वि.सं.२०८१ असोज १ मंगलवार

‘एन आई सी’मा KYC अद्यावधिक गर्न बैंक धाउनु पर्दैन, घरबाटै कसरी गर्ने ? (यस्तो छ तरिका)

काठमाडौं । तपाईं एन आई सी एशिया बैंकको ग्राहक हुनुहुन्छ, वा बन्दै हुनुहुन्छ ? अब केवाईसी (KYC) अद्यावधिक गर्न बैंकको शाखा धाइरहनु पर्दैन । जहाँको त्यहीँ अर्थात् आफु रहेको ठाउँबाटै भिडियो केवाईसी अर्थात् (V-KYC) बाट अद्यावधिक गर्न सकिन्छ । काइदा भएन त ? समय पनि बचत, झमेला पनि कम ।

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अन्तर्गत सबैखाले बैंकिङ सेवा एवं सुविधा क्रमिकरुपमा डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएको एन आई सी एशिया बैंकले भिडियो केवाईसी (V-KYC) बाटै ग्राहकले आफ्नो खाताको केवाईसी अद्यावधिक गर्ने योजना ल्याएको हो ।

घर वा अफिसबाटै आफ्नो खाताको (KYC) विवरण अद्यावधिक गर्न सकिने यो नयाँ सुविधाको प्रयोग गर्न एन आई सी एशियाले ग्राहकहरुलाई आह्वान गरेको छ ।
बैंकको वेबसाइट www.nicasiabank.com मा रहेको अनलाइन एप्लिकेशन ट्याब प्रयोग गरी (e-KYC) छनोट गरेर आफ्नो खाता नम्बर तथा केवाईसी (KYC) अद्यावधिकको कारण उल्लेख गरी (OTP) प्राप्त गर्ने एसएमएस वा इमेल वा दुबै विकल्प छनोट गरी (Submit) गर्नु पर्ने हुन्छ ।

त्यसपछि तपाईंले आफ्नो व्यक्तिगत विवरण भरी अनुकुल समयमा भिडियो कल (Video Call) मार्फत केवाईसी (KYC) विवरण बैंकलाई उपलब्ध गराउन सक्नुहुनेछ । अथवा बैंकिङ्ग समयमा भिडियो कल (Video Call)को लागि Appointment Book गरी त्यो समयमा केवाईसी विवरण अद्यावधिक गर्न सक्नु हुनेछ । एन आई सी एशियाले यसअघि अनलाइन खाता खोल्ने ग्राहकको लागि अनलाइनबाट यो विवरण अद्यावधिक गर्न सकिने (Video KYC) सेवा सुरुवात गरिसकेको छ ।

ग्राहकहरूले भी केवाईसी (V-KYC) को लागि कल गर्दा आफ्नो पहिचान खुल्ने कुनै एक पहिचान पत्र (नागरिकता/पासपोर्ट/ड्राइभिङ लाइसेन्स/मतदाता परिचय पत्र) तथा सेतो कागज र कालो/निलो मसी भएको पेन आफूसँग राखी बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात भिडियो कल मार्फत देखाउनु पर्छ ।

यसरी (V-KYC) मार्फत (KYC) विवरण अद्यावधिक गरे पश्चात् ग्राहकहरूले आफ्नो बैंक खाता पूर्ण रुपमा सञ्चालन गर्न सक्नेछन् । स्वदेश वा विदेशमा रहने जुनसुकै ग्राहकले भिडियो कल (Video Call) मार्फत ग्राहक पहिचान सम्बन्धी विवरण अद्यावधिक सहज रुपमा गर्न सक्ने हुँदा यो सेवा लिन बैंकको शाखा कार्यालयमा आफैं उपस्थिति हुनुपर्ने झन्झबाट मुक्ति मिल्ने विश्वास बैंकले लिएको छ ।

एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जाल विस्तार गरेको बैंक हो । यो बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०३ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ । यो बैंक देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहतर्फ आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन सफल भएको छ ।

मुलुकको अर्थतन्त्र सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा दिन उत्तरदायी बैंकिङको अभ्यास गर्दै स्थापना कालदेखि अहिलेसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी एन आई सीले कुल १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । गएको आर्थिक वर्षमा मात्रै ३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित एन आई सी अग्रणी बैंकको रुमा उभिएको छ ।

देशका अन्य कम्पनीको तुलनामा यो छैठौं ठूलो राष्ट्रिय योगदान हो । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता भौगोलिक कठिनाई भएका जिल्लामा अन्य बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेकामा एन आई सी एशियाले दुर्गमका ३४ भन्दा बढी स्थानीय तहमा शाखा विस्तार गरी सञ्चालन गरिरहेको छ ।

देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दाबढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू सेवारत राखेको छ । यसरी एनआईसीले प्रविधिको उपयोग गर्दै नागरिकलाई सहज र सुलभ सुविधाहरु दिने संस्कार नै संस्थागत गर्दै गएको छ ।

हेरौँ भिडियोबाट केवाईसी अद्यावधिक गर्ने तरिका