वि.सं.२०८२ कात्तिक २६ बुधवार

नेकपा एसका स्थायी कमिटी सदस्य हिरासतमा, राजेन्द्र कुँवर फरार, ३५ जनालाई ठगे

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) एसका एक स्थायी कमिटी सदस्य ठगीको मुद्दामा पक्राउ परेका छन् ।

वैदेशिक रोजगारी ठगीमा सो पार्टीका स्थायी कमिटी सदस्य देवसिंह महता एक सातादेखि हिरासतमा छन् ।

दुई जना फरार छन् । पूर्वश्रममन्त्री शेरबहादुर कुँवरका भाइ तथा अछाम जिल्ला कमिटीका नेता राजेन्द्र कुँवर र विनोद थापा भने फरार छन् ।

पक्राउ परेका स्थायी कमिटी सदस्य महताले पार्टी सञ्चालनका लागि पार्टी अध्यक्षको सचिवालयले निर्देशन दिएपछि रकम संकलन गरेको बयान दिएका छन् ।

ठगीमा परेपछि पीडितहरूले पटक-पटक पार्टी कार्यालय धाएर रकम फिर्ता गराउन प्रयास गरे । तर, स्थायी कमिटी सदस्य, पूर्वमन्त्रीका भाइसहितबाट भएको ठगीबारे अन्य नेताले कुनै पहल नगरेको पीडितको गुनासो छ ।

कोरियामा कृषि कार्यका लागि सिजनल भिसामा मान्छे पठाउने नाममा उनीहरूले विभिन्न जिल्लाका ३५ जनाबाट डेढ करोडभन्दा बढी रकम उठाएको भनी वैदेशिक रोजगार विभागमा जाहेरी दर्ता भएको छ । पीडितहरूको जाहेरीका आधारमा पक्राउ पुर्जी जारी भएको थियो ।

वैदेशिक रोजगार विभागबाट पक्राउ गर्न पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले महतालाई नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरेको हाे ।