वि.सं.२०८१ असार १ शनिवार

‘महाअभियान’चलाइरहेका दुर्गा प्रसाईं कार्यालयमा झ्यालबाट छिर्छन्, ‘कालो मोसो’सम्झेर थर्थर काँप्छन्

ज्ञानेन्द्र शाहकै टाउकोमा सबैभन्दा बढी व्यक्ति बेपत्ताका मुद्दा

मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईं अहिले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’का नाममा कोकोहोलो मच्चाइरहेका छन् । केही समय पहिले पूर्व पत्रकार रविन्द्र मिश्रले ‘विचारभन्दा माथि देश’दस्तावेज ल्याउँदा मण्डले राष्ट्रवादलाई काँध हालेको भन्दै तीब्र आलोचना भएको थियो ।

आफुलाई मध्यमार्गी दावी गरेर साविक राजनीतिक दलहरुको विकल्प बन्छु भनेका रविन्द्र फनक्क १६० डिग्री घुम्दा मान्छेलाई अचम्म लागेको थियो । तर, अहिले दुर्गा प्रसाईंहरु गणतन्त्रलाई खुलम् खुल्ला चुनौती दिँदै देशलाई २०४६ अघि फर्काउनु पर्छ भन्दै कोकोहोलो मच्चाइरहँदा पनि मान्छेहरुलाई रमाइलो लागिरहेको छ । र, उल्टै भनिरहेका छन् कि, राजा फर्किनै पर्छ । बबुरा जनतालाई के थाहा ? दुर्गा प्रसाईं आफ्नो अभियानको केन्द्रीय कार्यालय मै झ्यालबाट छिर्छन्, भनेर ।

धर्मको ढोंग पिटिरहेका उनलाई थाहा हुनु पर्ने हो, गृह प्रवेश ढोकाबाट गरिन्छ कि झ्यालबाट ? साँच्चै तपाईं पत्याउनु हुन्न होला, उनी आफ्नो मुख्यालयमा झ्यालबाटै पस्छन् । हेरौँ, पस्ने झ्याल यहि हो ।

झ्याल अघिल्तिर खुट्टाको धूलो वा फोहोर टक्टक्काउन हरियो म्याट्रेस राखिएको छ । झ्याल न हो, हाइट सानो छ । अग्ला मान्छेहरुको टाउको ठोकिन्छ । अशक्त वा वृद्धअवस्थाका बा’हरु उनको कार्यालय छिर्न मुस्किल पर्छ । झ्यालको भित्रपट्टी एउटा पिर्का राखिएको छ । भित्र पस्नेले त्यो पिर्कामा टेकेर ओर्लिनु पर्छ । केही गरी खुट्टा चिप्लियो भने, सत्यानाश’ ! पार्केटिङ गरेको भुइँमा बजारिनुको विकल्प छैन ।

भित्रि कार्यालय शानदार छ । नामै पेरिस डाँडा । राजाको गुणगान गाउँदै हिँडेका प्रसाईंले त्यतिको शान शौकत राख्नुलाई अन्यथा नलिम् । गेटमा सुरक्षा गार्ड, बायाँ कुनामा इन्ट्रि रजिष्टर । दायाँ भित्तामा राज नेताले जस्तो हात उठाएको पोष्टर । छिर्ने झ्यालको बाँया भित्तामा पनि पोष्टर । घर वरिपरी नेपाली राष्ट्रिय झण्डा । छतको दक्षिणपूर्वी मोहडामा साइनबोर्ड । जताततै चमक् धमक् । अहिलेका प्रधानमन्त्री प्रचण्डको पार्टी कार्यालयको ठीक अघिल्तिर प्रसाईंले झकिझकाउ कार्यालय खडा गरेका छन् ।

उनी पछिल्लो समय राजतन्त्र फर्काउने अभियानमा जोडतोडले लागेका छन् । गएको फागुन १ गते काँकडभिट्टामा पूर्वराजा ज्ञानेन्द्र शाह र पारस शाहलाई साथमा राखेर कार्यक्रम गरेका थिए । २० फागुनमा संसद भवनअघि नयाँ बानेश्वरमा शक्ति प्रदर्शन गरे । अहिले माइतीघर उचालीरहेका छन् । हिजो अस्तिसम्म गणतन्त्र स्वीकारेका कम्युनिष्ट पार्टीको सदस्य रहेका उनी रातारात फेरिए ।

माओवादीबाट एमाले बनेका उनी राजासँग कुम जोडिनासाथ लखेटिए । र, भन्दै छन् मुलुकलाई २०४६ सालअघि फर्काउनु पर्छ । २०४६ अघिसम्म मुलुक पञ्चायती शासनको अधिनमा थियो । राजाको सक्रिय शासनकालमा दलीय प्रतिस्पर्धादेखि न्यूनतम लोकतान्त्रिक हक सबै कुण्ठित थिए । र, प्रसाईं यो पनि भुलेछन् । १९ दिने जनआन्दोलन हुँदा परिवर्तनकारी योद्धाहरुको टाउकोमा शाही लाठी र बुट बर्सिएको ।

अनि प्रसाई्रंको पिछ्लल्गु भएर हिँडिरहेका युवाहरु पनि भुलेछन्, तत्कालीन शाही शासकका सेनाहरुले कयौँलाई बन्धक बनाएको र बेपत्ता पारेको । भुल्नै नहुने महत्वपूर्ण कुरा, ‘प्रसाईंलाई थाहा छैन कि अहिले सत्तामा रहेको तत्कालीन विद्रोही माओवादीले चलाएको १० वर्षे शसस्त्र विद्रोहताका सबै भन्दा बढी व्यक्ति बेपत्ता पार्ने तत्कालीन शाही शासक ज्ञानेन्द्र नै थिए ।

बेपत्ता छानविन आयोगमा अहिले पनि फाइल पल्टाउने हो भने प्रसाईंले बोक्दै हिँडेका पूर्व राजा ज्ञानेन्द्र शाह कै टाउकोमा सबैभन्दा बढी व्यक्ति बेपत्ताका मुद्दा छन् । त्यसपछि व्यक्ति बेपत्ता पार्नेको सूचीमा देउवा दोस्रो, तत्कालीन प्रधानसेनापति तेस्रो र प्रचण्ड चौथो नम्बरमा छन् । यो कुरा नेपाली जनताले चटक्कै विर्सिन मिल्छ ? पारसलाई राजा स्वीकार्न नसक्ने अवस्थाले मुलुकमा थाहै नपाई गणतन्त्र आएको कुरा अहिले पनि विद्वानहरुले बताइरहेकै छन् । पोहोर पोहोरसम्म पनि कसैले भन्दै दिए, ‘त्यस्ता जँगडीलाई राजा मान्नु भन्दा ‘आयातित गणतन्त्र’ नै ठीक भनेर यो व्यवस्था स्वीकारेका हौँ ।’

अनि अर्को महत्वपूर्ण कुराः दुर्गा प्रसाईं आफैंलाई भित्रि मनदेखि नै आफुले राम्रो काम गरेजस्तो लागे कै छैन । नभए उनी कालो ‘मोसो’को डरले किन थर्थर काँपिरहेका छन् ? उनकै सहयोगीले अभियानको केन्द्रीय कार्यालयमा भन्दै थिए, ‘जाजरकोटको घटना पछि कालो मोसोको डरले उहाँ (दुर्गा प्रसाईं) बाहिर निस्किनु भएको छैन ।’ ती सहयोगीले अगाडि भने, ‘भेट्नु छ भने सोनो ठीमीको निवास मै आउनु । यहाँ भेटिनु हुन्न । जाजरकोटमा कोलोमोसो दलिएपछि उहाँ त्यति बाहिर निस्किनु हुन्न । विशेष कार्यक्रम परे मात्रै निस्किनु हुन्छ ।’ यसको अर्थ प्रसाईं आफ्नो स्वविवेकले यो अभियानमा लागेको होइनन् भन्ने ठहर्छ । र, परिचालित वा सञ्चालित झुण्डहरुले हिन्दुत्वलाई वर्को बनाएर गणतन्त्रमाथि प्रहार गर्न लागेको भन्दै वाम चिन्तकहरुले खतराको संकेत गरेका छन् ।