काठमाडौं । एमाले पोलिटव्युरो सदस्य एवम् काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्ण बहादुर राईले सत्ता गठबन्धनको मुख्य नेतृत्वकर्ता नेपाली कांग्रेसले काठमाडौं ३ का जनताको भविष्य नै समाप्त पार्ने प्रयत्न गरिरहेको बताएका छन् ।
एमाले काठमाडौं क्षेत्र नम्बर -३ को प्रदेश ‘ख’को कार्यालय सुभारम्भ गर्ने क्रममा प्रतिनिधि सभा सदस्यका उम्मेदवार राईले कांग्रेसले आफैंले गरेको सहमति उल्ट्याएर काठमाडौं ३ का जनता तथा आम मतदातालाई धोका दिएको बताए ।
उनले भने, ‘हाम्रै निर्वाचन क्षेत्रमा प्रदेशसभातर्फ माओवादीको उम्मेदवारलाई ठाउँ दिने भनेर सहमति गरेको कांग्रेसले त्यसलाई लत्यायो । र, त्यति मात्रै होइन एकिकृत समाजवादीका साथीहरुको समेत हुर्मत लियो । अब उहाँहरुको राजनीतिक भविष्य के हुने ? पाँच वर्षका लागि ठाडो नउठ्ने गरी उहाँहरुमाथि अन्याय भयो ।’
यसमा हामी चिन्तित छौँ । राईले अगाडि भने, ‘अझै पनि सोच्न सकिने समय छ । अपवित्र गठबन्धनबाट प्रताडित भएका माओवादी र नेकपा एसका साथीहरुले एमालेसँग सहकार्य गर्न सकिने ठाउँ प्रसस्त छ । पार्टी प्रवेश नै गर्न नसकिने अफ्ठेरो छ भने पनि चुनावमा एमालेलाई मतदान गरेर आफु र आम मतदाताको भविष्य सुरक्षित गर्न आग्रह छ ।’
कांग्रेसले गरेको धोकाधडीले समाजवादको बाटो नै धरापमा पारेका कारण एउटै विचारधारा र राजनीतिक उद्देश्य भएका कम्युनिष्टहरुले चुनावपछि होइन चुनाव अगावै सोच्ने बेला आएको राईको भनाइ छ ।
कांग्रेसले आफुलाई जति नै ठूलो पार्टी भने पनि एक्ला एक्लै चुनाव लड्ने हिम्मत गर्न नसक्नुको कारण के हो ? भनेर हामीले पटक–पटक सोध्यौँ, राईले अगाडि भने, ‘यो प्रश्न त कांग्रेस कार्यकर्ता र आम मतदाताले कांग्रेसलाई सोध्नु पर्ने थियो । र, यो चुनावमा कांग्रेस र परमादेशको सरकारले गरेका बदमासीको हिसाबकिताब मतदाताले जरुर गर्नु पर्ने छ । नभए हाम्रो समाजवादको यात्रा र आर्थिक, सामाजिक एवं सांस्कृतिक विकासमा धक्का पुग्ने छ ।’
नेता राईले आफुहरुले गरेका कमिकमजोरीको पनि आत्म समिक्षा गर्ने बेला भएको र यो निर्वाचनले हालसम्म बनेका सबै सरकार र त्यसका नेतृत्वकर्ताले गरेका कामहरुको मूल्याङ्कन गर्ने बताए ।
एमाले काठमाडौं क्षेत्र नम्बर -३ को प्रदेश ‘ख’को कार्यालय सुभारम्भ
उनले भने, ‘आवधिक निर्वाचनको अवधारणा नै कुन सरकारको कार्यकालमा के भयो ? भनेर समिक्षा गर्ने र त्यसैको मूल्याङ्कनका आधारमा कसलाई म्यान्डेड दिने भनी जाँच गर्ने हो । तर, हामी कहाँ आवधिक निर्वाचनको अवधारणाविपरीत सत्ता हडप्ने रणनीति बनाएर गठबन्धन गर्ने काम भयो, त्यो पनि लोकतान्त्रिक भनिएको ठूलो पार्टीबाट । अब यसको मूल्याङ्कन मतदाताले चुनावमा गर्ने कि नगर्ने ?’
राईले, ‘कुन प्रधानमन्त्रीका पालामा कति काम भए भनेर ? यसै आवधिक निर्वाचन अघि हामी सबैले गम्भीर समिक्षा र विमर्श गर्नु पर्ने छ’ भने । पाँच वर्षको एउटा कार्यकालमा भएजति सबै काम सकिँदैनन् ।
बाँकी रहेका कामहरु पूरा गर्नलाई पनि आवधिक निर्वाचनले कसलाई म्यान्डेड दिँदा हुन्छ भनेर निर्धारण गर्छ, राईले भने, ‘मानिसको सामाजिक, आर्थिक र सांस्कृतिक एवं बहुआयामिक विकासका लागि गतिशीलता चाहिन्छ । अहिलेको गठबन्धनले गरेको जस्तो अवरोधहरु ठीक होइन ।
आवधिक निर्वाचनको मर्म विपरीत लोकतान्त्रिक पद्दति नै मास्ने गरी अवरोधहरु खडा गर्ने काम गरेका कारण कांग्रेसलाई मतदाताले चिन्ने छन् ।’ विगतमा काम गर्दा भएका कमिकमजोरीले कतै समस्या उत्पन्न भएको भए पनि त्यसलाई सुधार्न आफुहरु तयार रहेकाले सकारात्मक बुझाई राख्न राईले आम कार्यकर्ता एवं मतदातालाई आग्रह गरे ।