गरिबी निवारणको अचुक उपाय भनेर मुलुकभर सहकारीको बाढी लगाइदियो, सरकारले । यस्तो बेथिति होला भन्ने चाँहि जानेन । काठमाडौं उपत्यकाको त के कुरा रु टोलटोल मात्रै होइन घरघरमा सहकारी छन् । तर, ति सहकारीले गरिबी निवारणमा टेवा गर्नुको साटो नवधनाड्यहरु जन्माए ।
ठग लुटेराहरुलाई झन् शक्तिशाली बनाए । अहिले पनि सहकारी चलाउनेहरु मध्ये अधिकांश चलाखि गरेर आ–आफ्नै भकारी भर्न व्यस्त छन् । बचतकर्ता र ऋणीहरुको कहिल्यै उत्थान भएन र यिनले साससम्म फेर्न पाएका छैनन् ।
प्रहरीले गुण्डा नाइके भन्ने गरेका एकाध व्यक्तिहरु कथित इन्काउन्टरमा मारिएपछि मान्छेहरुलाई गलत भ्रममा पारियो, अब गुण्डाराज सकियो भनेर । त्यसो होइन रहेछ, उनीहरुको स्थानान्तरण वा रुपान्तरण भएको रहेछ । हिजो सामूहिक आक्रमण गर्ने, खुँडा हान्ने, डकैती गर्ने र विभिन्न असुलीका धन्दा चलाउनेहरुले सहकारी तथा वित्तीय संस्थाको बर्को ओढेर धन्दा जारी नै राखेका रहेछन् । प्रहरीले भन्ने गरेका गुण्डाहरु त सहकारीमा पो पसेछन् । यसको रहस्योद्घाटन बल्ल भएको छ ।
काठमाडौं उत्यकामा मीठा र आकर्षक नारा राखेर खोलिएका केही सहकारीहरुको लुट धन्दाले प्रहरीले भन्ने गरेको गुण्डाराजलाई पनि चक्मा दिनसक्छ । खप्तड टिभीको खोजबाट यस्ता धेरै रहस्यहरु क्रमशः पर्दाफास हुँदैछन ।
केही समय पहिले बहुचर्चाको विषय बनेका कुलेश्वरको गौतमश्री र सोल्टीमोडको सिभिल सहकारीले सर्वसाधारण लुटेको फेहरिस्त यहाँ भनिरहनु परेन । त्यसैगरी लालीगुराँस सहकारी हुँदै युनिटी काण्डसम्म पनि सबैलाई विधितै छ । त्यत्रो बेइज्जत हुँदा पनि सहकारीहरु सुध्रिएका रहेनछन् । नभन्दै पुतलीसडकमा रहेको सिन्सियर सेभिङ एण्ड को–अपरेटिभ लिमिटेडको ब्रह्मलुट बाहिरिएको छ । त्यसैगरी भक्तपुरको जगाती र काठमाडौंको तीनकुनेमा प्रधान कार्यालय भएको सहकारीलाई जोरपाटी र भक्तपुरको राधेराधेसम्म शाखा बिस्तार गरेको रियल गोर्खाले पनि जनता ठगिरहेका सहकारीको पनि पोल खुल्दै गएको छ ।
यसैगरी सहकारीको बदमासीको सीमा नै नागेको उदाहरण भक्तपुरको एक सहकारीमा पनि देखिएको छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्वर ४ अवस्थित किलेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले अघिल्लो दिन ऋण दिएर भोलि पल्ट नै लामो समय देखि ऋण नतिरेको भन्दै धितो जफतको सूचना निकालेको खुल्न आएको छ ।
किलेश्वर सहकारीले २०७७ पुस १ गते प्रेम कुमार खत्रीलाई ऋण निकासा गर्दै हायर पर्चेजमा स्करपियो गाडी खरिदका लागि रकम दिएको थियो ।
हायर पर्चेजमा खरिद गरिएको गाडीका लागि ऋण पाएकोमा मक्ख रहेका उनलाई पुस २ गते नै सहकारीले तीन महिना देखि ऋणको व्याज र किस्ता तिर्न नआएको भन्दै पत्र काटेर स्करपियो तान्ने सूचना निकालेको रहेछ ।
सोही अनुरूप हाल किस्ता तिर्दा तिर्दैको स्करपियो सहकारीले उठाएर अध्यक्ष आफैले चढ्दै आएको खत्रीले बताए ।
गाडीको किस्ता तिरेको छैन भनेर ऋण लिएको अर्को दिन नै सूचना निकालेछन् र मैले किस्ता तिर्दा तिर्दै नै उनीहरूले २०७९ साल भाद्रमा गाडी उठाएको छ ।
आफूलाई अन्याय भएको भन्दै खत्री हाल अदालत र विभिन्न सरकारी निकायमा धाउनुको विकल्प छैन ।