पाकिस्तानका स्वास्थ्यमन्त्री अब्दुल कादिर पटेलले केही दिनअघि देशको बढ्दो जनसङ्ख्यासँग जुध्न धेरै सन्तान जन्माउन चाहनेहरूलाई थोरै मुस्लिम भएका देशहरूमा जान सुझाव दिए । अब्दुल कादिर पटेलले विश्व जनसङ्ख्या दिवसको एक कार्यक्रममा बोल्ने क्रममा यस्तो अनौठो विचार राखेका थिए । हालै संयुक्त राष्ट्रसंघले जनसङ्ख्यासम्बन्धी आफ्नो प्रतिवेदन ‘वर्ल्ड पपुलेसन प्रोस्पेक्ट्स २०२२’ जारी गर्यो । जसमा यही वर्षको नोभेम्बरसम्ममा विश्वको जनसंख्या आठ अर्ब पुग्ने प्रक्षेपण प्रस्तुत गरिएको छ ।
सोही प्रतिवेदनमा भारत अर्को वर्ष चीनलाई उछिनेर विश्वको सबैभन्दा धेरै जनसंख्या भएको शीर्ष मुलुक हुने उल्लेख छ । त्यस्तै प्रतिवेदनमा पाकिस्तानको जनसङ्ख्या सन् २०५० मा ३६ करोड नाघ्ने लेखिएको छ । पाकिस्तानले जनसङ्ख्या नियन्त्रणको विषयलाई महत्व दिन थालेको छ । यसै सन्दर्भमा स्वास्थ्य मन्त्री कादिर पटेलको यस्तो व्यङ्ग्यात्मक भनाई आएको थियो ।
बलुचिस्तान अवामी पार्टी (बीएपी)क सांसद समिना मुमताज जहारीले एक कार्यक्रममा व्यक्त तलका धारणाले पनि पाकिस्तानको चिन्तालाई प्रतिबिम्बित गर्छ । तथ्याङ्कले भन्छ पाकिस्तान जमिनको हिसाबले विश्वको ३३ औं ठूलो देश हो, तर जनसंख्याको हिसाबले यो विश्वको पाँचौं ठूलो मुलुकमा पर्छ । पाकिस्तानमा अहिलेकै जनसंख्याको लागि पुग्ने स्रोतसाधन छैन भने थप जनसङ्ख्याले गाह्रो पार्छ,’ जहारीले भनिन् ।
बढ्दो जनसंख्यालाई लिएर यस्तै चिन्ता पाकिस्तानका स्वास्थ्यमन्त्रीको भनाइमा पनि देखिन्छ । अब्दुल कादिरले भने, ‘पाकिस्तानको जनसंख्या सन् २०३० सम्ममा २८.५ करोड हुनेछ, जुन चिन्ताजनक संख्या हो । हामी अल्लाहको प्रेमलाई कम गर्न खोजिरहेका छैनौं, हामी मुस्लिमहरूलाई पनि कम गर्न खोजिरहेका छैनौं । हामी मुस्लिमहरूलाई अझ राम्रो बनाउन चाहन्छौं । हामी मुस्लिमलाई थप शिक्षित र स्वस्थ बनाउन चाहन्छौं । केही मानिस हाम्रो कुरालाई बेवास्ता गर्छन् ‘अल्लाहले दिएपछि हामीले हात थापेका हौं’ भन्छन् । बच्चा जन्माउने हो भने तिनलाई म के सुझाव दिन चाहन्छु भने तपाई मुसलमान अल्पसंख्यक भएको मुलुकमा गएर बच्चा जन्माउनुस् । यहाँ त हामी धेरै भइसक्यौ ।’
पाकिस्तानका लागि बेलायती उच्चायुक्त क्रिश्चियन टर्नरले पनि आगामी ३० वर्षमा देशको जनसङ्ख्या दोब्बर हुने र त्यसले देशको स्रोत साधनमा उल्लेख्य भार थप्ने चिन्ता व्यक्त गरे । देशमा बढ्दो जनसङ्ख्यालाई नियन्त्रण गर्न टर्नरले पाकिस्तानमा परिवार नियोजनको विषयमा थप संवादको आवश्यकता रहेको बताए ।
भारतबाट अलग भएपछि सन् १९५० मा पाकिस्तानको जनसङ्ख्या ३.३ करोड थियो र त्यसबेला जनसंख्याको हिसाबले उ विश्वमा १४ औँ स्थानमा थियो ।
पाकिस्तानमा प्रजनन दर
कुनै देशको जनसंख्या बढ्ने, घट्ने कुराका महत्वपूर्ण सूचक हो, प्रजनन दर । पाकिस्तानको स्वास्थ्य मन्त्रालयको वेबसाइटमा रहेको तथ्याङ्कअनुसार देशमा हरेक महिलाले औसतमा ३.६ बच्चालाई जन्म दिइरहेका छन् ।
पाकिस्तान मुस्लिम देशहरूमा दोस्रो धेरै जनसंख्या भएको देश हो । तर पाकिस्तानमा गर्भनिरोधक साधनको प्रयोगको दर भने दक्षिण एसियामा सबैभन्दा न्युन रहेको छ ।