वि.सं.२०८३ कात्तिक २२ आइतवार

फ्याक्टचेकको आवरणमा जनआस्था र किशोर श्रेष्ठलाई बदनाम गर्ने षड्यन्त्र

नेपाल फ्याक्ट चेक डट ओआरजीका फ्याक्टचेकर पत्रकार टेकमान शाक्य जनआस्था र त्यसका प्रधान सम्पादक किशोर श्रेष्ठलाई आम जनमानसमा बदनाम गराउन लागिपरेको पाइएको छ ।

गत कात्तिक ६ गते आफ्नै युट्युब च्यानलबाट प्रसारित भिडियोमा शाक्यले सामान्य प्राविधिक वा स्रोतगत त्रुटिलाई बढाएर देखाउँदै जनआस्था र प्रधानसम्पादक श्रेष्ठलाई निशाना बनाएका छन् ।

कुनै पनि सञ्चार माध्यममा सामान्य त्रुटि नहुने भन्ने हुँदैन। सरकारीदेखि निजी मिडियासम्म प्राविधिक गल्ती, स्रोतको त्रुटि वा सम्पादकीय चुक सहजै पाइन्छ। यस्तो अवस्थामा समाचार हटाएर वा सच्याएर क्षमायाचना गर्ने प्रचलन छ।

तर शाक्यले श्रेष्ठको फेसबुक स्टाटस—‘जनआस्था अनलाइनले अडियोसहित छिट्टै केही ब्रेकिङ न्युज दिनसक्छ! त्यहीँ निहुँमा अरुले दुःख पाउँदा, कसैले भने पावरमा रहेवापत सुखभोग गरेको कथा हो त्यो। धैर्यको फल मीठै होला!’—लाई लिएर आम मानिसमा भ्रम फैलाउने प्रयास गरेका छन्। १४.४ मिनेटको भिडियोमा उनले रास्वपाका नेतृलाई राम्रो देखाउँदै जनआस्थालाई गिराउन खोजेका छन्। साथै रास्वपालाई कमजोर बनाउन न्वारानदेखि बल प्रयोग गरेर जनआस्था र श्रेष्ठ लागिपरेको आरोप समेत लगाएका छन्।

शाक्यको प्रश्न आफैं विवादित बनेको छ—के जनआस्थाले अहिलेसम्म रास्वपाको मात्र समाचार लेखेको छ? सरसर्ती हेर्दा जनआस्थाले एमाले, कांग्रेस, माओवादीलगायत जुनसुकै पार्टीका नेताका बदमासी भण्डाफोर गरेको देखिन्छ। तर शाक्यले यसलाई ‘रास्वपालाई सकाउनै लाग्यो’ भन्ने टोनमा प्रस्तुत गरेका छन्। रास्वपाका सांसदले गलत कदम चाल्दा समाचार नलेख्ने हो भने मिडियाको काम के रहन्छ?

आफूलाई खुङ्खार फ्याक्टचेकर दाबी गर्ने शाक्यले खगेन्द्र सुनारको अडियो उक्त भिडियोमै चेक गरेर देखाए। विभिन्न टुल प्रयोग गरेर उच्च प्रतिशत एआई नभएको देखाएपछि पनि ‘हामी रियल हो भन्न सक्दैनौं’ भन्दै पन्छिए। घुमाउरो पाराले जनआस्थालाई कमजोर देखाउन बनाइएको भिडियो अन्तिमसम्म हेर्दा रास्वपाकै उक्साहटमा तयार पारिएको जस्तो देखिन्छ। नत्र कान्तिपुर, अनलाइनखबर, गोरखापत्रलगायतका मिडियामा भएका त्रुटिलाई समग्र रूपमा किन नल्याउने? किन किशोर श्रेष्ठ र जनआस्थालाई मात्र प्रहार? प्रश्न गम्भीर छ।

जनआस्थाको विगतलाई हेर्ने हो भने २०५७ सालमा तत्कालीन युवराज ज्ञानेन्द्रका छोरा पारस शाहले सवार गाडीले संगीतकार प्रवीण गुरुङलाई किचेर मारेको घटना निर्भीकतापूर्वक सार्वजनिक गर्‍यो। प्रहरी हिरासतमा माओवादी नेता कृष्ण सेन ‘इच्छुक’को हत्या भएको समाचार पहिलोपटक जनआस्थाले नै ब्रेक गरेको थियो।

दरबारभित्रका गोप्य घटना, युवराज दीपेन्द्रसँग जोडिएको काग प्रकरणलगायतका समाचारमार्फत राजसंस्थाको लुकेको अनुहार जनआस्थाले नै छर्लङ्ग पार्यो । राजनीतिक दलका आन्तरिक अनियमितता, सत्तापक्षका नेताहरूको विलासिता र ठूला नेताहरूको दोहोरो नागरिकता तथा पासपोर्ट प्रकरण निरन्तर उजागर गर्दै आयो । विशेष गरी रास्वपा सभापति रवि लामिछानेको दोहोरो राहदानी–नागरिकता र सहकारी ठगी प्रकरण जनआस्थाले नै ल्यायो ।

अझ ताजा र सबैभन्दा ठूलो काम हो।गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन। भदौ २३ र २४ गतेको जेनजी आन्दोलन र विध्वंशको घटना छानबिन गर्न गठित आयोगले करिब ९०७ पृष्ठ लामो प्रतिवेदन तयार पारेर तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको थियो। सरकारले सार्वजनिक नगरेपछि जनआस्थाले पूर्णपाठ सार्वजनिक गर्‍यो। के यो पनि टेकमान शाक्यले फ्याक्ट चेक गरे?

जनआस्थाले शाक्यलाई चुनौती दिएको छ। गौरीबहादुर कार्की आयोगको प्रतिवेदन, राष्ट्रिय मानवअधिकार आयोगको रिपोर्ट, सुधन गुरुङको सम्पत्ति विवरणसम्बन्धी विवाद, रास्वपा सांसद कृष्णकुमार कार्कीको विदेशी महिलासँगको सम्बन्धबारे जनआस्थाले लेखेको समाचार पनि फ्याक्ट चेकको जामा पहिर्याएर असत्य साबित गराउने हो कि?

अन्त्यमा जनआस्थाले स्पष्ट भनेको छ। “फेसबुकको स्टाटस र भूल सुधार गरिसकेका सामग्री उधिनेर हाम्रो निष्ठामाथि गरिने प्रहार सह्य छैन। फ्याक्ट चेकको नाममा आफू अनुकूल सामग्री चयन गर्दै दिइने निष्कर्ष खारेज गरिन्छ।”