चुनाव हारेपछि दोलखा एमालेमा सुरु भएको विवाद उत्कर्षमा पुगेको छ । विवादको चुरो हो, अन्तर्घात । दोलखामा एमाले नेता बालकृष्ण शिवाकोटी माअोवादी केन्द्रका उम्मेदवार गंगा कार्कीसँग ३ सय १८ मतले हारेका थिए।
चुनावी नतिजालाई लिएर नैतिकताका आधारमा राजीनामा दिएका जिल्ला सचिव हिरा थोकरलाई जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठले स्पष्टिकरण सोधेका थिए । स्पष्टिकरणको जवाफ दिंदै अहिले सचिव थोकरले अध्यक्ष श्रेष्ठसँग स्पष्टिकरण सोध्ने नैतिक धरातल समेत नरहेको भन्दै ‘बमबार्ड’ गरेका छन् ।
थोकरले आफु पार्टीको एउटा बफादार सिपाही भई २०४३ सालदेखि जीउज्यान हत्केलामा राखेर अनवरत रुपमा क्रियाशील रहेको योद्धालाई अनावश्यक आरोप लगाउँदा असाध्य चित्त दुःख लागेको बताएका छन् ।
थोकरले राजीनामा दिन पनि आफुलाई श्रेष्ठले नै उक्साएको तर आफुले खुट्टा कमाएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘तपाईलाई याद छ होला मंसिर १९ गते मतगणना सकेपछि मैले तपाईलाई फोन गरेर निर्वाचन हारेकोमा पदाधिकारीले नैतिक जिम्मा लिनु पर्ला नि ? भन्दा तपाईले पनि राजीनामा दिनुस, म पनि दिन्छु भन्नु भएकोले मैले राजीनामा दिने घोषणा गरे । तर तपाईले राजिनामा दिनु भएन । त्यसपछि मैले राजीनामा नगर्ने सोच बनाएँ ।’
थोकरका अनुसार श्रेष्ठले २०७९ मंसिर १ गते नेकपा माओवादी केन्द्रको नेता प्रेम लामा, छिरिङ थोकर र प्रखर थोकरलाई घरमा बोलाएर प्रदेश सभामा आफुलाई र प्रनिनिधि सभामा माओवादी उम्मेदवारलाई सघाउने सहमति गरेर ५ लाख दिई पठाएका थिए ।
त्यसबेला मतदानका दिन बुथ कब्जा गरी भोट बढाएमा ५ लाख रुपैयाँ थप दिने सहमति समेत भएको थोकरले खप्तडटिभीलाई बताए । त्यो पाँच लाख बुझ्ने एमाले नेता विदुर शर्मा हुन् । बालकृष्ण शिवाकोटीलाई हराउन श्रेष्ठले मुख्य भूमिका खेलेको यसैबाट पुष्टि हुन्छ ।
श्रेष्ठले कांग्रेसको नेता दीर्घलाल लामालाई घरमै बोलाएर पैसा दिएको कुरा पनि स्पष्टिकरणमा उठेको छ । थोकरले विपक्षी पार्टीका नेतासँग श्रेष्ठको उठबस रहेको भन्दै पार्टीद्वारा गठित हाईकमाण्डको औचित्यबारे पनि प्रश्न उठाएका छन् । उनले आफु पालिका अध्यक्ष भैरहदा श्रेष्ठ कै निर्देशनमा १०औँ जना भन्दा बढीलाई खानेपानी पाइप वितरण गरेको, कतिपयलाई योजनाको आश्वासन दिएको, पार्टीको निर्वाचन सामग्री सम्बन्धित स्थानमा पुऱ्याउन पालिकाको सरकारी साधनको व्यापक दुरुपयोग गरेको पनि लेखेका छन्।
अध्यक्ष श्रेष्ठविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका थोकरले श्रेष्ठको गणितीय ज्ञानमा पनि प्रश्न उठाएका छन् । उनी भन्छन, ‘लक्ष्मी मावि मतदान केन्द्रमा ८० प्रतिशत मत खसेको भन्ने तपाईको स्पष्टीकरण कपोकल्पित छ भन्ने कुराको पुष्टी यस कारण हुन्छ कि, त्यस मतदानकेन्द्रमा जम्मा मतदाता १९९१ रहेकोमा ९१२ मत मात्रै खसेको छ । यो मत कुल मतको ८० प्रतिशत कसरी भयो ?’
२०७९ मंसिर १८ गते राति चरिकोटको होटल गौरी होराइजनमा श्रेष्ठले एमालेका बागमती प्रदेश कमिटी सदस्य एवं दोलखा सह–इन्चार्ज डवल पाण्डेसँग गरेको कुराबाट माओवादीसँग साँठगाठ भएको कुरा पुष्टी हुने जिकिर पनि थोकरले गरेका छन् । उनले संवेदनशील मतदान केन्द्र ५ नम्बर डाँडाखर्क माविमा आफु भएकै कारण शान्तिपूर्ण मतदान भएको बताएका छन् । ‘यत्ति हुँदा पनि समकक्षीलाई मिथ्या आरोप लगाएर राजनैतिक रुपमा सिध्याउने षड्यन्त्र रचे कै हो त ?’ भनी थोकरले प्रश्न गरेका छन् ।
उनका अनुसार पार्टीका जिल्ला उपसचिव धर्मेन्द्र मोक्तानले आर्थिक विभाग प्रमुख मुरारी शिवाकोटीले निर्वाचन खर्च वापत मेलुङ गाउँपालिका कमिटी अध्यक्ष अम्बिका गोलेको नाममा जारी गरेको बैंक चेक खोसेर च्यातेको, मुरारी शिवाकोटीमाथि हातपात गरेको, गाउँपालिकाको ७ वटै वडालाई ५० हजारको दरले दिने निर्वाचन खर्च बाहेक ३ लाख रकम धर्मेन्द्र मोक्तान आफैले राखेको, ९० हजार भाडामा लिएको गाडिभाडा १,८०,००० भनेर अनियमितता गरेको, २०७४ सालको स्थानीय तह निर्वाचनमा बैतेश्वर गाउँपालिकाको आफ्नै पार्टीको उम्मेदवार ऋषिकेश उप्रेतिसँग १४ लाख रुपैयाँ लिई असहयोग गरेको लगायत आर्थिक चलखेलका गम्भीर विषय छन् ।
थोकरले द्वन्दकालमा आफु गाउँमा पार्टी संगठन निर्माणको क्रममा माओवादीको अपहरण र कुटपिटबाट ३ वर्ष विस्थापित हुँदा श्रेष्ठ सदरमुकाम बसेर उनै माओवादीलाई चन्दा दिँदै निजी शैक्षिक संस्था चलाएर बसेको र धर्मेन्द्र मोक्तान गैरीमुदीमा माओवादीलाई पैसा दिएर बोर्डिङ चलाएर बसेको आरोप लगाएका छन् ।
थोकरले श्रेष्ठलाई इतिहास कै असक्षम जिल्ला अध्यक्ष भनेका छन् भने श्रेष्ठ कै कार्यकालमा दोश्रो झापा भनिएको दोलखामा एमाले खुम्चिएको यथार्थ पनि खोलेका छन् । ७८८७ मतान्तरले चुनाव हारेका श्रेष्ठ सबैभन्दा धेरै मतान्तरले हार्ने एमाले उम्मेदवार मध्ये पर्छन् ।
हेर्नुहोस जिल्ला सचिव थोकरको स्पष्टिकरण :































