वि.सं.२०८१ असोज २६ शनिवार

जनसचेतन सहकारी काण्ड : ‘बाहिर ब्राण्ड, भित्र बबण्डर’, आफ्ना गल्ती छोप्न ड्राइभरलाई डण्डा

धान खाने मुसो, चोट पाउने भ्यागुतो

हिजो आज जताततै सहकारीको बेथिति मात्रै सुनिन्छ । कमाउ धन्दाको रुपमा खोलिएका सहकारी सोझा साझा जनतालाई लाटलुट् पारेर भाग्नु नौलो कुरा भएन । तर, वर्षौँदेखि स्थापित तथा सम्मानित सहकारीको समेत धोती फुस्किएको देख्नु, सुन्नु आश्चर्य’कै वात हो ।

सहकारीका थप समाचारहरु ….

बैंकका थप समाचारहरु…

त्यसरी आफ्नो नाक काट्ने स्थापित सहकारीको नाम हो, ‘जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड’ । दोलखामा प्रधान कार्यालय रहेको यस संस्थाको कुल सम्पत्ती अहिले कै अवस्थामा पनि दुई अर्ब ३३ करोड बढी छ । नेपालको सहकारी इतिहासमा अब्बल दरिएको जनसचेतन सहकारीहरुको एसियाली परिसंघबाट सर्टिफाइड एसीसीईएसएस सिल्भर ब्राण्ड प्राप्त सहकारी हो ।

स्थापनाको ३०औँ वर्षमा टेकेको संस्था अहिले भने खिचातानी र डनवाद’ले बर्बाद हुँदै गएको छ । बाहिर हेर्दा ब्राण्ड, भित्र बबण्डरको स्थितिमा छ, जनसचेतन । एउटा संगमर्मरभित्रको बेथिति सवारी चालकको बर्खास्तीमा आएर पटाक्षेप भएको छ । र, यसै घटनाबाट उदाङ्गिएको छ, सञ्चालक एवं व्यवस्थापकहरुको अनुहार । सहकारीभित्र पनि कस्तो राजनीतिक खिचातानीको महाव्याधि ?

हत्तेरिका, अति गर्नु अत्याचार नगर्नु भन्ने सामान्य उक्ति समेत कस्तो ख्याल नगरेका, विद्वानहरुले । यत्ति हेक्का नभए आफ्ना पार्टी अध्यक्ष केपी ओलीलाई प्रशिक्षणको प्रस्ताव गर्दा पक्कै मनासिव हुने थिएन । अनि, ‘धान खाने मुसो, चोट पाउने भ्यागुतो’ चाँहि किन ? आफ्ना गल्ती र कमजोरीको पटाक्षेप हुने डरले ‘ड्राइभर’लाई धक्का ! यो कुनै तरिका हो ? आफ्ना सय कमजोरी छोप्न निम्छरो ड्राइभरलाई डण्डा ? आफ्नो कोटको धूलो टक्टकाउनुको साटो अर्कालाई चोर औँला ? वाह, सीईओ सा’व, वा अध्यक्ष ज्यू ।

चोट पाउने भ्यागुतो
जग्गा प्लटिङदेखि संस्थाभित्रको बेथिति सार्वजनिक हुने डरले जनसचेतनले सवारी चालक बैतेश्वर–५ का रामकाजी मिजारलाई जागिरबाट वर्खास्त गरेको चिठी काट्छ, २०७९ चैत ५ गते । अनि उनलाई हटाउन एक दिन पहिले मात्रै बैठक बस्छ, ४ चैतमा । यो हामीले भनेको होइन, जनसचेतनको कारबाही चिठीले नै बोल्छ । अनि बैठकको निर्णय कारबाहीको चिठीमा उत्रिनलाई घडीको सुईले २४ घण्टे फन्को लगाउन समेत भ्याउँदैन । वाह ! क्या द्रूत गतिको काम । २४ घण्टा नवित्दै जागिर चट् । यो हो नि त, द्रूत गतिको सेवा । यस्तो छिटो छरितो नेपालका सबै निकाय चलेको भए हुने नि ! जहाँ, सेवाग्राहीले महिनौँ वा वर्षौ धाउनु पर्ने थिएन । यस्तो कुरो जनसचेतनबाट नेपालका अड्डा, अदालतले किन सिक्दैनन् ?

अनि सञ्चालक समितिको निर्णय भन्दै चिठीमा दस्तखत धस्काउन हतार गर्ने ‘माननीय’ प्रमुख कार्यकारी अधिकृत नवराज दाहाल सर’लाई श्रम कानूनको राम्रै हेक्का हुनु पर्ने हो । २०७५ जेठ १६ गतेदेखि सवारी चालकमा कार्यरत रामकाजी करार वा अस्थायी कर्मचारी थिएनन् ।

प्रमुख कार्यकारी अधिकृत नवराज दाहाल

उनी स्थायी कर्मचारी थिए भन्ने कुरा विर्सिएको कि, दादागिरी देखाएको ? जनसचेतनको हाकिम हुनुभन्दा पहिले काठमाडौंमा बेकामे भई डाङडाङ डुङडुङ गर्दै हिँडेको व्यहोरा चरितार्थ गर्न खोजेको हो भनौँ भने सीईओको कुर्सीले त्यस्तो गर्न नदिनु पर्ने । कि होइन ? अध्यक्ष हेमन्त कुमार चौलागाईं सर । सञ्चालक समितिले ठूलालाई चैन, सानालाई ऐनको शपथ लिएको छ र ? हाकिमलाई यसरी छाडा छोड्न मिल्छ ?

रामकाजी स्थायी भइसकेका कर्मचारी हुन्, भनेर अध्यक्ष चौलागाईं आफैँले खप्तडटिभीसँग स्वीकारेका छन् । र, त्यो कुरा झुठा हो भने त्यसको भागिदार अध्यक्ष चौलागाईं नै हो । ‘चालक भएर भनेको मानेन, मनोमानी गर्दै हिँड्यो । सञ्चालक समितिका कुरा कर्मचारी, कर्मचारीका कुरा सञ्चालक समितिलाई लगाउने । गाडिमा चढ्नै असुरक्षित महसुस हुने’लगायतका आरोपले रामकाजीलाई पदमुक्त गरियो । त्यसैको गर्भगृहमा आफैंमाथि विषवमन् गर्ने गोमनहरु डस्न तयार भएर बसेको अलिकति पनि चाल पाउनु अध्यक्ष चौलागाईंको मूर्खता हो । जुन भाषा सीईओले बोलिरहेका छन् । त्यसैमा लय मिलाउने बाहेक अध्यक्षसँग अन्य कुनै विशेषाधिकार वा सुझबुझको स्वविकेकीय हैसियत हुँदैन र ?

सञ्चालक समितिको ३०औँ बैठकले पदबाट बर्खास्त गर्ने निर्णय गरेको भनी जसरी रामकाजीलाई हठात चिठी थमाएर निकाला गरिएको छ, त्यसअघि उनलाई एकपल्ट पनि सफाई वा सुधारको मौका दिन आवश्यक ठानेन र, सञ्चालक समितिले ? अनि, यसभन्दा पहिले उनीमाथि कति उजुरी वा सिकायत थिए, बोर्डमा ? त्यसको के रेकर्ड छ, सञ्चालकहरुसँग ? हिजो त्यही रामकाजी सोझो, इमानदार देखियो । जसको मूल्याङ्कनले उनलाई स्थायी गरियो । स्थायी भएर त्यही ग्रेड अनुसारको सुविधा लिइरहेका उनको नियुक्तिपत्र लुकाएर तपाईंका सीईओले कुन अवार्ड हात पारे ?

सञ्चालक समितिलाई थाहा नभएको असली कथा
सञ्चालक समितिलाई रामकाजी पूर्व अध्यक्षतिर लागे भनेर हल्ला पिट्ने ग्याङ् सीईओ कै हो । यस्ता गएगुज्रिएका काम गर्ने ‘काइते’ कर्मचारी हुन्, सीईओ नवराज दहालको साला पर्ने शिव खतिवडा ।

खतिवडा खराब काम गरेर पनि आफ्नो लाग्छन्, सञ्चालक समितिलाई । सीईओलाई त आफ्नो सालो केटो प्रिय नलाग्ने कुरै भएन । जनसचेतनका पूर्व अध्यक्ष, एमाले विभाजनपछि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा छन् । संस्थाको डाडू पन्यू अहिले पनि एमालेजनकै हातमा छ ।
जनसतेतनभित्रका एमालेजन त्यसै शंका गर्छन्, कतै यो रामकाजी पनि समाजवादीको झण्डा बोकिरहेका पूर्वअध्यक्षको मान्छे त होइन भनेर । ति विचरा, रामकाजी त्यसै पीडित छन् । उनलाई सीईओका साला शिवले चुइँकै केहि त गर्न दिँदैनन् । स्थायी रुपमा रामकाजी चालक हुँदा–हुँदै संस्थाको गाडी मनोमानी हुइँकाउने शिव खतिवडाको बयान गरि साध्य छैन । र, रामकाजीले त्यसै आफ्नो फेसबुक वालमा नातावाद र कृपावादको कुरा उल्लेख गरेका होइन रहेछन् ।

शिवले चरिकोट गएकाबेला गाडी ठोक्काए । डेन्टिङपेन्टिङ चरिकोटमा गराएर बिल चाँहि सीईओका भिनाजुको मैनापोखरीस्थित ग्यारेजको पेश गरेको भेटियो, आर्थिक प्रशासन शाखामा । बिलको रकम धेरै ठूलो नहोला तर, तरिका ठीक भएन नि ! अनि सहकारीको बाइक लिइएर डेटिङ हिँडेका उनले एक पल्ट शैलुङ खोलामा बाइक गुल्ट्याए । त्यो बाइक बनाउने खर्च पनि संस्थाबाटै व्यहोरेको देखिन्छ ।

त्यति मात्रै होइन, कुनै बेला सहकारीकै गाडी हुइँकाएर ठमेलको दोहोरी छिरेका नवराज र शिवले परस्त्रीलाई ब्याड’टच गरेको भन्दै लातका लात खाएका थिए । जुनबेला तिनै रामकाजीले बचाएका थिए, यि दुई उश्रृंखलहरुलाई । अहिले त्यो त सर्लक्कै विर्से होलान् यिनले । त्यति मात्रै होइन, सञ्चालक समितिलाई यो पनि थाहा छैन कि पटक–पटक गाडी पन्चड गराएर सुटुक्क सीईओको झोलामा साँचो हाल्दिएर रामकाजीलाई गाली खुवाउने शिव खतिवडा अहिले पनि सीईओ कै काँध चढेर हिँड्छन् । ५ वर्ष चालक भएर बसेका रामकाजीले रात अदरात कयौँ किलोमिटर सवारी हाँके तर, अहिलेसम्म कतै पनि गाडी सिर्र कोरेको रेकर्ड छैन ।

अति भएपछि उनले १ महिनाअघि मात्रै सञ्चालक समितिका केही पदाधिकारीलाई आफु अब धेरै थिचोमिचो सहन नसक्ने अवस्थामा पुगेको जानकारी गराएका थिए । यद्यपि, उनले जागिर छोडिहाल्छु चाँहि भनेका थिएनन् । सञ्चालक समितिका पदाधिकारीले उनको कुरा सुन्न आवश्यक ठानेनन् । तर, सीईओले आफ्ना गल्ती ढाकछोप गर्न लगाएको चुक्ली भने चाँडै सुन्यो, सञ्चालक समितिले । यो बेला उपाध्यक्ष र सचिवले मिजारमाथी अन्याय भएको भनेर सान्त्वना दिए पनि अध्यक्ष र सीईओ कठोर बनेर निर्णय कार्यान्वयन गर्न लागि परेका छन् ।

चुरो कुरो
काभ्रेको नालामा जग्गा प्लटिङ गर्ने ग्याङ पनि नवराज र शिव कै हो । प्लटिङ गर्ने भनेर सीईओ नवराजले सहकारीबाट करोडौं पैसा झिके । प्लटिङ ग्याङमा कोषाध्यक्ष भरत केसी, पूर्व सह–सचिव नारायणप्रसाद दहाल पनि संलग्न छन् । चालक रामकाजीलाई पनि शहरमा जग्गा किन्ने रहर जाग्यो । उनले गरेको आग्रहलाई सुरुमा सीईओले स्वीकारेनन् । पछि फेरि ल मिलाउँला भने ।

रामकाजीलाई जग्गा लिन ३० लाख चाहियो । पैसो थिएन । सहकारीबाट पहिल्यै ९ लाख लिएर भूकम्पले भत्काएको घर बनाएका उनलाई तत्काल सहकारीले ३० लाख पत्याउने कुरै भएन ।
उनको तिर्ने आँट नभएपछि सहकारीबाट ऋण नपाउने पक्का थियो । तर, सीईओले कुरो घुमाए । अहिले प्लटिङमा डोजर लगाउन ५ लाख जति हालिराख, २५ लाख सहकारीबाट मिलाउँला ।

त्यही जग्गा धितो राखेर तिमिले पछि तिर्ने गरी कुरो मिलाउन मिल्छ भनेपछि रामकाजीले ५ लाख नगद सीईओलाई थमाए, २०७८ को दशैँ आउनु भन्दा करिब १५-२० दिनअघि । उनले त्यो बेला प्रमाणका लागि भन्दै सीईओलाई ५ लाख दिएको भिडियो पनि खिचेका छन् । तर, अहिलेसम्म न सीईओ ग्याङले त्यहाँ डोजर लगायो न रामकाजीले पाँच लाख फिर्ता पाए । त्यही पैसो माग्दा पोल खुल्ने डरले रामकाजीलाई सीईओ नवराजले जागिरबाटै हुत्याइदिए । यत्ति कुरो चाल नपाउने सञ्चालकहरुले के सहकारी हाँक्नु ? हैट ।