वि.सं.२०८१ भदौ २८ शुक्रवार

कराैडाैं ठगेर कता लुके कांग्रेसी नेता बिचाैलिया ?

भरत चौलागाईंका थप किस्सा : सर्वोच्चमा नक्कली स्टीकर काण्ड, बिचौलियाको रजगज

अदालतको मुद्दा र जग्गा विवादमा सेटिङ्ग मिलाइदिने भन्दै विभिन्न व्यक्तिसँग करोडौं रकम असुलेर फरार नेपाली कांग्रेसका नेता भरतप्रसाद चौलागाईविरुद्ध पीडितले नेपाल प्रहरी गुहारेका छन् ।

प्रहरीले चेक बाउन्स र ठगीको उजुरीमा चौलागाईविरुद्ध अदालतबाट पक्राउ पुर्जी लिने तयारी भइरहेको जनाएको छ । चौलागाईविरुद्ध पछिल्लोपटक घरजग्गा व्यवसायी सानुभाइ थापाले जाहेरी दिएका छन् ।

रामेछापमा कांग्रेसका नेता तथा महाधिवेशन प्रतिनिधि चौलागाईविरुद्ध ठगी र बैंकिङ कसूरका मुद्दा परेपछि उनी अहिले फरार छन् ।

कांग्रेस रामेछाप कै एक नेत्री प्रयोग गरेर अदालतका एक न्यायाधिशसंगको सेटिङ्गमा ठूला मुद्दाहरू मिलाएर पैसा कमाएको चौलागाईंलाई आरोप लाग्दै आएको छ। उनले करोडौं ठगेको र कतिपय खाली चेक दिएकाे पाइएकाे छ ।

स्रोतकाअनुसार चौलागाईबाट कांग्रेस नेता तथा कोशी प्रदेशका सांसद अमृत अर्यालसमेत ८ करोड ठगिएका छन् ।

विष्णु बर्देवाको १ करोड र तरुण दलका केन्द्रीय सदस्यसमेत रहेका रामेछापकै कांग्रेस नेता सौरभ केसीको समेत डेढ करोड फसेको छ ।

चौलागाईले नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका संचालकको मुद्दा मिलाउन पनि करोडौंको डिल गरेको बुझिन्छ । सानुभाइ थापाले भने बाउन्स चेकसहित आफूले दिएको रकम उठाउन प्रहरी गुहार गरेका छन् । थापाले ८० लाख चेक बाउन्सको उजुरी दर्ता गरे पनि थप ३ करोड १२ लाखको चेक बाउन्सको उजुरी भने प्रहरीले दर्ता गरिसकेको छैन ।

भरत चौलागाईंका थप किस्सा : सर्वोच्चमा नक्कली स्टीकर काण्ड, बिचौलियाको रजगज

न्यायालयमा बिचौलियाको राज चल्ने गरेको कुरा सर्वाेच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनले नै बोलेको छ ।

अदालतमा बिचौलिया छन् भन्ने अमूर्त भाषासहितको प्रतिवेदनले प्रधानन्यायाधीशकै भाइ अहिलेका ठूलो बिचौलिया रहेको भन्ने चर्चामा भने मौन बसेको छ । ठूला आर्थिक सरोकारका मुद्दामा भाइ प्रभुकै सेटिङ हुने गरेको चर्चा न्यायिक क्षेत्रमा व्यापक छ ।

सरकारी जग्गा अतिक्रमणदेखि १७ अर्ब सहकारीको रकम ठगी गर्ने सुधीर बस्नेतको बचाउमा पनि प्रभुकै नाम आउने गरेको छ ।

अदालतका बिचौलियाले मदिरामा नक्कली अन्तशुल्क स्टीकर टाँसेर राजश्व छली गर्नेलाई समेत मुद्दा जिताइदिन्छु भनेर घुस लिएको तथ्य पटक पटक उजागर भएकै छ ।

पर्साका धवलागिरी डिष्टीलरी र उदयपुर डिष्टीलरीले अन्तः शुल्कका नक्कली स्टीकर टाँसेर ३३ करोडको राजश्व अपचलन गरेको ठहर आन्तरिक राजश्व कार्यालय वीरगंज पर्साले गरेको थियो ।

त्यसविरुद्ध मदिरा कम्पनीका सञ्चालक ओमप्रकाश कलवारसहितका मदिरा उद्योगका सञ्चालकहरुले राजश्व न्यायाधीकरणमा मुद्दा दायर गरेका थिए ।

यो मुद्दामा राजश्व न्यायाधीकरणबाट जिताइदिन्छु, भनी बिचौलिया भरत चौलागाईंले कलवारसहितका मदिरा उद्योगका सञ्चालकसँग करोडौं लिएका थिए ।

तर, अदालतमा सेटिङ गरी नक्कली स्टीकर टाँस्ने उद्योगलाई जिताउने खेल भइरहेको समाचार सार्वजनिक भएपछि राजश्व न्यायाधीकरणका न्यायाधीश विनोद शर्माले चौलागाईंको सेटिङ अनुसार फैसला गर्न सकेनन् ।

राजश्व न्यायाधीकरणबाट मुद्दा हारेपछि चौलागाईंसँग दिएको घुस फिर्ता माग्न गएका कलवारहरुलाई उनले तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग आफ्नो घनिष्ठ सम्बन्ध रहेको र तास समेत खेल्ने गरेकाले सर्वाेच्चबाट जिताइदिन्छु भनी निस्साका लागि निवेदन दिन लगाएको स्रोतको दावी छ ।

निस्साको निवेदन परेपछि आफू अनुकूलको न्यायाधीशको इजलासमा नपरुञ्जेलसम्म मुद्दा सार्न लगाए ।

२०७८ साउन २२ गते आफूले भने अनुकूलको न्यायाधीशकोमा पेसी परेपछि निस्सा दिलाउन सफल भएका छन् ।

२०७८ साउन १५ गते न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार चुडालको वेञ्चमा परेको पेशी सारेर एक हप्तामै अर्काे पेशी राख्न लगाई २०७८ साउन २२ गते न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको वेञ्चबाट निस्सा दिलाएका छन् । नक्कली अन्तशुल्क स्टिकर राष्ट्रिय अपराध हो ।

राष्ट्रिय अपराध गर्ने उदयपुर डिष्टिलरी र धौलागिरी डिष्टीलरीलाई आन्तरिक राजश्व कार्यालयले गरेको कारबाहीलाई राजश्व न्यायाधीकरणले सदर गरिसकेको छ ।

अब सर्वाेच्चबाट राष्ट्रिय अपराध गर्ने नक्कली स्टीकर प्रयोगकर्तालाई मुद्दा जिताउन बिचौलिया भरत चौलागाईंले १३ करोडमा डिल गरेको स्रोत बताउँछ । प्रधानन्यायाधीशको नामको बद्नाम गर्दै नक्कली स्टिकरजस्तो राष्ट्रिय अपराध गर्नेलाई उन्मुक्ति दिलाउन लागेका छन् ।

भरत चौलागाईं अदालतका मुद्दा सेटिङ गर्दै करोडौं करोडका मालिक भइसकेका छन् । रामेछापको गुन्सी भदौरे घर भएका चौलागाईंले दीपकराज जोशी सर्वाेच्चमा हुँदा बिसौं करोडका सरकारी जग्गा व्यक्तिका नाममा कायम गराउँदै दशौं करोडका मालिक भइसकेका छन् । अदालतका खुंखार बिचौलिया भरत चौलागाईं रामेछापको कांग्रेसी राजनीतिमा प्रतिनिधि सभाकै टिकट दाबी गर्न थालेका छन् । रामेछापका प्रत्येक वडामा रहेका सरकारी विद्यालयका विद्यार्थीलाई ब्याग र ट्रयाकसुट वितरण गर्दै हिँडेका छन् ।

महासमिति सदस्य नेपाली कांग्रेस उल्लेख गरेका टिसर्ट, ट्रयाकसुट र स्कूल ब्यागहरु बितरण गर्ने अभियान नै चालिएको छ । नेपाली कांग्रेसमा वर्षाै दुःख गरेका, जेलनेल भोगेकाहरु भरत चौलागाईंजस्ता बिचौलियाको तडकभडकका सामु निरीह सावित भएका छन् । अर्बपति ठेकेदारका रुपमा चिनिएका पूर्णबहादुर तामाङ उर्फ कान्छारामसमेत चौलागाईंसँग पैसामा प्रतिस्पर्धा गर्न सकिएन भन्दै दिक्क मान्न थालेको चर्चा कांग्रेसीहरु नै गर्दैछन् । कान्छाराम यसअघि २०७४ मंसिर १० गते भएको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेद्वार थिए । २६ हजार बढी वामपन्थी भोटलाई काटेर उनी ५ हजार मतान्तरमा पराजित भएका थिए ।

चौलागाईंको प्रवेशले कान्छारामलाई सकस परेको कांग्रेसजनहरुकै भनाइ छ । चौलागाईंले नेपाली कांग्रेसमा तेस्रो धारको च्याँखे थापेर लाभ लिँदै आएका कृष्ण सिटौलालाई फन्डिङ गर्दै आएका छन् । उनले कृष्ण सिटौलाको कोटाबाट रामेछापमा प्रतिनिधिसभाको टिकट दाबी गर्न थालेको स्रोतले बतायो । सिटौलाको कोटामा यी बिचौलियाले टिकट पाए भने अचम्म नमाने हुन्छ, एक कांग्रेसका नेताले भने । सादा जीवन उच्च विचारको पक्षपाती बताउने सिटौलाले चौलागाईंजस्ता बिचौलियालाई च्याप्दा उनीसमेत बद्नाम हुँदैछन् भनेर साँघु साप्ताहिकले समेत छापेको थियो।

यस्तो छ नक्कली स्टिकर काण्ड

आन्तरिक राजस्व कार्यालय बीरगंज पर्साले पर्साको पोखरीया नगरपालिकामा रहेको जयश्री धवलागिरी डिष्टीलरी र उदयपुर डिष्टीलरीले अन्तशुल्क स्टीकरको हिनामिना र दुरुपयोग गरी करिब ३२ करोड राजस्व छली गरेको ठहर गरेको थियो । जयश्री धवलागिरी डिष्टीलरीले ५ करोड ४७ लाख ५९ हजार ७७३ रुपैयाँ अन्तशुल्क छली गरेको विवरण आन्तरिक राजस्व कार्यालय बीरगंजले निकालेको छ ।

उदयपुर डिष्टीलरीले २६ करोड १५ लाख ७० हजार ३४७ रुपैयाँ अन्तशुल्क छली गरेको ठहर आन्तरिक राजस्व कार्यालय २०७६ असोज ७ मा गरेको थियो । आन्तरिक राजस्व कार्यालय बीरगंजका तत्कालीन प्रमुख गोपीकृष्ण कोइरालाले ती दुई डिष्टीलरीले ३१ करोड ६३ लाख ३० हजार १४७ रुपैयाँ अन्तशुल्क छली गरेको फैसला गरेका थिए ।

आन्तरिक राजस्व कार्यालयका प्रमुख अन्तशुल्क हेर्ने अधिकारी पनि हुन् । अन्तशुल्क छली गर्ने जयश्री धवलागिरी र उदयपुर डिष्टीलरीले अन्तशुल्क अधिकारीले गरेको फैसलाबिरुद्ध राजस्व न्यायाधीकरण पुल्चोकमा २०७६ कात्तिक २० मा पुनरावेदन गरेका थिए ।

जयश्री धवलागिरी डिष्टीलरी र उदयपुर डिष्टीलरीका संचालक दाजुभाइ हुन् । जयश्री धवलागिरीका शम्भुशरणप्रसाद कलवार हुन् भने उदयपुर डिष्टीलरीका ओमप्रकाश कलवार हुन् । अन्तशुल्क अधिकारीले शम्भुशरणलाई बिगो, जरिवाना र बिलम्ब शुल्क गरी ५ करोड ४७ लाख ५९ हजार ७७३ रुपैयाँ असुलउपर गर्ने फैसला गरेको थियो ।

उक्त रकम नबुझाएमा मुलुकी फौजदारी संहिताको २०७४ को दफा १६४(२) बमोजिम जायजेथा गरी असुलउपर गर्नू, जायजेथा गर्दा पनि असुल नभएमा सोही ऐनको दफा १६४ को उपदफा ७ बमोजिम ७ बर्ष कैद संजाय हुने फैसला गरेको थिए ।

यस प्रकरणका प्रमाणहरू खप्तडटिभीसंग सुरक्षित छन्, सम्पादक ।