राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र मौलाएको लम्पसारवाद थप छताछुल्ल भएको छ ।
जापानका लागि राजदूत प्रस्तावित जिज्ञानकुमार थापाको नाम तीन पल्ट अस्वीकृत हुँदा समेत निर्णय उल्ट्याउन लगाउने खेल खण्डले रास्वपाभित्रको लम्पसारवाद थप छताछुल्ल भएको हो ।
डलर तस्करी गर्ने र हुण्डी कारोबारलाई थप स्थापित गर्न वर्तमान सभामुख डीपी अर्यालकै डिजाइनमा जिज्ञानलाई राजदूत प्रस्तावित गरिएको खुलासा हुनुका साथै सभामुख अर्यालकै आदेशमा संसदीय सुनुवाई समितिले तीन पल्ट अस्वीकृत गरिसकेका जिज्ञानबारेको निर्णय उल्ट्याएर होल्डमा राखिएको तथ्य बाहिर आएको छ ।
बाहिर शाकाहारी भन्ने, भित्र मान्छेको रगत पिउने, खगेन्द्र सुनारकाे अडियो कहाँसम्म पुग्यो ?
सभामुख अर्यालले आफुसँगै रास्वपा सभापति रवि लामिछाने समेतलाई फोन गर्न लगाएर पटक पटक बैठक रोक्न लगाई यस्तो कायदा गरेका हुन् । कविन्द्र बुर्लाकोटी बाहेकका सबै रास्वपा सांसदहरु जिज्ञानको विपक्षमा उभिएपछि अर्यालले संसदीय सुनुवाई समितिबाटै हटाउने र सुनुवाई समितिको पुर्नगठन गर्ने धम्की दिएको समितिका एक सदस्यले बताए । ती सदस्यलाई सुरुमा डलरको प्रलोभन देखाएको र आर्थिक प्रलोभनमा पर्न नमानेपछि समिति सदस्यबाटै हटाइदिने धम्की अर्यालले दिएको समेत खुलेको छ ।
जिज्ञानलाई अनुमोदन गर्नै पर्नेमा कानूनमन्त्री सोविता गौतमले समेत संसदीय सुनुवाई समिति सदस्यहरुलाई दबाब दिएको बताइँदै छ । उनलाई पनि सभामुखले नै दबाब दिन लगाएको तथ्य छ ।
जापानको पिआर लिएका र घर परिवारसमेत उतै रहेका जिज्ञानले सुनुवाईका क्रममा देशको भन्दा परिवारको रक्षा पहिलो प्राथमिकता भएको बताएपछि रास्वपाबाट समिति सदस्य रहेका अधिकांश सांसदले यस्ता व्यक्तिलाई कुनै पनि हालतमा अनुमोदन गर्न नहुने बताएका थिए ।
तर, पार्टी सभापति लामिछाने र सभामुखले सांसदहरूलाई पालैपालो फोन गरेपछि ३ चोटीसम्म रद्द गर्ने भनी गरिएको निर्णय उल्ट्याएर होल्डमा राखिएको समिति सदस्यहरुले बताएका छन् ।
जिज्ञानसँग जापानको स्थायी बसोबास अनुमति (पीआर) रहेको, अहिले पनि विभिन्न व्यवसायमा संलग्न रहेको र विगतमा त्यहाँको सरकारी सेवामा आवद्ध रहेको भन्दै उजुरी परेको थियो । उनलाई राजदूत बनाउँदा स्वार्थको द्वन्द्व हुने भन्दै नाम अनुमोदन नगर्न माग गरिएको थियो ।
जापानको सरकारी विश्वविद्यालयमा प्राध्यापकका रूपमा काम गरेको र स्थानीय सरकारको गभर्नरको सल्लाहकारका भएर जिम्मेवारी सम्हालेको विषय पनि सुनुवाइमा उठेको थियो । यस्तो सुविधा त्यागेको कम्तिमा १० वर्ष नपुगेको व्यक्ति सरकारी नियुक्तिका लागि योग्य नहुने कानुनी व्यवस्था छ । तर, उनले पिआर त्यागेकै ४ महिनामात्रै भएकाले राजदूतका लागि कानुनतः उनको योग्यता नपुग्ने बताइएको छ ।
श्रीमती र छोराछोरीको जापानमा पीआर रहेको विषय जिज्ञानले सुनुवाई कै क्रममा स्वीकार गरे भने सम्पत्ति र आर्थिक कारोबारका सम्बन्धमा समेत चित्तबुझ्दो जवाफ दिन सकेनन् । समितिले उनको नाम होल्डमा राख्ने निष्कर्ष निकाल्नुअघि आर्थिक कारोबारसँगै समितिले पीआर त्यागेको निस्सा पेश गर्न भनेको छ ।































