वि.सं.२०८१ भदौ २८ शुक्रवार

परराष्ट्रमन्त्री राणाविरुद्ध अख्तियारमा उजुरी, सर्वोच्चसम्म पुग्ने..!

काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाविरुद्ध युवराज सफलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएका छन्।

बिहीबार सफलले राष्ट्रमन्त्री राणा प्रमाणित हुने गरी नक्कली भुटानी शरणार्थी प्रकरण र टिकापुर जग्गा अनियमिततामा जोडिएको दाबीसहित उजुरी दर्ता गराएका हुन्।

डा. राणाले आफूमाथि लाग्दै आएको आरोपमा अदालतबाट सफाइ नपाउँदासम्म नैतिक आधारमा पदमा बस्न नमिल्ने उनले उजुरीमा भनेका छन्।

उनले राणालाई नैतिकताको आधारमा राजीनामा दिन लगाई तत्काल अनुसन्धान गर्न अख्तियारलाई भनेका छन्।

उजुरीमा भनिएको छ-‘परराष्ट्रमन्त्री आरजु देउवा प्रमाणित हुने गरी नक्कली भुटानी शरणार्थी र टिकापुर जग्गा अनियमितता प्रकरणमा जोडिएको देखिन्छ ।

मन्त्री हुन उच्च नैतिकता हुन पर्ने हुँदा उहाँले उल्लेखित प्रकरणमा अदालतबाट सफाई नपाउँदा सम्म नैतिकताको आधारमा पदमा बसी राख्न मिल्दैन ।

तसर्थ तत्काल निज विपक्षी आरजु राणा देउवालाई नैतिकताको आधारमा राजिनामा दिन लगाई उहाँ उपर तत्काल अनुसन्धान गर्न सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराउन चाहन्छु ।

यदि यस उजुरी उपर कारबाही नगरे सम्मानित सर्वोच्च अदालत सम्म जाने पनि जानकारी गराउन चाहन्छु।’– उजुरीमा भनिएको छ ।

  • परराष्ट्र मन्त्री डा.आरजु राणा विरुद्ध उजुरीको विस्तृत विवरणः

डा. आरजु राणा देउवा नेपाली काँग्रेसको केन्द्रीय सदस्य साथै हाल परराष्ट्र मन्त्रीको जिम्मेवारीमा रहेकी छिन् । पुर्वप्रधानमन्त्री शेर बहादुर देउवा पत्नी रहेकी आरजु राणा देउवा माथि विभिन्न भ्रष्टाचारका आरोपहरु लागेका छन् । पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणाको नाम मुछिएको कुरा आम नागरिक र सिंगो राष्ट्रलाई थाहै भएको विषय हो । त्यस्को प्रमाण नक्कली शरणार्थी प्रकरणका एक जना आरोपित सन्देश शर्माले आफूले आरजु राणालाई रकम बुझाएको भन्ने अडियो रेकर्ड फेला परेको र सो रेकर्ड परिक्षण गर्दा रेकर्ड सन्देश शर्माको आवाजसँग मिलेको प्रमाणित भएको थियो । अत नक्कली भुटानी शरणार्थी प्रकरणमा रकम बुझ्ने आरजु राणा पनि अनुसन्धानको दायरामा आउन आवश्यक छ । भर्खरै पक्राउ परेका बेचन झाले समेत आरजु राणाको पोल खोलिन्छ भनेर पोलिग्राफ गर्न नमानेको तथ्य समेत दुनियाँलाई थाहै भएको कुरा हो । अत आरजु राणा देउवामाथि नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान नहुनु दुखद कुरा हो । अत तत्काल निज आरजु राणालाई पक्राउ गरी अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ध्यानाकर्षण गराउन चाहन्छु । निज मन्त्री भएको बेलामा निज उपर कुनै अनुसन्धान हुन नसक्ने एवम् कारबाहीको दायरमा आउन नसक्ने हुँदा तत्काल निजले पदबाट राजिनामा दिएर अनुसन्धानमा सहयोग गर्न पर्ने देखिन्छ । अत नक्कली भुटानी शरणार्थी प्रकरणमा के कति कारणले आरजु राणा देउवालाई अनुसन्धानकै दायरामा नल्याई छोडिएको हो त्यो कानुन सम्मत र न्यायसम्मत देखिदैन अत तत्काल अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराउन चाहन्छु ।

साथै आरजु राणा देउवा टिकापुरको जग्गा घोटाला प्रकरणमा समेत मुछिएकी व्यक्ति हुन् । टिकापुर बजार क्षेत्रको करिब ६०० कठ्ठा सरकारी जग्गा नक्कली कागजात बनाई नेता ,कार्यकर्ता र तिनका आफन्तले मिलेमतोमा हत्याको फेला परेको थियो । जहाँ आरजु राणाले समेत मिति २०५४ वैशाख १५ गतेका दिन टिकापुर नगर समितिबाट ३ कठ्ठा ७ धुर जग्गा घडेरी लिएको कागजात लिएको देखिन्छ । रु ५० हजार रुपैयाँमा घडेरी किनेको हो भनी स्वंयम आरजु राणाले स्विकार समेत गरी सकेको अबस्था छ । सोही घटना र प्रकरणमा जोडिएका दर्जनौँ व्यक्तिहरुलाई मुद्धा चलाई जेल समेत हाल्दा सोही प्रकरणमा मुछिएकी आरजु राणा देउवालाई के कति कारण अख्तियारले उन्मुक्ति दिएको हो ? त्यो समेत अख्तियारले प्रष्ट पार्न सकेको छैन । अख्तियार आफैँ पक्षपातपुर्ण तरिकाले भिभिआइपी आरोपितहरुलाई जोगाउने अभियानमा लागेकोले अख्तियार प्रति जनविश्वास समेत घटेको देखिन्छ ।

निश्कर्षमा भन्नुपर्दा पर राष्ट्रमन्त्री आरजु देउवा प्रमाणित हुने गरी नक्कली भुटानी शरणार्थी र टिकापुर जग्गा अनियमितता प्रकरणमा जोडिएको देखिन्छ । मन्त्री हुन उच्च नैतिकता हुन पर्ने हँुदा उहाँले उल्लेखित प्रकरणमा अदालतबाट सफाई नपाउँदा सम्म उहाँले नैतिकताको आधारमा पदमा बसी राख्न मिल्दैन । तसर्थ तत्काल निज विपक्षी आरजु राणा देउवालाई नैतिकताको आधारमा राजिनामा दिन लगाई उहाँ उपर तत्काल अनुसन्धान गर्न सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराउन चाहन्छु । यदि यस उजुरी उपर कारबाही नगरे सम्मानित सर्वोच्च अदालत सम्म जाने पनि जानकारी गराउन चाहन्छु ।