वि.सं.२०८२ कात्तिक २४ सोमवार

रास्वपा निकट बेलायत बसाेबास गर्ने वीरेन्द्र नेपालविरुद्ध चरित्र हत्या र ठगीसम्बन्धी मुद्धा दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट रहेका तथा बेलायतमा बसोबास गर्दै आएका वीरेन्द्र नेपालविरुद्ध गम्भीर प्रकृतिकाे उजुरी दर्ता भएको छ।

सामाजिक सञ्जालमा ‘Nepalese In UK’ नामक फेसबुक ग्रुपका एडमिन रहेका नेपालमाथि विभिन्न युवतीहरूको चरित्र हत्या, ठगी, अश्लील गालीगलौज तथा हुन्डी कारोबारमा संलग्न भएको आरोप लागेको छ।

प्राप्त जानकारीअनुसार, वीरेन्द्र नेपालले ‘Nepalese In UK’ फेसबुक ग्रुप र यसै नाममा खोलिएको अन्य सामाजिक सञ्जालमार्फत लामो समयदेखि युवतीहरूबारे अभद्र र चरित्रमाथि आक्षेप लगाउने सामग्रीहरू पोस्ट गर्दै आएका छन्।

उजुरीमा उल्लेख भएअनुसार, उनले कम्तीमा तीन जना नेपाली युवतीहरूको सार्वजनिक रूपमा चरित्र हत्या गरेका छन्। उनीमाथि उजुरी दर्ता भएपछि प्रहरीले यस विषयमा छानविन प्रकृया अगाडि बढाएकाे छ ।

युवतीहरूबारे जथाभावी टिप्पणी

उक्त ग्रुपमार्फत नेपालले बेलायत तथा नेपालका युवतीहरूमाथि अश्लील गालीगलौज, चरित्रमा प्रश्न उठाउने खालका सामग्री नियमित रूपमा पोस्ट गर्दै आएका थिए।

आलोचना वा विरोध सहन नसक्ने र असभ्य भाषा प्रयोग गर्ने उनको प्रवृत्ति रहेकाे उजुरीकर्ताहरूले जनाएका छन्।

ठगी र मानव ओसारपसारको आरोप

उक्त उजुरीमा वीरेन्द्र नेपालले बेलायत ल्याइदिने भन्दै धेरै नेपालीहरूबाट रकम उठाउने, तर पछि सम्पर्कविहीन हुने तथा मानिसहरूलाई अलपत्र पार्ने गरेको उल्लेख गरिएको छ।

कोठा भाडाको नाममा पनि रकम उठाएर धोका दिने गरेको आरोप उनीमाथि छ। केही पीडितहरूले बेलायत आएपछि वाचा गरे अनुसारको सुविधा नदिई समस्यामा पारेको गुनासो गरेका छन्।

गिरोह शैलीमा गतिविधि

स्रोतका अनुसार, ‘Nepalese In UK’ ग्रुपभित्र दुई–तीन जना मिलेर गिरोह शैलीमा काम गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

उनीहरूले युवतीहरूको चरित्र हत्या गर्नुका साथै सामाजिक सञ्जालमा धम्क्याउने, गालीगलौज गर्ने कार्यलाई नियमित गर्ने गरेका छन्।

हुन्डी कारोबारको संलग्नता

नेपाल हुन्डी कारोबारमा पनि संलग्न रहेको प्रारम्भिक सूचना प्रहरीमा पुगेको छ। गैरकानुनी तरिकाले नेपालमा पैसा पठाउने र त्यसका लागि समाजिक सञ्जालमार्फत प्रचार गर्ने काममा उनको संलग्नता देखिएको बताइएको छ।

प्रहरी अनुसन्धान अघि बढ्दै

नेपाल प्रहरीले उजुरी दर्ता गरी प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको र आवश्यक सूचनाका लागि अन्तर्राष्ट्रिय सहयोग समेत लिने तयारीमा रहेको जनाएको छ। प्रहरी स्रोतका अनुसार, आवश्यक परेमा इन्टरपोलमार्फत समेत प्रक्रिया अघि बढाइनेछ।

सम्बन्धित फेसबुक ग्रुप तथा व्यक्तिहरूसँग सम्पर्क गर्दा अत्यन्त सावधानी अपनाउन प्रहरीको आग्रह छ। प्रहरीको भनाइमा, ‘Nepalese In UK’ ग्रुपमार्फत ठगिन वा मानसिक हिंसाको शिकार बन्ने सम्भावना भएकाले आम नागरिक सचेत रहनुपर्छ।

बेलायतमा बस्दै आएका नेपालमाथि लागेका गम्भीर आरोपहरू सामाजिक सञ्जालको दुरुपयोग, चरित्र हत्या, ठगी र मानव ओसारपसारसँग जोडिएका छन्। यस्ता अभियोगले सामाजिक सञ्जालमा हुने नियमन र प्रवासी नेपालीहरूबीचको आपसी विश्वासमाथि गम्भीर प्रश्न उठाएको छ।

जिल्ला अदालत काठमाडाैंमा मुद्धा

काठमाडौं जिल्ला अदालतमा वीरेन्द्र नेपालबिरूद्ध गाली वेइज्जती गरेको (दफा ३०५) २०८२-०३-०४ गते मुद्धा दायर भएकाे छ । उक्त मुद्धा मकवानपुर , हेटौडा उ.म.न.पा. वडा न. – ८ बस्ने अर्जुन ढुंगानाले दायर गरेका हुन् ।

 

 

यस्तो छ वीरेन्द्र नेपालको स्पष्टिकरण:

 

नेपाल र बेलायत दुबै स्थानमा चर्चामा रहेका ‘Nepalese In UK’ फेसबुक ग्रुपका एडमिन तथा सामाजिक टिप्पणीकार वीरेन्द्र नेपालले आफूमाथि लागेका सबै आरोपहरू अस्वीकार गरेका छन्। आफू समाजको विकृति, विसंगति र भ्रस्टाचारको विरोधी भएको बताउँदै उनले यस्ता आरोपहरू नियोजित रूपमा आफूलाई बदनाम गर्न खोजिएको दाबी गरेका छन्।

“म उक्त फेसबुक ग्रुपको एड्मिन हुँ र मबाट सम्प्रेषित हरेक पोस्टको दायित्व बहन गर्ने जिम्मेवार व्यक्ति हुँ। कुनियत राखेर क्षणिक आर्थिक लाभका लागि जे पनि गर्न पछि नहट्ने महिला–पुरुष दुवैको चरित्र उदाङ्गो पारेर भविष्यमा फेरि गल्ती नदोहोरियोस् भन्ने हेतुले आलोचना गरिएको हो, यो चरित्र हत्या होइन।”

उनले आफूमाथि लागेको आरोपहरू चरित्र हत्या, ठगी, हुन्डी कारोबार, कोठा भाडामा ठगी, मानव तस्करजस्ता विषयहरूलाई “आरोप मात्र, कुनै प्रमाण छैन” भनेर प्रतिवाद गरेका छन्।

“न पैसा लिए, न कसैलाई अलपत्र पारेँ”

नेपालले स्पष्टरूपमा भनेका छन्, “मैले कसैलाई बेलायत ल्याएको छैन, न त पैसा लिएर कसैलाई अलपत्र पारेको छु। म भिसाको काम गर्दिन, र पैसा लिएर बेलायत ल्याउनु भनेको आधुनिक मानव तस्करी हो भन्ने मेरो स्पष्ट धारणा छ।”

उनले आफ्नो आलोचनालाई “सुधारको मौका दिने हेतुले गरिएको तथ्य आधारित टिप्पणी” भनेका छन्। यदी मैले कसैलाई ठगें भन्ने प्रमाण छ भने सावा, ब्याजसहित तिर्न तयार छु र कानुनी सजाय पनि भोग्न तयार छु।”

“उजुरी त जसले पनि दिन सक्छ”

उनका अनुसार, उजुरी दर्ता हुनु आफैंमा अपराधी ठहरिनु होइन। “उजुरी त जसले पनि हाल्न सक्छ, कानुनी आधार के हो त्यो हेर्नुपर्छ,” भनी उनले औंल्याएका छन्।

“हुन्डी होइन, आपसी सहकार्य मात्र”

हुन्डी कारोबारको आरोपलाई पनि उनले अस्वीकार गर्दै भने, “मेरो नेपाली बैंक खाता नै छैन, परिवारलाई पैसा पठाउनु पर्ने स्थिति छैन। मैले कुनै नाफा नलिने नियतले विद्यार्थीहरूलाई आपसमा कुराकानी गराइदिएको हो, त्यसलाई हुन्डी भन्ने हो भने बेलायतका धेरै नेपाली अपराधी हुनुपर्ने हुन्छ।”

“कोठा भाडा विवाद एक पटक मात्रै भएको हो”

नेपालले कोठा भाडाको विषयमा पनि प्रष्ट पारेका छन्, “एकपटक मात्रै कोठा भाडा सम्बन्धी समस्या भएको हो। पछि आपसी सहमतिमा रकम फिर्ता गरिएको थियो। म आफैं राम्रो ठाउँमा बस्ने मान्छे, त्यसैले अरुलाई पनि राम्रो सेवा दिन चाहन्छु। त्यसैले मेरो कोठा महँगो भए पनि सुविधा सम्पन्न हुन्छ।”