वि.सं.२०८१ असोज २६ शनिवार

संघ र प्रदेशका दुबै यातायात मन्त्रीको पनि नेता हुँ, म गराउँछु काम : पूर्वमुख्यमन्त्री पाण्डे

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं एकीकृत समाजवादीबाट प्रतिनिधिसभा सदस्य राजेन्द्र पाण्डेले मिटर जडित ट्याक्सी व्यवसायीका समस्या सम्बोधन गर्न तथा भाडाका सवारीलाई व्यवस्थित गर्न आफुले हरसम्भव प्रयत्न गर्ने प्रतिवद्धता जनाएका छन् ।

बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाज काठमाडौंको नागार्जुन ट्याक्सी इकाई गठन तथा सदस्यता वितरण कार्यक्रममा बोल्दै पूर्वमुख्यमन्त्री पाण्डेले समस्या समाधानका लागि नीतिगत एवं व्यवहारिक दुबै कोणबाट आफुले हरसम्भव प्रयत्न गर्ने प्रतिवद्धता जनाएका हुन् ।

उनले भने, ‘पार्टीको केन्द्रीय नेता तथा प्रतिनिधिसभा सदस्य भएका नाताले मैले संघ र प्रदेशको मन्त्रीलाई काम अह्राउन सक्छु । तपाइँहरु के सुधार चाहनु हुन्छ, लिखित रुपमा लिएर आउनुस् सम्बोधन गर्न म हरसम्भव प्रयत्न गर्छु ।’

संघमा पनि हाम्रै पार्टी एकीकृत समाजवादीको मन्त्री हुनुुहुन्छ भने बागमती प्रदेशमा पनि यातायात हेर्ने मन्त्री पनि समाजवादी कै हुनुहुन्छ, पाण्डेले अगाडि भने, ‘म उहाँहरुको पनि नेता हुँ । त्यसैले तपाइँहरुले चाहेको सुधारका लागि म सक्दो सहयोगका लागि जहिल्यै तयार छुँ । तपाइहरुका केही काम संघ सरकारले हेर्छ, केही काम प्रदेश सरकारले हेर्छ । केही कार्यान्वयन स्थानीय सरकारले गरिरहेको हुन्छ ।’

अहिले जसरी तपाइँहरुले व्यक्तिगत लगानी वा दर्तामा ट्याक्सी चलाइरहनु भएको छ’ नेता पाण्डेले थपे, ‘अबको केही वर्षमा तपाइँहरुले त्यसरी ट्याक्सी चलाउन पाउनु हुन्न । भोलि विभिन्न कम्पनीहरु हुनेछन्, त्यहि कम्पनीमा राखेर तपाइँहरुले ट्याक्सी चलाउनु हुनेछ । त्यो बेला तपाइँहरु कम्पनी कै आइडेन्टीमा व्यापार गर्नु हुनेछ भने भएका गल्ती वा कमी कमजोरीका सन्दर्भमा चालक र कम्पनी दुवै जिम्मेवार हुनेछन् । मेरो योजना पनि त्यही हो ।’

पाण्डेले आफु मुख्यमन्त्री हुँदा १०औँ वर्षदेखि हुन नसकेको मिटर ट्याक्सीको भाडा समायोजन भएको स्मरण गर्दै यो पेशालाई सम्मानीत र मर्यादित बनाउने कार्य बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाजले गर्ने अपेक्षा व्यक्त गरे ।

बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाजका केन्द्रीय अध्यक्ष दिपक नेपाललाई संस्थाले आफ्ना सदस्यका लागि जारी गरेको पोशाक लगाइदिँदै, पूर्वमुख्यमन्त्री एवं एकीकृत समाजवादीको संसदीय दलका उपनेता रोजेन्द्र पाण्डे

व्यवहारिक कुरा उप्काउँदै नेता पाण्डेले, ‘अनलाइन, एप्लिकेशनको आजको युगमा हामीभित्र यात्रु तथा सेवाग्राहीप्रति नम्र व्यवहार तथा व्यवसायिक इमान्दारिता नै महत्वपूर्ण कुरा हो । अनि, तपाइँहरुको ट्याक्सीमा चढ्ने यात्रु भनेको तपाइँहरुको अन्नदाता हो । दिनभर कोही पनि तपाइँको ट्याक्सीमा चढेन भने के खानुहुन्छ बेलुका ? त्यस कारण अन्नदातालाई खुसी बनाउनु तपाइँहरुको कर्तव्य हो । त्यसो भएन भने हाम्रा अन्नदाताहरु बिच्किन सक्छन् । हामीप्रतिको हेराई वा चस्मा फेरिन सक्छ’ भन्दै सुझाए ।

‘यहाँ म जान्छु, त्यहाँ जान्न भन्ने खालका व्यवहारले हामीलाई हित गर्दैन । त्यसकारण हाम्रो आनीबानी फेर्न जरुरी छ’ पूर्वमुख्यमन्त्री पाण्डेले भने ।