वि.सं.२०८१ असोज २६ शनिवार

गुण्डा नाईके चक्रे बन्दुकसहितको सुरक्षा घेरामा (भिडियो)

नेपालगञ्जमा हतियार प्रदर्शन गरेको भिडिओ बाहिरिएपछि एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

चक्रे मिलन समूहका गणेशबहादुर बोगटीलाई सोमबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका एसपी सन्तोषसिंह राठौरले जानकारी दिए।

चक्रे मिलनसहित केही युवाहरू होटलबाट बाहिरिँदै गरेको भिडिओ बाहिरिएको थियो।

तीमध्ये बोगटीले बन्दुक बोकेका थिए। त्यसरी बन्दुक बोकेको भिडिओ सामाजिक सञ्जाल टिकटकमा राखेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

एसपी राठौरका अनुसार उक्त बन्दुक बोगटीकै नाममा लाइसेन्स छ। तर त्यसरी खुला रूपमा प्रदर्शन गर्दै हिँड्न नमिल्ने पनि उनले बताए। बोगटीमाथि हातहतियार तथा खरखजना मुद्दामा वा अभद्र व्यवहारको मुद्दा चलाउने तयारी रहेको उनले बताए।

राजधानीको चक्रपथ र ठमेल क्षेत्रमा गुण्डागर्दीको राज चलाउँदै आएका चक्रेको अहिले अत्याधुनिक हतियार एके ४७ को सुरक्षामा नेपालगञ्जमा देखिएका भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। उक्त भिडियोमा चक्रेको पछि पछि हिडेका एक व्यक्तिको साथमा एके ४७ हतियार देखिएको छ।

टिकटकबाट सार्वजनिक गरिएको उक्त भिडियोमा नेपालगञ्जको सिदार्थ होटलबाट बाहिरिँदै गरेका चक्रे मिलनसँगै रहेका एक युवकले बन्दुक बोकेको देखिएको छ ।

नेपालगञ्जकै ज्ञानु वली र विमल केसीको निमन्त्रणमा नेपालगञ्ज पुगेका चक्रेको साथमा हतियार बोक्ने युवा गणेश बोगटी भएको स्रोतको दावी छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी पोषराज पोखरेलले सो विषयमा प्रहरीले अनुसन्धान शुरु गरिसकेको बताएका छन्।

गुण्डा नाइकेहरु घैंटे भनिने कुमार श्रेष्ठ र दिनेश अधिकारी चरी प्रहरी इन्काउन्टरमा मारिएपछि गुण्डागर्दी शून्यमा झरेको भएपनि अहिले चक्रे मिलनले सो हतियार प्रर्दशन गरेपछि भने गुण्डाहरु सल्बलाउन थालेको पुष्टि भएको छ।