माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सुदूरपश्चिमका पूर्वसामाजिक विकासमन्त्री झपटबहादुर साउदले बझाङको बुंगल नगरपालिका–१ का धन बहादुर बोहोरालाई ठगेको आरोप लागेको छ ।
सुदूरपश्चिमको सामाजिक विकास मन्त्री रहेका बेला साउदले विभिन्न योजना हालिदिने, ठेक्का पट्टा मिलाइदिने आश्वासन दिँदै १ करोड ५० लाख असुलेको आरोप बोहोराले लगाएका छन् ।
यी दुई बिचको आर्थिक लेनदेनको विवाद बढ्दै अहिले अदालतसम्म पुगेको छ ।
तर, उनले उक्त रकम दिएपछि कुनै काम नमिलाइदिएको बरु उल्टै प्रहरी लगाएर हैरानी दिएको बोहोराको भनाइ छ । साउदले असारको दोस्रो हप्ता आफूलाई काठमाडौँ बोलाएर प्रहरी वृत्त नयाँ बानेश्वरमा थुनाएको समेत दाबी गरे ।
२०८१ असार ११ गते प्रहरी वृत्त नयाँ बानेश्वरमा निवेदन दिएर उनले आफूलाई पक्राउ गराएको बोहोराको भनाइ छ ।
अहिले अदालतको शरणमा पुगेका हुन् बोहोरा । असार १७ गते उनले काठमाडौँ जिल्ला अदालतमा साउदविरुद्ध मुद्दा दायर गरेका हुन् ।
अदालतमा दायर भएको अभियोगमा पत्रमा ठगी तथा अपराधिक बल प्रयोग गरेको र व्यक्तिगत सम्पत्ति हत्याएकाले न्याय दिन माग गरिएको छ ।
ठगीको आरोप लागेका साउदको स्थायी ठेगाना अछाम जिल्लाको तत्कालीन रामारोशन गाविसको भटाकाटीया–६, पुदु हो ।
हाल उक्त वडा रामारोशन गाउँपालिका– ६ मा पर्छ । उनी अहिले काठमाडौँ आएका बेला भक्तपुर लोकन्थलीमा बस्छन् ।