पूर्वपञ्चहरूका पार्टी दुवै राप्रपा र जातीयताको उग्र पक्षधर उपेन्द्र यादवको जसपासँग तालमेल गरेर चुनावमा होमिएको नेकपा (एमाले) ले अध्यक्ष केपी शर्मा ओलीले नव धनाड्य र ‘फरियाको नाता’ लाई पनि विशेष महत्व दिने गरेको पाईएको छ।
देशकै नेतृत्व गर्न तम्सिएका ओलीमाथि टिकट वितरणमा पक्षपात र संगठन बनाएर जिल्ला बस्ने नेतामाथि कुठाराघात गरेको आरोप छ । फरक मत राख्ने भिम रावल, घनश्याम भुसाल, अरुण नेपाल जस्ता नेताहरूलाई छानीछानी टिकट नदिनु र ‘एस म्यान’ मात्र खोजेर उम्मेदवार बनाइनुले नै यो पुष्टि गर्छ । पुरुषोत्तम पौडेल, सुरेन्द्र मानन्धर, रविन कोइराला (प्रतिनिधिबाट प्रदेश), पवित्रा निरौला खरेल, गणेश पहाडी, जयकुमार राई र उनीहरू निकट भनिएकालाई टिकटबाट वञ्चित गराएर पहिलो चरणमै साइड लगाइयो ।
यसरी लाखापाखा लाग्नेमा दोलखामा संगठन बनाएर हिड्ने निष्ठावान नेताको पनि लर्को भएको बताईन्छ । १० भाइ समूह मात्र होइन, ओलीलाई ‘बा’ भन्नेहरू थुप्रैले पनि यसपटक अकल्पनीय परिणाम भोग्नुप¥यो ।
ओलीको विश्वासपात्र हुँदाहुँदै पनि टिकट नपाउने चर्चित पात्र हुन् दोलखाका पार्वत गुरुङ । ०७४ मा वाम गठबन्धन हुँदा ३० हजार बढी मतान्तरले जितेका उनी ०७० को दोस्रो संविधानसभा चुनावमा पनि त्यही क्षेत्रका सांसद थिए । त्यसकारण यसपटक पनि उनले नै टिकट पाउने धेरैको अनुमान थियो । तर, उनलाई अन्तिम समयमा टिकट दिइएन ।
दोलखामा पार्वतको विकल्पमा पोखरेल थर जोडेर इश्वर पोखरेल र शंकर पोखरेललाई दाई नाता लाउने आनन्द पोखरेललाई हेरिएको थियो । टिकट पाएको भन्दै बधाई खाएका उनी पनि अन्तिममा भान्जाका सामु जिल्लिए । बालकृष्ण सिवाकोटीले सबैलाई जिल्याउँदै टिकट हात पारे । एमाले दोलखा कै एक जिल्ला कमिटी सदस्यका अनुसार ओली र शिवाकोटीबीच मामा–भाञ्जाको साइनो छ । रगतको साइनो नभए पनि आफ्नी आमाले ओलीलाई भाइटीका लगाइदिएका कारण बनेको सम्बन्धले नै शिवाकोटीलाई प्रतिनिधिसभाको टिकट जुराएको हो ।काठ व्यापारीसमेत रहेका शिवाकोटी आर्थिक रूपले सम्पन्न व्यक्ति हुन् । गौशालामा रहेको पशुपति भिजन उनकै हो । मामालाई दुःख पर्दा खर्चपर्च चलाइदिने हैसियत भएका उनलाई ओलीले दुईपटक लगानी बोर्डको सदस्य पनि बनाएका थिए । दोलखामा केवलकार बनाएका शिवाकोटीको व्यापारको ठुलै साम्राज्य छ ।
शिवाकोटीको द्रब्यको अगाडी केहि जोर नचलेका पार्वत गुरुङ्ग, आनन्द पोखरेल, इश्वरचन्द्र पोखरेल, लालकुमार केसी, भरत दुलाल, रचना खड्का, कृष्ण भुजेल लगाएतको चुनावमा हिड्न पनि नाई-नास्ती मरेको बताईन्छ ।