बझाङ जिल्लामा सादा पोशाकमा परिचालित घुमुवा प्रहरीका गतिविधि दिनप्रतिदिन विवादास्पद बन्दै गएका छन्।
‘हप्ता असुली’ गर्ने, जुवातास सञ्चालनमा मिलेमतो र होटल–पसल व्यवसायीलाई धम्क्याएर रकम माग्ने गरेको आरोप घुमुवा प्रहरीमाथि लागेको हो।
अपराधको सूचना संकलनका लागि राखिएका घुमुवा प्रहरी संजय थापाले एक होटल व्यवसायीसंग ४ हजार ५ सय रुपैयाँ घुस मागेको अडियो प्राप्त भएको छ ।
यस्तै अर्का घुमुवा प्रहरी भुबन खड्काले पनि बझाङ जिल्लामा जुवातास खेलाउने र उनिहरूबाट पैसा असुली गर्ने गरेकोे उच्च स्रोतले बताएको छ ।
पछिल्लो समयमा बझाङ घुमुवा प्रहरीको ‘हप्ता असुली’ लगायतका कामले स्थानीयवासी दिक्दार छन् ।
स्थानीय त्रसित, प्रहरी मौन
बझाङमा रहेका व्यापारी र होटल व्यवसायीहरू घुमुवा प्रहरीका गतिविधिबाट त्रसित देखिएका छन्।
पीडित व्यवसायीहरूको भनाइअनुसार, प्रहरीको आडमा चल्ने घुमुवाले नियमित ‘सुरक्षाशुल्क’ असुल गर्ने गरेका छन्।
रकम नदिए व्यवसायमै अनावश्यक झमेलामा पार्ने जस्ता धम्की दिने गरेको स्थानीयवासीले बताएका छन्।
प्रहरी प्रशासनको ढिलासुस्ती
जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी खगेन्द्र धमलाले यस विषयमा छानबिन गर्ने बताए पनि अहिलेसम्म ठोस कारबाही भएको छैन।
प्रहरी प्रशासन भित्रै मिलेमतो भएको आशंका स्थानीयले व्यक्त गरेका छन्।
प्रहरी प्रमुख डीएसपीले भने, “अभियोग प्रमाणित भएअनुसार कारबाही हुन्छ,” भन्दै आश्वासन दिएका छन्।
प्रदेश प्रहरी प्रमुखको प्रतिक्रिया
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) डम्बर बहादुर विश्वकर्माले “प्रहरी संगठनभित्र कोही कसैले गैरकानूनी काम गरेको पाइएमा कडाभन्दा कडा कारबाही हुन्छ,” भनेका छन्।
घुमुवाको प्रतिक्रिया
घुमुवा प्रहरी संजय थापाले आफू निर्दोष रहेको दाबी गरेका छन्। तर, उनले खप्तडटिभीसँग कुरा गर्दा उल्टै धम्की दिँदै, “मलाई कारबाही भयो भने तपाईंलाई पनि कारबाहीमा हुन्छ,” भन्ने धम्कीपूर्ण अभिव्यक्ति दिएका छन्।
बझाङमा घुमुवा प्रहरीको थप रियालिटी अर्को श्रृंखलामा : सम्पादक