वि.सं.२०८२ मंसिर १८ बिहीवार

जन्मदिन : संस्कार र विकृति..!

पृथ्वीमा भएका हरेक प्राणीको जन्ममिति हुन्छ । प्रथम पटक पृथ्वीमा आएको दिन हो जन्ममिति । जन्ममितिको आधारमा बार्षिक रुपमा मनाइने बार्षिक उत्सव जन्मदिन हो । जन्ममितिकै आधारमा उमेर अनुमान गर्न सकिन्छ । मानव जिवनमा यसको ठुलो महत्व रहेको छ । उमेरकै आधारमा मानिसको रहनसहन हुन्छ । विशेषगरी जन्मदिन नेपाली पात्रो तथा अंग्रजी पात्रोको आधारमा मनाउने परम्परा छ । तर जन्मदिन मनाउँदा जन्म तिथीको आधारमा मनाउनु उत्तम मानिन्छ ।

ज्योतिष शास्त्रका अनुसार अरु मितिमा भन्दा जन्म तिथिमा जन्मदिन मनाउँदा जन्मदिनको कर्मवाट हुने फल प्राप्त हुन्छ ।

जन्म तिथीमा नक्षेत्र, तथा अधिकांश ग्रहरुको उत्तम संयोग परेको हुन्छ त्यसैले जन्मदिन मनाउँदा तिथिकै आधारमा मनाउन उत्तम मानिएको छ । जन्मदिन भन्नाले केक काट्ने, साथिहरुसंग शुभकामना आदान प्रदान गर्ने, पार्टि दिने, नाचगान गर्ने अनि गिफ्ट प्राप्त गर्ने भन्ने कुरा बुझिन्छ तर यो धारणा गलत हो ।

जन्मोत्सवको कार्यक्रम शुरु गर्नुअघि दियोमा बत्ति बाल्न र जन्मोत्सव कार्यक्रम मनाउने अवधिभर उक्त दियो बलिरहनु पर्छ भन्ने मान्यता छ । दियो नभएमा कम्तिमा एउटा मैनबत्ति बालेर उक्त मैनबत्ति जन्मोत्सव चलिरहँदा बलिरहन दिनुहोस् । आफूभन्दा ठूलाको आशिर्वाद मानिसको जीवनमा आफूभन्दा ठूलाको आशिर्वादको ठूलो महत्व राखेको हुन्छ ।

त्यसैले जन्मोत्सवमा आफूभन्दा ठूलाको आशिर्वाद लिनु राम्रो हुन्छ । हामी आफनो जन्मदिनमा कुनै पनि वृद्धाश्रम, वालआश्रम, गरिव, भोका नाङ्गा आदीलाई आफ्नै हातले वा कोही व्यक्तिहरुमार्फत खानेकुराहरु वितरण गर्न सक्छौं । हाम्रो शास्त्रीय मान्यताले भोका व्यक्तिलाई खान दिएमा सबैभन्दा ठूलो पुण्य हुने उल्लेख गरेको छ ।

आफना बालबालिकाको जन्मोत्सव मनाउँदा देखिनै उनीहरुलाई अब आउने नयाँ वर्षमा केही राम्रा र निश्चित काम गर्नेछु भनि अठोट गर्ने बानी बसाल्नु पर्दछ । किनकी जन्मोत्सव जस्तो महत्वपूर्ण दिनमा गरिने वाचालाई सधै सम्झने र त्यसलाई अबलम्बन गर्नु पर्छ भन्ने मनोविज्ञान बालबालिकामा सदैव रहन्छ ।

खालि ‘ह्याप्पी बर्थ डे’को गीत गाएर थपडी बजाई केक काटेर मात्र पनि जन्मदिन मनाईदैन ।

मन्त्रोच्चारण सहितको विधि सबैभन्दा राम्रो वैदिक परिम्पराअनुसार तय गरिएको मन्त्रोच्चारण सहित जन्मोत्सव मनाउँदा उत्तम हुन्छ । जन्मदिन मनाउन सवेरै उठेर स्नान गर्नु प्रात कालको नित्य कर्म गरेर, देव अर्चन गरेर दानको संकल्प उपहार लिनु भन्दा पनि दान दिनु उत्तम हुन्छ । बालगृह, छात्राबास आदिमा आवस्यक पर्ने खाद्य सामग्री, कपि, कलम, लुगा आदि दान पनि दिन सकिन्छ । यसले समाजको सेवा पनि हुन्छ जन्मदिन मनाउने बाल बालिकाको हृदयमा आनन्द पनि हुन्छ ।आफूभन्दा ठुलो, मान्यजनबाटलाई आभिवादन गर्दै आशिर्वाद लिने । उनीहरुको सेवा सत्कार गर्ने । जन्मदिन मनाउँदा केक काट्ने प्रचलन रहि आएको छ तर केक काटेर बत्ति निभाउनु उत्तम मनिँदैन ।

नेपालमा हरेक संस्कारको विकाससँगै भड्कीलो भन्दै गएको छ। महंगो बन्दै गएको छ। मानिसको हरेक दिन जन्मदिन पर्छ।

सामाजिक सञ्जालले त जन्मदिन को सूचनासमेत दिन थालेको छ। सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना तेतिकै आएको हुन्छ। सुभेच्छा शुभकामनाको आईरो हुन्छ। एक जना पत्रकार साथी भन्दै हुनुहुन्थ्यो यो फेसवुकमा जन्मदिन लगायतका विभिन्न विषयमा शुभकामना दिन त, आफूले भ्याउन नसक्ने भए नदिउन भनो भने साथीहरूले के सोच्लान् दिनलाई आफूलाई फुर्सद हुँदैन त्यसको लागि एउटा मान्छे नै राख्नु पर्ला जस्तो भईसक्यो। फेसवुक खोल्यो बार जन्मदिनका कुरा आउँछन्। यो सामाजिक सञ्जालमा देखिएको समस्या साथीले सुनाउनुभयो। जन्मदिनको अत्यन्तै महत्व हुन्छ। मेरो जन्म के का लागिरु किनरु भन्ने कुरालाई हामीले महत्व दिनुपर्छ।

मानिस ९ महिनाको गर्वको बसाई पछि यस धर्तिमा आउँछौं। आमाको पेटमा रहँदा आमाको सालनालबाट खाना पिना गरेको अवस्थामा जन्म पछि आमाको दुधले जिवन चलेको हुन्छ। समय सँगै प्रत्येक वर्ष, १ वर्ष वुढो हुँदै हामीले जन्मदिन मनाउँदै एक दिन मृत्यु शैयामा पुगिन्छ। हाम्रो जन्मले के भयो ! यो समाज र राष्ट्रका लागि हामीले के योगदान दिन सकौं। केही बर्ष अघि मात्रै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनले पनि निकै चर्चा पायो। सदनमा समेत चर्चा चलेको थियो।

जन्मदिनको चर्चा यति विग्न चलेको राम्रो या नराम्रो हामीले समीक्षा गर्नुपर्छ। आमाको गर्वको नौ महिना अनि वावुको परिश्रम र मेहनतको प्रतिफल हाम्रो जन्मले यो धर्तिमा विश्वको जनसंख्यामा थपिँदा हामीले यो संसारमा योगदान दिनु पर्छ। आज जन्मदिन भनेर भनिरहँदा मेरो आमाबाबालाई सम्झन चाहन्छु। तथापि आमाबाबाको आशिर्वाद उहाँहरुले देखाएका बाटा र सिकाएका शिक्षालाई कदापि भुल्ने छैन।

आज पर्न गएको मेरो जन्मदिनको आर्शिवाद ग्रहण गर्दछु। जीवन एक सुन्दर अवसर हो। यो सुन्दर अवसर पाइने दिन हो जन्मदिन। जीवन पाएको दिनको स्मरण गर्दै मनाइने हरेक जन्मदिन विशेष हुन्छन्। जन्मदिनले व्यक्तिमा उर्जा र उत्साह ल्याइदिन्छ। जसले आगामी दिनको लागि शक्ति दिन्छ। यो मेरो जन्मले आफ्नो लागि त अवश्यनै गरिन्छ। तर, यस समाज र देशका लागि समेत केही गर्ने अठोट म, मा रहेको छ अनि मात्र हाम्रो जन्म सिद्घ हुनेछ। त्यसैले जन्मदिनको त महत्व हुन्छ नै कर्मले पनि जन्मदिनलाई सार्थक बनाउनु पर्छ।

जन्मदिन मनाउने फाइदा

१) संस्कार, स्मरण र कृतज्ञता: जन्मदिनले आफ्ना अभिभावक, परिवार र आफैंप्रतिको जिम्मेवारी सम्झाउने अवसर दिन्छ। कसैको मायाले मात्र आफ्नो जन्म सम्भव भएको हो भन्ने कुरा पुनः स्मरण गराउँछ।

२) सम्बन्ध प्रगाढ बनाउने : जन्मदिनमा आफन्त, साथीभाइसँग भेटघाट, शुभकामना आदान–प्रदानले सम्बन्ध बलियो हुन्छ। बालबालिकाको आत्मबल र सामाजिक सम्बन्ध निर्माणमा समेत मद्दत पुर्‍याउँछ।

३) आत्म–मूल्यांकनको अवसर – वर्ष दिनको यात्रा सम्झेर आफूले गरेका कामको समीक्षा गर्न, आगामी लक्ष्य बनाउन जन्मदिन उत्तम अवसर हो।

४) पुण्य र सेवाको अभ्यास – बालगृह, वृद्धाश्रम, असहायलाई सहयोग गर्दा बालबालिकामा पनि परोपकारको संस्कार बस्छ। समाजमा सकारात्मक परिवर्तनको आधार बन्न सक्छ।

५) उत्साह र ऊर्जा – आफ्ना लागि मात्र नभई समाजका लागि पनि केही गर्नुपर्ने अठोट जन्मदिनले थप बलियो बनाउँछ।

जन्मदिन मनाउँदा देखिएका विकृति र बेफाइदा

१) भड्किलो खर्च र देखासिकी – सामाजिक सञ्जालमा ‘केक काट्दै, पार्टी गर्दै’का तस्बिर राख्ने होडले आवश्यकता भन्दा बढी खर्च गर्न बाध्य बनाएको छ। गरिब र धनीबीच सामाजिक खाडल थप फराकिलो भएको छ।

२) संस्कार बिर्सिदै गइरहेको – तिथिपरम्परा, आशिर्वाद, दान आदि संस्कारको सट्टा केवल केक काट्ने, मदिरा सेवन गर्ने र डान्स पार्टी गर्ने संस्कार हावी हुन थालेको छ।

३) सामाजिक दबाब र मनोवैज्ञानिक असर – फेसबुकजस्ता सामाजिक सञ्जालले कसैलाई जन्मदिनको शुभकामना दिन बिर्सियो भने सम्बन्धमा चिसोपना आउने डर भएको छ। ‘ह्याप्पी बर्थडे’ भन्नैपर्छ भन्ने मानसिक दबाब सिर्जना भएको छ।

४) बालबालिकामा भ्रामक शिक्षा – जन्मदिनको नाममा महँगो पार्टी, डिआरजे, महँगो केक आदिमा फजुल खर्च गरेरै रमाइलो गराउने संस्कारले बालबालिकालाई उपभोक्तावादी बनाउँछ। जीवनको सच्चा उद्देश्य, कृतज्ञता र जिम्मेवारी सिकाउने अवसर छुट्न सक्छ।

५) कर्मकाण्डमा सीमितता – धेरै ठाउँमा मन्त्र, दान, संस्कारभन्दा बाह्य देखावट मात्रैमा जन्मदिन सीमित हुँदैछ। यसले हाम्रो मौलिक परम्परालाई खतरामा पारेको छ।

नेपाली समाजमा असर

नेपाली समाज बहुसांस्कृतिक, बहुभाषिक, बहुधार्मिक छ। जन्म संस्कार पनि जातजाती, वर्ग, क्षेत्रअनुसार फरक-फरक रूपमा मनाइन्छ। पछिल्लो पुस्ता भने मिडिया र ग्लोबल ट्रेन्डसँगै आफ्नो मौलिकता बिर्सेर जन्मदिनलाई ‘इभेन्ट’ बनाउँदैछ। यही कारणले गर्दा—

  • संस्कारभन्दा व्यापार हावी हुँदै गएको देखिन्छ। होटल, केटरिङ, इभेन्ट कम्पनीको कमाइको माध्यम बनेको छ।
  • गरिब र मध्यम वर्ग जन्मदिनमा पनि ऋणमा पर्नुपरेको अवस्था छ।
  • सामाजिक सञ्जालको दुरुपयोगले मानिसलाई आत्मकेन्द्रित बनाउँदै लगेको छ।
  • तर सकारात्मक दृष्टिले हेर्दा सामाजिक सचेतना बढ्दैछ। धेरैले आफ्नो वा छोराछोरीको जन्मदिनमा असहायलाई सहयोग गर्ने परम्परा सुरु गरेका छन्। यसको प्रोत्साहनले नेपाली समाजलाई अझ दयालु, सहिष्णु र जिम्मेवार बनाउन सक्छ।

अन्तमा

जन्मदिन हरेक व्यक्तिको जीवनमा महत्त्वपूर्ण र संवेदनशील अवसर हो। जन्मदिनलाई केवल भड्किलो पार्टीको माध्यम बनाउने होइन, आफ्ना कर्म, संस्कार र दायित्व सम्झिने अवसर बनाउँदा मात्र यसको सार्थकता रहन्छ। समाज, राष्ट्र र मानवताको सेवामा योगदान दिने प्रणसहित जन्मदिन मनाउन सके हाम्रो जीवन अझै अर्थपूर्ण बन्नेछ।