वि.सं.२०८३ साउन ७ बिहीवार

नेकपा एसका स्थायी कमिटी सदस्य हिरासतमा, राजेन्द्र कुँवर फरार, ३५ जनालाई ठगे

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) एसका एक स्थायी कमिटी सदस्य ठगीको मुद्दामा पक्राउ परेका छन् ।

वैदेशिक रोजगारी ठगीमा सो पार्टीका स्थायी कमिटी सदस्य देवसिंह महता एक सातादेखि हिरासतमा छन् ।

दुई जना फरार छन् । पूर्वश्रममन्त्री शेरबहादुर कुँवरका भाइ तथा अछाम जिल्ला कमिटीका नेता राजेन्द्र कुँवर र विनोद थापा भने फरार छन् ।

पक्राउ परेका स्थायी कमिटी सदस्य महताले पार्टी सञ्चालनका लागि पार्टी अध्यक्षको सचिवालयले निर्देशन दिएपछि रकम संकलन गरेको बयान दिएका छन् ।

ठगीमा परेपछि पीडितहरूले पटक-पटक पार्टी कार्यालय धाएर रकम फिर्ता गराउन प्रयास गरे । तर, स्थायी कमिटी सदस्य, पूर्वमन्त्रीका भाइसहितबाट भएको ठगीबारे अन्य नेताले कुनै पहल नगरेको पीडितको गुनासो छ ।

कोरियामा कृषि कार्यका लागि सिजनल भिसामा मान्छे पठाउने नाममा उनीहरूले विभिन्न जिल्लाका ३५ जनाबाट डेढ करोडभन्दा बढी रकम उठाएको भनी वैदेशिक रोजगार विभागमा जाहेरी दर्ता भएको छ । पीडितहरूको जाहेरीका आधारमा पक्राउ पुर्जी जारी भएको थियो ।

वैदेशिक रोजगार विभागबाट पक्राउ गर्न पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले महतालाई नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरेको हाे ।