गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याको १९ वर्ष पूरा भएर २० वर्ष लागेको छ । आमा गंगामाया अधिकारी अहिले पनि न्यायको पर्खाइमा छिन् भने बुबा नन्दप्रसादको न्याय कै संघर्षका क्रममा २०७१ मै निधन भइसकेको छ ।
निधनको ९ वर्ष वितिसके पनि नन्दप्रसादको अन्तिम दाहसंस्कार हुन सकेको छैन भने गंगामाया वीर अस्पतालको शय्याबाट अहिले पनि न्यायका लागि गुहार मागिरहेकी छन् । तत्कालीन विद्रोही माओवादीले नै चार पल्ट सरकारको नेतृत्व गरिसकेको अवस्था छ भने गंगामायाले न्यायको लडाइ लडेको २० वर्षको अन्तरालमा १३ वटा सरकार फेरिएका छन् । तर, न्यायको अवशान भएको छ ।
फुजेलबाट चितवन रत्ननगरको जयमंगलामा रहेका हजुरबुबा र हजुरआमालाई भेट्न गएका बेला तत्कालीन विद्रोही माओवादी कार्यकर्ताले कृष्णप्रसादलाई सुराकीको आरोपमा नियन्त्रणमा लिएर २०६१ जेठ २४ गते रत्ननगरमा गोली हानी हत्या गरेका थिए।
हत्यालगत्तै कृष्णप्रसादका बाबु नन्दप्रसादले जेठ २६ मा चितवन प्रहरीमा उजुरी दिएका थिए। २०६२ मंसिर २६ मा कृष्णप्रसादका दाजु नूरप्रसादले १३ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिए । २०६९ पुस ३ मा महान्यायाधिवक्ता कार्यालयले कृष्णप्रसाद अधिकारी हत्याको मुद्दा प्रक्रिया बन्द गर्ने निर्णय गरेको थियो । अधिकारकर्मीको दबाबपछि सरकारले मुद्दाबारे अनुसन्धान गर्न चितवन प्रहरीलाई निर्देशन दिएपछि मुद्दा दर्ता भएर अदालती कारबाही प्रक्रिया अघि बढ्यो । अधिकारी हत्याको कर्तव्यज्यान मुद्दा ०७० चैत ३० गते चितवन जिल्ला अदालतमा दर्ता गरिएको थियो। जतिबेला सुशील कोइराला प्रधानमन्त्री थिए ।
प्रतिवादीहरूलाई जन्मकैदको माग राखेर मुद्दा दर्ता गरिएको थियो । त्यस मध्ये १२ जनाले सफाइ पाएका छन् । १२ जनाले हत्याको कानुनतः स्वीकार्य प्रमाण (लिगल एड्मिसेबल इभिडेन्स) अभावमा सफाइ पाएको भनिएको छ । चितवन जिल्ला अदालतका तत्कालीन मुख्य न्यायाधीश कुलप्रसाद शर्माले पूवाग्रपूर्ण फैसला गरेका कारण न्यायको अवशान हुन पुगेको आरोप गंगामायाको छ । यो प्रकरणमा अहिले सर्वोच्च अदालतमा पुनरावलोकनको मुद्दा विचाराधीन छ ।
जिल्ला अदालतबाट छविलाल पौडेल, भीमसेन पौडेल, परशुराम पौडेल, कालीप्रसाद अधिकारी, भीमलाल अधिकारी, सीता अधिकारी, मेघनाथ पौडेल, जानुका पौडेल, सुभद्रा तिवारी, विष्णु तिवारी, रामप्रसाद अधिकारीलगायतले सफाइ पाए । ‘प्रतिवादीहरूले कृष्णप्रसादलाई कर्तव्य गरी मारेको भन्ने शंकारहित प्रमाणबाट अभियोग दाबी पुष्टि हुन आएको नदेखिँदा आरोपित कसुरबाट सफाइ पाउने ठहर छ’ भनी जिल्लाले फैसला गरेको देखिन्छ ।
मुद्दाका १३ जना प्रतिवादीमध्येका एक रुद्र आचार्य अहिले पनि आयरल्याण्डमा लुकेर बसेका छन् । ‘गोली प्रहार गरेको भनिएका प्रतिवादी आचार्य अदालतमा पछि हाजिर भए वा पक्राउ परेका बखत यसै मिसिलबाट कानूनबमोजिम कारबाही हुने’ भनी फैसलामा भनिएको छ । साबिकको मुलुकी ऐन अदालती बन्दोबस्तको १९० नम्बर र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को कानुनी व्यवस्थाबमोजिम उनको हकमा मुद्दा मुल्तबीमा राख्ने फैसला छ ।
छोराको स्मृति दिवसमा के भनिन् गंगामायाले ? (हेरौँ भिडियोमा)