वि.सं.२०८३ कात्तिक २२ आइतवार

प्रहरी बैठकबारे मिडियामा अनुमानै अनुमान, छलफल नभएको विषयलाई समाचार बनाइयो

काठमाडौं । प्रहरी प्रधान कार्यालयमा बिहीबार बसेको उच्च प्रहरी अधिकृतहरूको बैठकलाई लिएर केही सञ्चारमाध्यममा प्रकाशित समाचारको तथ्यगत आधारमाथि प्रश्न उठेको छ।

बैठकमा प्रधानमन्त्रीकहाँ सामूहिक रूपमा जाने कि नजाने भन्ने विषयमा छलफल भएको भन्दै कान्तिपुर जस्ता धेरैमा समाचार प्रकाशित भए पनि प्रहरी प्रधान कार्यालयको भनाइ भने त्यससँग मेल खाँदैन।

केही मुख्यधारका सञ्चारमाध्यमले प्रहरी उच्च अधिकृतहरूको बैठक तीन घण्टादेखि जारी रहेको र बैठकमा प्रधानमन्त्रीकहाँ सामूहिक रूपमा जाने वा नजाने भन्ने विषयमा बहस भइरहेको उल्लेख गरेका थिए। समाचारमा प्रहरी अधिकृतहरूबीच यस विषयमा फरक–फरक धारणा आएको भन्दै प्रहरी स्रोतको भनाइसमेत उद्धृत गरिएको थियो।

प्रकाशित समाचारमा एकथरी अधिकृतले ‘संगठन बनाउने हो, जाऔँ साथी हो’ भन्ने धारणा राखेको उल्लेख छ। त्यस्तै, केही अधिकृतले प्रहरी अधिकारीहरू आफैँ अनुशासित नभएको र संगठनलाई व्यवस्थित बनाउन नसकेकै कारण सरकारले हस्तक्षेप गर्न खोजेको हुन सक्ने धारणा राखेको भन्दै समाचारमा उल्लेख गरिएको छ।

तर प्रहरी प्रधान कार्यालयको भनाइलाई आधार मान्ने हो भने बैठकमा प्रधानमन्त्रीकहाँ सामूहिक रूपमा जाने वा नजाने भन्ने विषयमा छलफल नै भएको थिएन। अर्थात्, बैठकको छलफलको विषय नै नभएको कुरालाई केही सञ्चारमाध्यमले बैठकभित्रको बहस र अधिकृतहरूबीचको मतभेदका रूपमा प्रस्तुत गरेका छन्।

प्रहरी प्रधान कार्यालयले बैठकमा भएको छलफलको विषयबारे दिएको जानकारी र सञ्चारमाध्यममा प्रकाशित विवरणबीच देखिएको यो अन्तरले समाचारको स्रोत र तथ्य पुष्टि गर्ने प्रक्रियामाथि प्रश्न उठाएको छ।

प्रहरी संगठनको नेतृत्व तहमा हुने बैठक, निर्णय र आन्तरिक छलफल सार्वजनिक चासोका विषय हुन्। त्यसबारे समाचार आउनु स्वाभाविक पनि हो। तर बैठकमा हुँदै नभएको विषयलाई छलफल भएको भन्दै प्रस्तुत गर्नुले पाठक तथा आम नागरिकमा अनावश्यक भ्रम सिर्जना गर्न सक्छ।

विशेषगरी प्रहरी संगठनको चेन अफ कमान्ड, नेतृत्व र शान्तिसुरक्षासँग जोडिएका संवेदनशील विषयमा समाचार प्रकाशित गर्दा आधिकारिक जानकारी र तथ्यको पुष्टि गर्नु अझ आवश्यक हुन्छ। स्रोतको हवाला दिँदैमा कुनै पनि अपुष्ट विवरण स्वतः तथ्य बन्दैन।

समाचारको प्रतिस्पर्धाभन्दा तथ्यको विश्वसनीयता महत्त्वपूर्ण हुन्छ। प्रहरी बैठकबारे प्रकाशित समाचारमा उठेको प्रश्न पनि यही हो- बैठकमा वास्तवमै छलफल भएको विषय के थियो र छलफल नै नभएको विषयलाई समाचारमा किन प्रमुखताका साथ प्रस्तुत गरियो ?