वि.सं.२०८२ मंसिर १७ बुधवार

अब दलाली र तस्करीको अन्त्य! पूर्व डीएसपी पन्थीको ‘सरोकार केन्द्र’ बाट राष्ट्रव्यापी अभियान

वैदेशिक रोजगारीका नाममा भइरहेको अवैध धन्दा, भिजिट भिसा कारोबार, मानव तस्करी र दलालीविरुद्ध लगातार आवाज उठाउँदै आएका पूर्व प्रहरी उपरीक्षक (डीएसपी) तथा अधिवक्ता गोबिन्द पन्थि अहिले भने आफैं नियोजित दुष्प्रचारको शिकार बनेको गुनासो गर्छन्।

भिजिट भिसा र मानव तस्करीसम्बन्धी गिरोहको संलग्नता र शोषणको विरुद्ध सार्वजनिक रूपमा धारणा राखेका पन्थिको आलोचना गर्दै केही व्यक्तिहरू सामाजिक सञ्जाल र मिडिया प्रयोग गरेर गलत सूचना फैलाउने काम भई रहेको छ।

पन्थिले सामाजिक सञ्जालमार्फत आफ्ना विचार सार्वजनिक गर्दै भनेका छन्, “मैले केही दिनअघि भिजिट भिसासम्बन्धी अवैध धन्दा र मानव तस्करीको विषयमा बोलेको थिए। त्यसपछि नियोजित ढंगले मेरो चरित्र हत्या गर्न र मेरो सामाजिक योगदानमा प्रश्न उठाउन खोजिएको छ।”

“सरोकार केन्द्र” मार्फत उद्धार र कानुनी सहायता

पूर्व डीएसपी पन्थिले हाल “सरोकार केन्द्र” नामक संस्था सञ्चालन गर्दै आएका छन्। यो संस्थाले वैदेशिक रोजगारीको नाममा ठगिएका नागरिकहरूलाई उद्धार गर्ने, कानुनी सहायता उपलब्ध गराउने, मानव तस्करहरूविरुद्ध उजुरी दायर गराउने लगायतका कार्य गर्दै आएको छ।

उनका अनुसार अहिलेसम्म ११ जना पीडितको उद्धार भइसकेको छ भने १५ जनालाई निःशुल्क कानुनी सहायता दिइएको छ। “केही तस्करहरू कानुनी कठघरासमेत आइपुगेका छन्,” उनले उल्लेख गरेका छन्।

शोषणको विरुद्ध बोल्दा आक्रमण सुरु

पन्थिले स्पष्ट रूपमा दलाल, तस्कर र गैरकानुनी भिजिट भिसा कारोबारमा संलग्न गिरोहले नै आफ्नो विरुद्ध भ्रामक सूचना फैलाउन थालेको आरोप लगाएका छन्। उनी भन्छन्, “मेरो व्यक्तिगत फाइदाको लागि होइन, जागिरे जीवनमा देखेको पीडाले मलाई यो सामाजिक अभियानमा लाग्न बाध्य बनाएको हो।

विदेशमा ५० डिग्री तापक्रममा काम गरिरहेका हाम्रा दिदीबहिनी र दाजुभाइहरूलाई दलालहरूले झूटो सपना देखाएर अलपत्र बनाउँछन्। उनीहरूको चित्कार सुन्न नसकेर मैले ‘सरोकार केन्द्र’ स्थापना गरेको हुँ।”

पत्रकारहरूप्रति अपिल

पन्थिले आफूविरुद्ध फैलाइएको भ्रममा परेर कुनै पनि पत्रकारले विषयलाई तोडमोड गरेर नबुझून् भन्ने अपिल गरेका छन्। उनले भनेका छन्, “कुनै समाचार, विश्लेषण वा टिप्पणी तयार पार्दा स्रोतको मनसाय, सन्दर्भ र यथार्थ बुझेर मात्रै प्रकाशन होस्।”

उनले स्पष्ट पारेका छन् कि पत्रकारिता सत्य, निष्पक्षता र अनुसन्धानमा आधारित हुनुपर्छ। “म सधैं सत्यको पक्षमा छु। पत्रकारिताको जिम्मेवारी, मर्यादा र निष्पक्षतालाई उच्च सम्मान गर्छु,” उनले लेखेका छन्।

संस्थागत अपराध विरुद्ध व्यक्तिगत लडाइँ

पूर्व डीएसपीको हैसियतले लामो समय प्रहरी सेवामा कार्यरत रहेका पन्थिले जागिरे जीवनकै अनुभवले उनलाई मानव तस्करविरुद्ध आवाज उठाउन प्रेरित गरेको बताउँछन्। “अब तस्करहरू निर्मूल पार्नुपर्छ। विशेष गरी महिलाहरूलाई झूटो सपना देखाएर विदेश पठाउनेहरुलाई रोक्न म कटिबद्ध छु,” उनले उल्लेख गरेका छन्।

उनले पत्रकारिता क्षेत्रका केही व्यक्तिहरू समेत दलालहरूसँग मिलेर आफूविरुद्ध दुष्प्रचारमा लागिरहेको आशंका पनि व्यक्त गरेका छन्। “सत्यतथ्य सम्प्रेषण गर्ने उद्देश्यले खोलिएको मिडियाको दुरुपयोग हुँदा दुःखी छु,” उनले भने।

गोबिन्द पन्थिले आफ्नो अभियानलाई सफल बनाउन आम नेपाली जनताको साथ आवश्यक रहेको उल्लेख गरेका छन्। “मानव तस्करहरूलाई सयौं पटक सोच्न बाध्य पार्ने वातावरण हामी सबै मिलेर बनाऔं। मिडियाले सत्यतर्फ उन्मुख होस्,” उनी भन्छन्।

उनको अभियान केवल व्यक्तिगत लडाइँ नभई व्यापक सामाजिक सरोकार र जनहितमा आधारित छ। उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, “फन्डेबाजहरूको चाल निस्तेज पार्न तपाईंहरूको साथ अपरिहार्य छ।”