साउन १८ गतेसम्म बझाङको मष्टा गाउँपालिका १ का लेकी, जिन्नाडालगाएतका गाउँ अन्धकारमय थिए ।
डुंग्रीगाड लघु जलविधुत आयोजनाको पहिरोको गएका कारण यी गाउँमा विद्युत सेवा ठप्प भएको थियो ।
अघिल्लो कार्यकालका वडाध्यक्ष राजेन्द्र खड्काले लघुजलविद्युतकै लाइनमा राष्ट्रिय प्रशासरणको लाइन जडान गरेका थिए ।
पुर्व वडाध्यक्ष खड्काले चुनावी माहोल आफ्नो पक्षमा पार्नका लागि गाउँभरीका लागि एउटै मिटरवक्स वडाकार्यालयको नाममा राखेकाे भेटिएको छ ।
नेपाल बिधुत प्राधिकरण शाखा कार्यालय बझाङले विल नतिरेको भन्दै लाइन काटेपछि खड्काले गरेको चुनावी फण्डाको रहस्य खुलेको थियो । हालसम्मको २ लाख २७ हजार नतिरेको भन्दै विद्युत प्राधिकरणले लाइन नै काटेको थियो ।
‘गाउँभरका लागि एउटामात्रै मिटर बक्स राखिएकोले एकै पटक धेरै रकम उठ्दा पैँसा तिर्नसमेत समस्या भएको स्थानीय बताउँछन् ।
तत्कालिन वडाध्यक्ष खड्काले एउटै मिटर वक्स राखेर गएछन् । विजुली विल कसले तिर्नु पर्ने हो भन्ने पनि भनेन् । चुनावको बेला विद्युत दिए भनेर खुसी भएका थियौँ । तर, अहिले विद्युतको लाइन काटेपछि थाहा भयो । हामीले त दुइ लाख दण्ड तिर्नु पर्ने भएको रहेछ ।’ एक स्थानीयले भने ।
अहिले स्थानीयवासिन्दा मिलेर एक लाख तिर्ने र बाँकी रकम वडाकार्यालयबाट तिर्ने सहमती भएपछि १९ साउनमा विद्युत प्राधिकरणले पुनः विद्युतको लाइन सुचारु गरेको छ ।
सरकारले गत वर्षको जेठमा २० युनिटसम्म विद्युत खपत गर्ने जनताका लागि निशुल्क विद्युत उपलब्ध गराउने निर्णय गरेको थियो ।
यसैगरी १५० युटिनसम्म खपत गर्नेका लागि ५० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेका लागि ३० प्रतिशत छुट दिने व्यवस्था गरेको थियो । तर तत्कालिन वडाध्यक्ष खड्काको अपरिपक्व र चुनावी निर्णयका कारण जनताले ठुलो आर्थिक मुल्य तिर्नु परेको एक स्थानीयले बताए ।
विद्युतको लाइन काटिएपछि स्थानीय बासिन्दा र वडाकार्यालयले विद्युतको विल भुक्तानी गर्ने सहमति गरेपछि पुनः विद्युत सञ्चालनमा आएको वडाध्यक्ष रामचन्द्र रोकायाले बताए ।
‘उपभोक्ताले सबै पैँसा तिर्न सक्ने अवस्था थिएन । केही राहतका लागि वडाकार्यालयको विशेष कोषबाट तिर्ने सहमति भएपछि बुधबारबाट पुनः बत्ति सञ्चालन भएको छ ।’ वडाध्यक्ष रोकायाले भने ।
यता, पुर्व वडाध्यक्ष खड्काले उपभोक्तालने नै महसुल तिर्ने गरेर सहमतिमा विद्युत लाइन जोडिएको बताए ।
उपभोक्ताले नै जति महसुल आएपनि हामी बराबर तिर्न तयार छौँ भनेको कारण विद्युत जडान गरेका थियौँ । तर, कसैले पनि पैँसा नतिर्दा समस्या देखिएको हुन सक्ने खड्का बताउँछन् ।