वि.सं.२०८२ मंसिर २० शनिवार

सुदूरपश्चिमका मन्त्री पालमाथि गम्भीर आरोप, अवैध बालुवा उत्खननको आरोपमा एकको मृत्यु

नेपाली कांग्रेस डिलासैनी गाउँ कार्यसमितिले सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पालमाथि गम्भीर आरोप लगाएको छ।

विज्ञप्तिमा भनिएको छ कि मन्त्री पालको प्रत्यक्ष संरक्षणमा डिलासैनीको चार्मेडिया नदीमा जेसीबी र स्काभेटर प्रयोग गरी गैरकानुनी रूपमा बालुवा उत्खनन गरिएको छ, जसका कारण विद्युत् करेन्ट लागेर एक युवाको ज्यान गएको छ।

डिलासैनी गाउँपालिका–३, शिरियगढका स्थायी बासिन्दा किरण कौलीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै कांग्रेस कार्यसमितिले यस घटनाको सम्पूर्ण जिम्मेवारी मन्त्री पाल र अवैध उत्खननमा संलग्न पक्षले लिनुपर्ने माग गरेको छ।

विज्ञप्तिमा गैरकानुनी उत्खननका कारण विद्युत् लाइनमुनि बालुवाको थुप्रो जम्मा भएको र त्यसैले करेन्ट प्रवाहलाई जोखिममा पारेको अवस्थामा किरण कौलीको ज्यान गएको उल्लेख छ।

कांग्रेसले घटनापछि प्रमाण नष्ट गर्ने र पीडित परिवारलाई प्रलोभनमा पार्ने प्रयास भइरहेको आरोप समेत लगाएको छ। विज्ञप्तिमा भनिएको छ, “यस्तो कार्यले न्याय प्रणालीमाथि नै धावा बोलेको, दोषीलाई जोगाउने र पीडितलाई पुनः अन्याय गर्ने खतरनाक प्रवृत्तिको परिचय दिएको छ।”

गाउँ कार्यसमितिले यस घटनाको घोर भर्त्सना गर्दै तत्काल स्वतन्त्र, निष्पक्ष र छिटोछरितो रूपमा सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याएर कडा कारबाही गर्न सम्बन्धित निकाय तथा सरकारसँग जोडदार माग गरेको छ। साथै, पीडित परिवारलाई न्याय दिलाउनुका साथै भविष्यमा यस्ता अवैध र अमानवीय क्रियाकलापहरू नदोहोरिने वातावरण बनाउन दृढ संकल्प व्यक्त गरिएको छ।