राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद खगेन्द्र सुनारसँग जोडिएका मान्छेहरुको पोल एक पछि अर्को गर्दै खुल्दै गएको छ । त्यसको पछिल्लो उदाहरण हुन्, नेपाल सरकारले साउदी अरेबियाका लागि राजदूत सिफारिस गरेका तर, संसदीय सुनुवाई समितिले बहुमतले अस्वीकृत गरेका गिरिबहादुर सुनार ।
याे पनि
खगेन्द्र, गिरिबहादुर र पीडित भनिएकी महिला तीनै जना ओशो सन्यासी, काण्ड बाहिर आएपछि तपोवनमा त्रास
खगेन्द्रसँग जोडिएर अनेकन् उपद्रव मच्चाएका गिरिबहादुरको राजदूत यात्रा हाललाई अन्त्य भएको छ भने उनले एक महिलामाथि गरेको अत्याचारबारे कानूनतः अनुसन्धान भए उनी कारागार पुग्ने छन् ।
उनको र सांसद खगेन्द्र सुनारको किस्सा एउटै छ, दुबैको परस्त्रीसँग गैर कानूनी सम्बन्ध र अनेकन् अत्याचार । हुँदै जाँदा खगेन्द्रले पीडित भनिएकी महिलालाई काठमाडौंको सीतापाइलादेखि चितवनको सौराहासम्म कुटपिट गरेको तथ्य समेत बाहिरिएको छ ।
२०७८ पुस ९ गते राज्यमन्त्री नियुक्त भएपछि ती महिलाले काठमाडौंको सीतापाइलास्थित शरणपुरमा फ्ल्याट भाडामा लिएर बसिन् । उनको खास घर नुवाकोटको पञ्चकन्या हो ।
शपथग्रहणपछि काठमाडौं फर्किएकी उनी बस्ने फ्ल्याटमा खगेन्द्र र लेनदेनसम्बन्धी विवादका क्रममा कुटपिट भएको प्रहरीले जनाएको छ ।
जुन घटनामा महिलाको शरीरका संवेदनशील अङ्गमा चोट लागेको देखेपछि सुरक्षार्थ खटिएकी महिला प्रहरी अधिकृतले प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा निर्देशनालयमा जानकारी गराएको विवरणमा उल्लेख छ ।
त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौंका तत्कालीन प्रमुख एसएसपी सुदीप गिरीले प्रहरी वृत्त स्वयम्भूलाई घटनामा संलग्न भनिएका व्यक्तिलाई नियन्त्रणमा लिन निर्देशन दिएको बताइन्छ ।
स्वयंभूका तत्कालीन डीएसपी मिलन केसीको नेतृत्वमा प्रहरी टोली शरणपुरस्थित निवास पुगेको र खगेन्द्रलाई पक्राउ गरेको बताइएको छ । पक्राउका क्रममा खगेन्द्रले आफूलाई दलित अभियन्ता तथा पत्रकारका रूपमा परिचय दिएको विवरण समेत खप्तडटिभीलाई प्राप्त भएको छ ।
प्रहरी हिरासतमा रहेका बेला खगेन्द्र चिसोले कठ्याङ्ग्रिएको र केही समयपछि घाइते अवस्थामा ती महिला पनि प्रहरी कार्यालय पुगेको सम्म थाहा हुन आएको छ । महिलाले खगेन्द्रलाई आफ्नो जिम्मा लगाएर छाडिदिन आग्रह गरे पनि प्रहरीले तत्काल रिहा गर्न नमानेको बताइएको छ । त्यसपछि ती महिलाले खगेन्द्रका लागि न्यानो कपडाको व्यवस्था समेत गरिदिएको बताइन्छ ।
पक्राउ परेको भोलिपल्ट दुवै पक्षबीच मिलापत्रसम्बन्धी कागज तयार गरी खगेन्द्रलाई छाडिएको विवरण छ । सीतापाइलाको घटनापछि चितवनको सौराहामा लगेर पनि खगेन्द्रले ती महिलामाथि कुटपिट गरेको आरोप छ । कुटपिटपछि उनको अनुहार सुन्निएको र उनी करिब एक सातासम्म मन्त्रालय नगएको विवरण प्राप्त भएका छन् ।
हाल सार्वजनिक अडियो र त्यहाँ संवाद गरिएकी महिलासँगको सम्बन्ध तथा हिंसाको विषय त्यही रहेको बुझिएको छ । अडियो सार्वजनिक भएपछि यसबारे बुझ्दै जाँदा सांसद खगेन्द्र प्रहरी हिरासत बसेको पुष्टि नै भएको छ ।
अडियो सार्वजनिक भएपछि सुनार भागेका छन् भने पीडित महिलाले एक टेलिभिजनसँगको फोन सम्वादमा त्यसमा बोल्ने आफु नभएको भनी जिकिर गरेकी छन् । यद्यपि, अडियो र हालैको सम्वाद तुलना गर्दा धेरै वटा तथ्यहरु मेल खाएका छन् ।
ती महिलामाथि खगेन्द्रले गरेको कुटपिट लगत्तै पर्सनल सेक्युरेटी अफिसर (पीएसओ)ले प्रहरी प्रधान कार्यायलयको भीआईपी सुरक्षा हेर्ने सुरक्षा सेवा निर्देशनालायमा जानकारी गराएको र त्यसपछि प्रहरी हेडक्वाटरबाट सो सूचना जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको थियो । त्यतिबेला काठमाडौंका प्रमुख तथा एसएसपी सुदीप गिरी थिए । स्वयम्भू क्षेत्रको घटना भएपछि प्रहरी वृत्त स्वयम्भूलाई एसएसपी गिरीले घटनाबारे अनुसन्धान गर्न निर्देशन दिएका थिए । यतिधेरै तथ्य हुँदा हुँदै अहिले ती महिलालाई फेरि दबाबपूर्वक टेलिभिजनमा आएर सफाइ दिन लगाउने काम भएकामा त्यसको समेत अनुसन्धान गर्नुपर्ने माग सर्वत्र उठिरहेको छ ।
महिला अधिकारका क्षेत्रमा काम गर्ने धेरै अगुवाहरुले अडियो सार्वजनिक भएपछिका घटनाक्रमको समेत अध्ययन अनुसन्धान हुनुपर्ने बताएका छन् ।































