा अन्तर्राष्ट्रिय अनुभव हासिल गरेकी राई एक दशकभन्दा लामो समयदेखि नेपालमा सामाजिक अभियान तथा अनुसन्धानमा सक्रिय छिन्।
पछिल्लो साढे दुई वर्षदेखि उनी युथ कांग्रेस नेपालकी सभापतिका रूपमा युवा नेतृत्व तथा नीतिगत बहसमा सक्रिय रहँदै आएकी छन्। कांग्रेसले गठन गरेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अध्ययन समितिमा समेत उनी सदस्यका रूपमा सहभागी भएकी थिइन्।
कांग्रेसको नीति, विचार र भावी दिशाबारे तयार पारिएको ‘आइडिया अफ कांग्रेस’ दस्तावेजकी सहलेखक तथा योगदानकर्तामध्ये राई पनि एक हुन्।
तत्कालीन कांग्रेस केन्द्रीय समितिसमक्ष प्रस्तुत गरिएको उक्त दस्तावेजमा युवा लगायत विभिन्न विषयमा पार्टीको नीति, संगठन र भावी दिशासम्बन्धी सुझाव तथा अवधारणाहरू समेटिएका छन्।
राईले लामो समयदेखि आफूले उठाउँदै आएका राष्ट्रियता, इमानदारिता, समावेशिता र दिगो विकासका मुद्दालाई पार्टीको नीति तथा निर्णय निर्माणको तहसम्म पुर्याउने उद्देश्यले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताएकी छन्।































