वि.सं.२०८१ माघ ६ आइतवार

थुनुवा महिलालाई मध्यरात बलात्कारकाे प्रयास गर्ने असई चौलागाईंविरुद्ध मुद्दा

कोहलपुर इलाका प्रहरी कार्यालयमा थुनुवा युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका प्रहरी सहायक निरीक्षक (असई) विरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार पक्राउ परेका असई प्रवीण चौलागाईंलाई निलम्बन गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको हो । निलम्बित असई चौलागाईंविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता गरिएको छ।

गत ११ साउनमा बहुविवाहको आरोपमा थुनामा रहेकी एक महिलालाई हिरासत व्यवस्थापन अधिकृतसमेत रहेका कोहलपुर इलाका प्रहरीका असई चौलागाईंले आफनो कोठामा लगेर यौन दुर्व्यवहार गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो ।

कोहलपुर प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत असई चौलागाईंले बहुविवाह मुद्दामा हिरासतमा रहेकी ती महिलालाई राति २ बजे आफनो कोठामा बोलाएर बलात्कार प्रयास गरेको आरोप छ ।