काठमाडौं । विलासी जीवनले मान्छेलाई कति अन्धो बनाउँदो रहेछ भन्ने थाहा पाउन एक पल्ट नेपालबाट विभिन्न मुलुकमा भइरहेको मानव बेचविखन श्रृंखला पढे पुग्छ ।
सजिलै बेच्न र बेचिन तयार हुने यो विलासीताको भोक कस्तो हो ? नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको तदारुकताले मानव बेचविखनको डरलाग्दो दृष्य हाम्रो सामु ल्याएको छ । र, विचौलियाले भिजिट भिसाको पासोमा पारेर सोझा नागरिकलाई कसरी दोहोरो लुट्छन् भन्ने दृष्यहरु अझ डरलाग्दा छन् । ति दृष्यहरुको पर्दाफास खप्तडटिभी डटकमले अब क्रमशः गर्दै जानेछ ।
भिजिट भिसाको आवरणमा नेपालबाट विभिन्न मुलुकमा भइरहेको मानव बेचविखन रोक्न ब्यूरोले अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डेस्क नै राखेको छ । विदेशमा धेरै कमाउन सकिने र विलासी जीवन विताउन सकिने प्रलोभनमा पारी विभिन्न तरिका अपनाई विचौलियाहरुले मानव बेचविखनको सञ्जाल विस्तार गरेका छन् ।
सबै भन्दा जोखिममा घरेलु श्रमिक महिला छन् । सबैभन्दा बढी बेचविखनमा पर्ने नै घरेलु श्रमिक महिला रहेको तथ्य ब्यूरोले फेला पारेको छ । त्रिभुवन विमानस्थलबाट भिजिट भिसामा खाडी मुलुक लगिएका घरेलु श्रमिक महिलालाई शेखहरुले ५ हजार डलरसम्म तिरेर किन्ने गरेका छन् । विभिन्न खाले शोषणमा पर्ने घरेलु श्रमिक महिला केही गरी विरामी परे अथवा शारीरिक रुपमा अशक्त भएपछि पहिलेको भन्दा दोब्बर रकम तिरे मात्रै मुक्त गर्ने गरेको गम्भीर रहस्य ब्यूरोको अनुसन्धानबाट खुलेको छ ।
पहिलो नम्बरमा घरेलु श्रमिक महिला जोखिममा छन् भने दोस्रो नम्बरमा माइग्रेन वर्करहरु जोखिममा छन् । भिजिट भिसाको आवरणमा त्यसरी विभिन्न मुलुक लान खोजिएका ७०० जना मध्ये १४४ जनाको पासपोर्ट अहिले पनि ब्यूरोमा छ । १२१ वटा पासपोर्ट थप अनुसन्धानका लागि ब्यूरोले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीलाई बुझाएको छ ।
यस्तै, ४८७ वटा पासपोर्टधारीलाई ब्यूरोले अब यस्तो चङ्गुलमा नपर्न भनी सम्झाई बुझाई पठाएको छ ।
भिजिट भिसामा जान वार्षिक ४ लाख आय गर्ने गरेको बैङ्क स्टेटमेन्ट, विदेशमा आफुलाई रेखदेख गर्ने एकाघरको वा नातेदार रहेको ‘नाता प्रमाणित’, आउने जाने र बस्ने सेड्यूल सहितको होटल बुकिङ र कोभिडको क्यूआर कोड अनिवार्य गरिएको छ । तर, त्यो सबै फर्जी बनाएर पठाउने गिरोह सक्रिय छ ।
त्यसमा होटल सञ्चालकदेखि ट्राभल एजेन्सी, पेट्रोलपम्प सञ्चालकसम्म संलग्न रहेको तथ्य खुलेको छ । जसमा राजनीतिक दलका कार्यकर्ता समेत मुछिएका छन् । ब्यूरोले यो जालोको वृहत स्केच तयार पारेको छ । र, ति सबैको कुण्डली उतारेको छ । तर, तिनलाई जोगाउन विभिन्न तहबाट व्यापक दबाब आइरहेको छ ।
ब्यूरोले त्रिभुवन विमानस्थलमै डेस्क राखेपछि भिजिट भिसाको आवरणमा मानव बेचविखन गरी मनग्य कमाउने विचौलिया तथा कर्मचारीहरुको दिमाग खराब भएको छ । उनीहरु अहिले ब्यूरोले राखेको डेस्कको विरोध गरिरहेका छन् । तर, ब्यूरोले भिजिट भिसामा लिगल प्रोसेसबाट जानेलाई कुनै अवरोध नगरेको र भिजिट भिसाको आवरणमा फर्जी कागजात बनाई विदेश पठाउनेहरुको पाता नफर्काइ नछोड्ने दृढ संकल्प लिएको छ । र, ब्यूरोले वैदेशिक रोजगारी एवं भ्रमण भिसाको आवरणमा हुने अपराध रोक्न प्रोएक्टिभ मुभमेन्ट नै चलाएको छ ।