वि.सं.२०८१ साउन ६ आइतवार

मास्टहेड दुरुपयोग गर्ने सञ्चार माध्यमलाई काउन्सिलको ध्यानाकर्षण

काठमाडौं । प्रेस काउन्सिल नेपालले केही सञ्चार माध्यमको मास्टहेड दुरुपयोग गरेर राजनीतिक दल तथा उम्मेदवारबारे अफवाहपूर्ण दुष्प्रचारयुक्त, गलत एवं भ्रामक सामग्री सामाजिक सञ्जालमा सम्प्रेषण भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको भनी वक्तव्य निकालेको छ ।

प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको स्थिर समय (मौन अवधि)मा विभिन्न सञ्चार माध्यमको मास्टहेड प्रयोग गरेर बनाइएका विभिन्न दल तथा उम्मेदवारका समाचार शनिबार सामाजिक सञ्जालबाट सम्प्रेषण भएका थिए ।

त्यस्ता समाचार सामग्रीबारे सम्बन्धित मिडियासँग जानकारी माग गर्दा, ती शीर्षकमा त्यस किसिमका कुनै समाचार सम्प्रेषण नगरेको, त्यो फेक न्युज हो’ भनी जवाफ प्राप्त भएको काउन्सिलका सहप्रवक्ता एवं उपप्रशासकीय अधिकृत रामशरण बोहराले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । कतिपय सञ्चार माध्यमले भने आफ्नो सामाजिक सञ्जालबाट त्यसबारे प्रष्ट्याइसकेका छन् ।

काउन्सिलले निर्वाचनमा प्रभाव पार्ने किसिमले अफवाहपूर्ण, दुष्प्रचारयुक्त (फेक न्युज)बाट सजग रहन अनुरोध गर्दै स्थिर समयमा सामाजिक सञ्जालबाट (दुष्प्रचारयुक्त) अफवाहपूर्ण सामग्री सम्प्रेषण भएमा विद्युतीय अपराध सम्बन्धी कानून आकर्षित हुनेतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएको छ ।