वि.सं.२०८२ मंसिर १९ शुक्रवार

विदेशमा समेत दलित समुदायमाथि घोर अपमान! एमाले नेताबाट अश्लील गालीगलौज, कारबाहीको माग

काठमाडौं । नेपाल र विदेशमा रहेका नेपाली दलित समुदायले जेष्ठ २१ गते ‘जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस’ भव्य रूपमा मनाइरहेका बेला, युरोपेली मुलुक पोल्याण्डको शहरमा एक आपत्तिजनक घटनाले सम्पूर्ण समुदायलाई आक्रोशित बनाएको छ।

बुंगल घटना : आत्महत्या दुरुत्साहनकाे आरोपमा श्रीमान् पक्राउ

प्रेस विज्ञप्ति अनुसार, पोजननमा बसोबास गर्दै आएका प्रज्वल सुवेदी, जो प्रवासी नेपाली मञ्च पोल्याण्डका सचिवालय सदस्य समेत हुन् । उनी एमाले निटकका हुन् ।

उनले त्यही शहरमा रहेका दलित समुदायका सुबास विकलाई आधार बनाएर सामाजिक सञ्जालमा अश्लील र घोर अपमानजनक शब्द प्रयोग गर्दै सम्पूर्ण दलित समुदायलाई लक्षित गरी जातीय भेदभावपूर्ण व्यवहार गरेका छन्।

यस्तो आपत्तिजनक कार्य सभ्य समाजको मान्यताविपरीत मात्र होइन ।

युरोपजस्तो मानव अधिकारको उच्च प्रत्याभूति भएको भूभागमा समेत यस्तो गतिविधि हुनु निकै गंभीर र आपराधिक प्रकृतिको रहेको नोप्स युरोपले जनाएको छ।

नोप्स युरोप (Nepalese Organization for Political and Social Awareness – Europe) का अध्यक्ष अर्जुन सुनारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “प्रज्वल सुवेदीद्वारा गरिएको जातीय अपमान र अभिव्यक्ति सामाजिक सञ्जाल र सञ्चार माध्यममार्फत सार्वजनिक भइसकेको छ र यसले सम्पूर्ण दलित समुदायको अस्मिता र आत्मसम्मानमाथि गम्भीर आघात पुर्‍याएको छ।”

कानुनी दायराभित्र ल्याउनुपर्ने माग

उक्त कार्यलाई नेपालको ‘जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८’ र युरोपको ‘Discrimination and Equality Act 2010’ अन्तर्गतको गम्भीर आपराधिक कृत्यका रूपमा हेरिएको बताइएको छ।

नोप्स युरोपले सुवेदीलाई पोल्याण्डस्थित एनआरएनए (NRNA) तथा उनी संलग्न रहेका अन्य सामाजिक संस्थाबाट तुरुन्त कारबाही गर्न आग्रह गरेको छ।

यदि यथाशीघ्र संगठनहरुले कुनै कारबाही प्रक्रिया नथालेमा, पीडित पक्षले कानुनी प्रक्रिया थाल्ने चेतावनी दिएको छ।

यसबाट उत्पन्न हुने सम्पूर्ण जिम्मेवारी व्यक्तिगत रूपमा प्रज्वल सुवेदी र उनको संगठनले लिनुपर्ने चेतावनीसमेत दिइएको छ।

विदेशमा समेत जातीय भेदभावको निरन्तरता

यस्तो घटना विदेशमा रहँदा समेत नेपाली समाजभित्र गहिरो रूपमा व्याप्त जातीय विभेदको उजागर गर्ने प्रमाणका रूपमा हेरिएको छ।

विशेषगरी प्रवासी भूमिमा बसोबास गर्ने नेपालीहरुले सहिष्णुता, समानता र सामाजिक एकताको उदाहरण दिनुपर्नेमा यस्ता विभेदकारी घटनाले समुदायको छविमा धक्का पुर्‍याउने विश्लेषण गरिएको छ।

दलित अधिकारकर्मी र मानव अधिकारकर्मीहरुले घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै प्रवासी समाजभित्र विभेदविरुद्ध कडा ऐक्यबद्धता जनाउन आग्रह गरेका छन्।