नेपालमा अहिले कोही चर्चामा छन् भने ति नाम हुन्, दानबहादुर कार्की र खगेन्द्र सुनार । यी दुबै आफैंमा फरक पृष्ठभूमि तथा फरक क्षेत्रका व्यक्तित्व हुन् । तर, मान्छेहरुले अहिले सञ्जालमा यि दुबै नाममा ठूलो ‘पोल’ लगाइरहेका छन् ।
झट्ट सञ्जाल हेर्दा, उनीहरुबीच मुलुकको कार्यकारीको छनोट दौड नै भइरहेको हो कि भन्ने प्रतित हुन्छ । तर, त्यो एल्गोरिदमको दौड व्यर्थ, अनुपात्दक मात्रै होइन पत्युत्पादक अर्थात् घातक छ ।
सांसद खगेन्द्र सुनारविरुद्ध अदालतसम्म पुगेका तीन कानुनी विवाद, के–के छन् मुद्दा ?
यस्तो अर्थ त वर्थको ‘पोल’ गराएर मान्छेहरु के सावित गर्न खोजिरहेका छन्, त्यो आफै जान्ने कुरा हो । तर, जे भइरहेको छ, जे गराइँदै छ । त्यो ठीक छैन । माथि चर्चा गरिका दुई व्यक्तित्वको परिचय सबैलाई थाहै छ, कार्की नेपाल प्रहरीको बहालवाला प्रहरी महानिरीक्षक अर्थात् आईजी हुन् । सुनार हाल संघीय संसदको तल्लो सदन प्रतिनिधि सभाको बहुमतबढी हैसियतको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कोतर्फबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।
यि दुबैको तलुना गर्ने मान्छे आफैंमा महामूर्खभन्दा माथि कुनै मूर्ख पदवी हुन्छ भने त्यसका लागि योग्य मानिस हुन् । होइन अन्नपूर्ण कै सन्तान हुन् भने सामान्य भुइँमान्छेको जत्तिको सोंच सबैले राख्न जरुरी छ ।
माननीय खगेन्द्रले जति नै सुकै भाष र सम्भाषको प्रयोग गरेर मान्छेलाई उल्लु बनाए पनि प्रहरी महानिरीक्षक दानबहादुरलाई हिलो छ्याप्नु स्वभाविक होइन । खगेन्द्रको हैसियत एक विधायक हो, विधि र पद्दतीका सन्दर्भमा आउने अफ्ठ्यारा र सम्भाव्य कानूनबारे बहस पैरवी गर्नु, संशोधन दर्ता गराउनु, छलफलमा आवश्यक प्रस्ताव लैजानु र आधारसहितका तर्क राखेर संसदीय समिति वा प्रतिनिधि सभा बैठकलाई अर्थपूर्ण तुल्याउने भूमिका निर्वाह गर्नु उनको दायित्व हो । त्यति हुँदा जनमतको कदर नै हुन्छ, जनताको सराप पक्कै लाग्दैन । तर, उनले अहिले जे गरिरहेका छन् । मिनी संसद अर्थात् संसदीय समिति र प्रतिनिधि सभा बैठकमा जसरी भैँली खेलिरहेका छन्, त्यो जोकर बन्ने कर्म हो । त्यस्तो प्रहसनका लागि सदन भन्दा पनि सडक अर्थात् माइतीघर मण्डल नै उनका लागि ठीक भन्ने निष्कर्ष अन्यथा हुँदैन ।
‘१ करोड २० लाख’को कथित डिलदेखि आईजीपी हटाउने रणनीतिसम्म : प्रहरीभित्रको खेल के हो ?
यसको अर्थ उनी कोही होइनन्, उनले केही गर्न सक्दैनन् भन्ने हुँदै होइन । तर, उनले रंगी विरंगी कोटमा जसरी सांसदको होलाग्रोम लगाएर देउसी खेलिरहेका छन्, त्यसले एउटा विधायकलाई शोभा दिँदैन भन्ने हो । हुन त उनलाई कसैले सुधारेर सुध्रिने खाले होइनन् तर, मै साँढे भन्ने प्रवृति त्याग उनको स्वास्थ्यका लागि हितकारी हुन्छ ।
अब प्रसंग मुलुकको ३३ औं प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको । जेन्जी उप्रदवको भोलिपल्टै उपत्यका प्रहरी कार्यालय रानीपोखरीको कमाण्ड समाल्न आइपुगेका दानबहादुर, गिरेको प्रहरीको मनोबल बढाउनका लागि बहादुर नै सावित भए ।
हुन त दानबहादुरलाई पनि जेन्जी उप्रदव अर्थात् भदौ २३ र २४ उभारमा आन्दोलन भड्काएको आरोप नलागेको भने होइन । त्यस सन्दर्भमा उनीसहितलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको पनि भनिन्छ ।
जाहेरीमा प्रहरीको हतियार लुटिँदा नजोगाएको, सेनाको ब्यारेकमा गएर लुकेको र कैदी भकाउन भूमिका खेलेको आरोप थियो । दानबहादुरलाई रास्वपा सभापति रवि लामिछानेसँग मिलेर जेलब्रेक गर्न सहयोग गरेको पनि आरोप छ । जुन प्रसंग अहिले पनि घुमाउरो रुपमा संसदीय समितिमा सांसदहरुले उठाइरहेका छन्, कहिलेकाही त्यस्तै खाले प्रसंगलाई लिएर दोहोरी खेल्छन्, माननीयहरु । खैर पदमा बसेकाहरुलाई आरोप लाग्नु अस्वभाविक होइन, आरोप प्रमाणित हुने गरिको कसुर गरेको ठहरिनु भएन ।
तर, दानबहादुर के अर्थमा पनि बहादुर हुन् भने उनले जेन्जी उप्रदवमा प्रहरी मारिएको, प्रहरीलाई लखेटेर आँखा फुटाइदिएको, अंगभंग बनाइदिएको, प्रहरी कार्यालयहरु ध्वस्त पारेर हातहतियार, पोशाक र लुटिएको तथा सवारीहरु ध्वस्त बनाइएको अवस्थामा प्रहरी संगठनको मनोबल उठाएर २० दिन मै सवारी साधनको बन्दोबस्त गरेर प्रतिनिधि सभाको निर्वाचन गराइछाडे ।
जेन्जी आन्दोलनका दौरान नेपाल प्रहरीका मात्रै ५५१ सवारी जलाइए । ११७ त चार पाङ्ग्रे सवारी जले । तर, त्यस्तो विजोग अवस्थालाई पनि शाहसमा परिणत गर्दै प्रहरी नेतृत्वले पहिलो घेरामा रहेर प्रतिनिधि सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको कुरा कतै छुपेको छैन ।
प्रहरी महानिरीक्षक कार्की इमानदार प्रहरी अधिकारीको परिचय बनाएरै नेत्वमा पुगेका हुन् । उनी कुनै ठूलो आर्थिक विवादमा मुछिएका छैनन् । यद्यपि, केहीले आरोप लगाउन भने छोडेका छैनन् ।
२१औं शताब्दी सुहाउँदो प्रहरी संगठन हाक्ने क्षमता भएका आईजी कार्की भुइँमान्छेहरु कै लागि अविच्छिन्न काम गर्ने राष्ट्रसेवक हुन् भन्दा फरक नपर्ला । इमान, जमानमा अडिग र सहयोगी हृदय भएका उनी असल नागरिकलाई जहिल्यै सम्मान गर्ने र अराजक एवं आपराधिक पृष्ठभूमि बोकेर राष्ट्र सेवकलाई धाक धम्की लगाउने तथा प्रभावित पार्न खोज्नेसँग डग्दै नडग्ने प्रवृतिका व्यक्तित्व हुन् ।
काठमाडौँ परिसर प्रमुख हुँदा भुटानी शरणार्थी प्रकरणको मुद्दा उनैले चलाएका थिए । तर, हिजो भुटानी शरणार्थी प्रकरणलाई उचाल्नेबाटै परिचालित खगेन्द्र अहिले कार्कीलाई विवादमा तान्ने प्रयत्न गरिरहेका देखिन्छन् ।
कार्कीले फिल्डदेखि आईजीपी सचिवालयमा बसेर विशेष भूमिका निर्वाह गरेका थिए, विगतमा । विदेशमा विभिन्न तालिम लिइसकेका उनी नेपाल प्रहरीको केन्द्रीय प्रवक्तासमेत भएका थिए ।
को हुन् कार्की ?
कार्कीको जन्म २०२९ साल साउन १५ गते गुल्मीको मालिका गाउँपालिका–७ मा भएको हो । उनी २०६६ सालमा प्रहरी नायब उपरीक्षक (डीएसपी) भए । २०७४ सालमा प्रहरी उपरीक्षक (एसपी), २०७९ सालमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) र २०८१ जेठमा प्रहरी नायव महानिरीक्षक (डिआईजी) मा बढुवा भए । त्यसपछि २०८२ वैशाखमा अतिरिक्त महानिरीक्षक (एआईजी) भएका उनले गत वर्ष कार्तिकमा प्रहरीको सर्वोच्च पद सम्हालेका थिए ।
कार्कीले मानविकी तथा समाजशास्त्र, शिक्षाशास्त्र र कानून संकायतर्फ स्नातक तहसम्म अध्ययन गरेका छन् । त्यस्तै, राजनीति शास्त्रमा उनले स्नातकोत्तर गरेका छन् ।
नेपाल सरकारले उनलाई प्रबल जनसेवा श्री पदकबाट पनि पुरस्कृत गरेको थियो । नेपाल प्रहरीले १४ पटक अभिलेखमा जनिने गरी नगद पुरस्कार पनि दिएको छ ।
कार्कीले प्रहरी नियमावलीमा उल्लेख भएअनुसार २०८४ चैत १८ सम्म आईजीपीकोे जिम्मेवारी सम्हाल्ने छन् । यदि परिस्थिति साधारण हुन्थ्यो भने पनि २०८४ को चुनावको सुरक्षा पनि उनकै काँधमा आउनेवाला थियो ।
कार्की २०५४ साल चैत १८ गते प्रहरी निरीक्षकबाट सत्य सेवा सुरक्षणम् को संकल्प बोकेको नेपाल प्रहरीमा सेवामा प्रवेश गरेका थिए । २०८४ चैतमा ३० वर्षे सेवा सकेर अनिवार्य अवकाशमा जानु पर्ने कार्कीलाई बिचैमा हल्लाउन अनेकन् प्रचारबाजी शुरु भएको छ । यद्यपि, दृढ संकल्प व्यक्तिलाई बाह्य गलफत्तीले कुनै आपत्ति निम्त्याउनु नपर्ने हो ।
यद्यपि, डस्ने सर्पको जहिल्यै डर हुन्छ, भन्छन् । केहि दिनअघि कार्कीको ब्याचसँग मिल्ने सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल (१११औँ)लाई छिर्के हान्न भ्याएका कारण सतर्क भने हुनै पर्ने देखिन्छ ।































