वि.सं.२०८१ भदौ २८ शुक्रवार

चौधरी ग्रुपले हडपेको १० रोपनी जग्गा फिर्ता गर्न चाँदबागलाई २ दिने ‘अल्टिमेटम’

काठमाडौंको बाँसबारीस्थित चाँदबाग स्कुलले अतिक्रमण गरेको जग्गा खाली गराउन काठमाडौं महानगरपालिकाले चाँदबाग स्कुललाई जग्गा फिर्ता गर्न महानगरको २ दिने ‘अल्टिमेटम’ दिएको छ ।

कुनै बेला बाँसबारी छाला जुत्ता कारखाना उद्योग रहेको उक्त १० रोपनी सरकारी जग्गा आफ्नो नाममा पारेर चौधरी ग्रुपले चाँदबाग स्कुल सञ्चालन गर्दै आएको थियो । तर चौधरी ग्रुपको चाँदबाग स्कुल सञ्चालन भइरहेको उक्त जग्गा सरकारीकरण भइसकेको छ ।

बाँसबारी जग्गा घोटाला प्रकरण : अरुण चौधरीलाई रिहा गर्न आदेश दिने न्यायाधीश कारबाहीमा

सोमबार महानगरको नगर प्रहरी बल स्कुलको जग्गा खाली गराउनका लागि पुगेको थियो । दुई दिनभित्र खाली गराउन भनेर पुगे पनि समय थप गरिएपछि त्यहाँबाट फर्किएको महानगर प्रहरी बलका नगर उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए ।

महानगरपालिका प्रमुख बालेन साहका स्वकीय सचिव भूपदेव शाहले विद्यालय सञ्चालकबाट जग्गा खाली गराउन समय थपको मागेको बताए । ‘हामीले २ दिनभित्र जग्गा खाली गराउन भनेको हो । तर खाली गराउनका लागि थप समय माग भएको छ,’ उनले भने, ‘अब अधिकतम सात दिनभित्र फिर्ता गर्न भनिएको छ । सात दिनपछाडि फिर्ता नगरे ताला लाग्छ ।’

सीआईबीले तान्यो डलर अर्बपति चौधरीलाई अनुसन्धानमा

सरकारी जग्गा हडपेर चाँदबाग स्कुलको नाममा लगिएको जग्गा मालपोत कार्यालय डिल्लीबजारले सरकारका नाममा कायम गरेपछि खाली गराउन महानगरपालिका सक्रिय भएको हो । मालपोत कार्यालय डिल्ली बजारका अनुसार कित्ता नम्बर ५८ को ४८७ वर्गमिटर क्षेत्रफलको जग्गाको लालपूर्जा सरकारको नाममा कायम गरिसकिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले २०८० माघ २२ गते मालपोत कार्यालयलाई पत्र पठाएर उक्त जग्गा नेपाल सरकारका नाममा श्रेस्ता अध्यावधिक गर्न पत्राचार गरेको थियो । सो पत्रका आधारमा ९ चैत २०८० मा बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको नाममा आएको थियो ।

भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले ८ साउन २०८१ मा ३ नम्बर वडालाई सो जग्गाको स्रेस्ता उतारेर दिएको थियो । स्रेस्ता पाएपछि वडाले चाँदबाद स्कुललाई हट्न भनेको थियो ।

छालाजुत्ता उद्योगको जग्गा हडप्ने व्यवसायी चौधरी प*क्रा*उ

सरकारी जग्गा हडप्ने तत्कालीन च्याम्पियन फुटवेयर प्रालि र हालको चाँद बाग रेसिडेन्सी प्रालिका सञ्चालक समितिका अध्यक्ष सञ्जय ठाकुरलाई बोलाएर भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले उक्त जग्गा सरकारका नाममा कायम गरेको हो ।

मालपोत कार्यालयले चाँदवाग रेसिडेन्सीका अध्यक्ष ठाकुरलाई पत्र लेखी २१ दिनभित्र उपस्थित हुन भनेको थियो । पत्रमा भनिएको थियो, ‘‘ २०८०–१०–२२ को आदेशबमोजिम उक्त जग्गा नेपाल सरकारको नाममा स्रेस्ता अद्यावधिक गरी ल्याउन मिति २०८०–१०–२४ को आदेशबमोजिम त्यस प्रालिका नाममा यो पत्र लेख्ने कार्य भएको छ । पत्र प्राप्त भएको मितिले बाटोको म्यादबाहेक २१ दिनभित्र आफैँ वा वारेस मुकरर गरी कार्यालय समयभित्र उपस्थित हुनु होला अन्यथा कानुनबमोजिम भई जाने व्यहोरा जानकारी गराइन्छ ।’

कम्पनीका अध्यक्ष ठाकुरसहित मुख्य लगानीकर्ता अरुण चौधरी तथा बाँसबारी छाला तथा जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो । अदालतको आदेशअनुसार उनीहरू जमानीमा छुटेका थिए ।