वि.सं.२०८१ असोज २५ शुक्रवार

गुठीचौरमा गोठालाले पत्ता लगाए आकाशे ताल

प्रकृतिको काखमा रहेका धेरै तालहरू आज पनि मानवको पहुँचबाट धेरै टाढा छन् । विकट भूगोल, पर्यटकीय गन्तव्यको खोज र अनुसन्धानको कमी तथा तिनको संरक्षणको अभावमा धेरै ताल गुमनाम छन् ।

कर्णाली प्रदेशमा प्राकृतिक र पर्यटकीय महत्वका यस्ता स्थलहरू धेरै छन् । ती स्थलको उजागर हुन सकेको छैन ।

कर्णालीको जुम्ला प्राकृतिकरूपले पर्यटनको अत्यन्तै सम्भावनायुक्त ठाउँ मानिन्छ ।

जुम्लाको पातारासी हिमाल, संसारको उच्च स्थानमा धान फल्ने ठाउँ छुमचौर ज्यूला, जुम्ला तातोपानी गाउँपालिकास्थित पहाड फोडेर निस्केको तातोपानी धारा, लक्षालकृति पैकला (वीरयोद्धा), मार्सी धान सुरुआत गरिएको गुरुफोक्टो, चन्दननाथ भैरवनाथ मन्दिर, मष्टो प्रथा, गुठीचौर भेडा अनुसन्धान केन्द्र, तिला त्रिवेणीलगायतका धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्र अध्ययन, अनुसन्धान र पर्यटनका हिसाबले निकै महत्वपूर्ण मानिन्छन् ।

जुम्लाको गुठीचौर गाउँपालिका–१ मा हालै चौँरी गोठालाहरुले आकाशे ताल पत्ता लगाएका छन् ।

वडा नं १ मणिसाँघुबाट डेढ दिनको दूरी हिँडेर पुगिने ठाउँमा चार हजार ७०० मिटरको उचाइमा उक्त आकाशे ताल गोठालाले पत्ता लगाएका हुन् ।

सात वर्षअघि चौँरीपालक गोठालाहरूले नै चार हजार ३०० मिटरको उचाइमा हिउल्सा ताल र चार हजार मिटर उचाइमा रहेको दूध कुण्डली तालसमेत पत्ता लगाएका थिए ।