वि.सं.२०८३ कात्तिक २२ आइतवार

गाउँ पस्यो भिजिट भिसामा मानव बेचविखन गर्ने रोग, सुर्खेतबाट कुवेत पठाइन्छन् महिला

सुर्खेत भेरीगंगा–३ छिन्चु डुँहीखोलाका सुनिल बैगार कतारमा ६ वर्ष बसेर पनि घर पाएनन् । ऋण घट्ला भन्दा उल्टै बढ्यो । ६ वर्ष जोहो गरेर ल्याएको धन छोराको उपचारमा खन्याए ।
भारतको सिम्लामा छोराको उपचारको बहानाले पुगेका उनी अहिले सानोतिनो कामकाज गरिरहेका छन् । उनले यो बेला खेतको धान भित्र्याउने बेला भयो भनेर असोज २१ गते श्रीमती खगिसरालाई घर पठाए । श्रीमती घर पुगिन् तर, घर पुगेकी श्रीमती भिजिट भिसामा कुवेत पठाउनेको चुंगुलमा परिन् ।

तीन छोराछोरीकी आमा खगिसरा जीवनको मध्यान्तरतिर कुवेतमा के रोजगारी गर्न जाने होलिन् । दलालले नै पासपोर्ट बनाइदिएपछि उनी कुवेतमा मनग्य पैसा कमाउने पाइने भन्दै उत्साही छिन् । श्रीमान् घर परिवारसँग चिढिन्छिन् । मन खुब परदेशी भएको छ, उनको । केही दिन त श्रीमान्को नम्बर नै ब्लक गरिन् ।

छोरी लक्ष्मी १७ वर्ष पुगिसकिन्, सपना १२ वर्ष र छोरा भविष्य ६ वर्षमा उक्लिए । तर, आमा धन कमाउन विदेश जाने तरखरमा छिन् । श्रीमान सुनिल भन्छन्, ‘कुवेतमा त महिलाले नरक भोग्नु पर्छ भन्ने सुनेको छुँ, जसरी भए पनि रोकिदिनुस् सर ।’

धान भित्र्याउने बेला भयो भनेर आफुले भारत नेहरुवा चौपाल सिम्लाबाट घर पठाएकी श्रीमती कुवेत जाने कुराले उनलाई अशान्त बनाएको छ ।

९ महिना सिम्लामा बस्दा विदेश जाने कुनै कुरा नगरेकी खगिसराले पासपोर्ट बनाउनासाथ आफुलाई झन् धेरै तनाव भएको उनको भनाइ छ ।

खगिसराको पासपोर्ट बनाइदिने र भिजिट भिसामा कुवेत पठाउने जिम्मा लिने चाहिँ सुर्खेत गुर्वाकोट ९ बोटेचौरका लालबहादुर ओली हुन् । आफु सुर्खेत मै भए पनि उनले काठमाडौंमा काम गराइरहेका छन् ।

उनले पढ्न बसेका भान्जालाई समेत यो काममा प्रयोग गरेका छन् । भान्जालाई खटनपटन गरेर खगिसराको पासपोर्ट बनाउन लगाएका ओलीले आफुहरुले यो काम पहिल्यैदेखि गर्दै आएको बताए ।

आफ्नो श्रीमतीको कोहलपुरमा उपचार गराउने क्रममा अस्पताल मै खगिसरासँग भेट भएको र आफुलाई ऋण चुक्ता गर्नका लागि विदेश जानै पर्ने बाध्यता रहेको सुनाएपछि आफुले सहयोग हुन्छ भनेर कुवेत पठाइदिने कुरा गरेको ओलीले सुनाए ।

ओलीका अनुसार हाल काठमाडौंमा रहेकी खगिसरा आफ्नै दाइको जिम्मामा छन् । ओली भन्छन्, ‘खगिसराको काठमाडौं जाने भाडा मैले नै हालिदिएको हुँ । पासपोर्ट निकाल्ने खर्च पनि भान्जालाई मैले नै दिएको छुँ । विदेश पठाउने म्यानपावर छैन । उतैबाट भिटिज भिसा आउँछ । त्यसैमा पठाउने हो । काम लगाइदिने अफिस हाम्रै नेपालीले चलाउँछन् । त्यही अफिसले घर वा कम्पनी काममा पठाउने हो ।’

श्रमिक सप्लाईको अफिस चलाउने आफ्नै आफन्तहरु रहेको बताउने ओलीले १२० कुवेती दिनार तलव हुने गरेको जिकिर गर्छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसामा जानेहरुमाथि कडाई गरिएको भए पनि उनीहरुले लाइन मिलाएर पठाउने गरेका छन् ।

४५ वर्ष कटेकालाई कुवेतबाट भिजा निकाल्न कठिनाई भए पनि बढी रकम हालेर किन्ने र त्यो रकम कामदारकै ठाउकोमा हाल्ने गरेको तथ्य खुलेको छ । यताबाट पठाउँदा डेढ दे’िख दुई लाख खर्च लाग्ने बताएका ओलीले कुवेतमा रहेको श्रमिक सप्लायर्स कम्पनीबाट ५ देखि ७ हजार मात्रै कमिसन आउने बताए ।

घुमाउरो रुपमा ओलीले घरेलु महिला श्रमिक बेचेको कमिसन आफुहरु भएको गाउँमै आइपुग्ने स्वीकारे । उनी भन्छन्, ‘जाँदाखेरी अलिअलि खर्च त भइहाल्छ । मेडिकल कडा छ, भिजा पनि ल्याउन मुस्किल छ । भोलि उता पुगेर मेडिकल हुँदा कुनै समस्या देखियो भने फिर्ता पठाइदिन्छ ।’
खगिसराको विषयमा निकै किचकिच भएको भन्दै ओलीले भने, ‘अहिल्यै तनावमा परेर पठाउँदा राम्रो हुँदैन है । तनाव गरेर पठाउँदिन सर । चुरोट, जाँड खाने मान्छेलाई पठाउन्न म भनेको उहाँका आफन्तले पठाइदिनु भन्ने दबाब दिएका छन् भने महिला स्वयंले पनि निकै जिद्दी गरिरहनु भएको छ ।

मैले भिजिटमा पठाउने काम गर्छु, ढाँट्दिन ।’ खगिसराले दलालले कुवेतमा राम्रो कमाई हुन्छ भनेपछि ऋण चुक्ता गर्ने लोभले भिजिट भिसामा कुवेत जान तयार भएको स्वीकारिन् ।