नेपाल कम्युनिष्ट पार्टी(एमाले) ले आत्मनिर्भरता, स्वरोजगार र रोजगारको अवसर सृजना गराउन ड्राईभिङ कक्षा सुरु गरेको छ।
विशेष गरी कामको सिलसिलामा काठमाडौं आएर बसोबास गर्ने काभ्रे जिल्ला भुम्लु गाउँपालिकाका नागरिक लक्षित गरेर नेपाल कम्युनिस्ट पार्टी (एमाले) भुम्लु काठमाडौं सम्पर्क मंञ्चले ड्राईभिङ अभिमुखीकरणको कक्षा सुरु गरेको हो ।
तालिममा ४५ जना सहभागी हुनुहुन्छ । जसमा ८ जना महिला छन् । नसक्ने र आर्थिक अवस्था कमजोर भएकाहरुलाई निशुल्क र अरुलाई पाँच हजार रुपियाँमा तालिम दिने बताइएको छ ।
भुम्लुका नागरिकलाई आत्मनिर्भर बनाउने पहिलो लक्ष्य रहेको उक्त कार्यक्रममा सुरुमा २० दिनको कक्षा लिने र त्यति दिनमा लाइसेन्स लिन नसकेमा पुनः थप सीप सिकाएर ड्राईभिङको लाइसेन्स निकाल्न सक्ने बनाउने लक्ष्य लिएको सम्पर्क मन्चको भनाइ छ ।
ड्राईभिङ तालिम लिन आउँनु भएका युवासँग नेकपा एमालेका पोलिटव्यूरो सदस्य, संघीय सांसद गोकुलप्रसाद बाँस्कोटाले समेत अन्तरकृया गर्नुभएको थियो ।
तर, भुम्लुपालिकाका अध्यक्ष प्रेम बहादुर भुजेल भने युवाको चासो त परको कुरा समृद्धिको ढोका खोलौ भन्दै घाँस फाँडेको भिडियो फेसबुकमा हाल्न व्यस्त छन् ।
कक्षाको सुभारम्भ गर्नुहुँदै पूर्वमन्त्री बाँस्कोटाले नेकपा एमाले भुम्लु काठमाडौं सम्पर्क मंञ्चको समन्वयमा भएको तालिमले रोजगारीको आधार सृजना गराएको उल्लेख गर्नुभयो ।
‘तालिम सीप, श्रम र रोजगारी नै उत्पादन बृद्धिको आधार हो,’उहाँले भन्नुभयो । युवालाई सिप र रोजगारसँग जोड्ने लक्ष्य लिएर कक्षा सुरु गरिएको नेकपा एमाले भुम्लुका अध्यक्ष प्रेम लामाले जानकारी दिनुभयो ।
‘हामीले भुम्लुका युवालाई जहाँ पनि प्रतिस्पर्धा गर्न सक्षम बनाउँन नै यो कार्यक्रम ल्याएका हौं,’उहाँले भन्नुभयो,’ हामी अझै महिलाहरुको लागि पनि छुट्टै कार्यक्रम ल्याउने तयारीमा छौँ ।’
उनले सिप र श्रम बिना युवाको भविष्य उज्जव नहुने भएकाले ड्राईभिङ तालिम दिएर स्वरोजगार र रोजगार बनाउने अभियान अघि बढाएको दाबी गर्नुभयो । आफू भुम्लुको माटोमा हुर्किएको र भुम्लुली नागरिकलाई आत्मनिर्भर बनाउन पाए बेग्लै आनन्द हुने लामाको भनाइ छ ।
भुम्लुको स्थानीय स्थतरमा नेतृत्व गर्नेहरुले युवाप्रति कुनै चासो नदेखाएपनी एमालेको भुम्लु काठमाडौं सम्पर्क मन्चले ड्राइभिङ कक्षा सुरु गरेपछि भुम्लुली युवाहरूले खुसी व्यक्त गरेका छन् ।