वि.सं.२०८१ माघ १ मंगलवार

म मास्टर..!

म मास्टर !
ख‌ै के मास्टर ?
न सत्य बोल्न सक्छु
न साँचो खोल्न सक्छु
बस् , पढाउँछु
अक्षरहरू रटाउँछु
शब्दहरू घोकाउँछु
मान्छेका छोराछोरीलाई
भेडाबाख्रा बनाउँछु ।

धुजा परेको इतिहास
टालटुल पारेर पढाउँछु
खोइरो लागेको वर्तमान
ढाकछोप गरेर पढाउँछु
ढाँटैढाँटको खेती गर्ने
म मास्टर !

न माफिया र भ्रष्टाचारले
चुसिएको देशको कथा पढाउँछु
न हत्या र बलात्कारले लुटिएको
देशको व्यथा सुनाउँछु
बस् , पढाउँछु
मान्छेका छोराछोरीलाई
भेडाबाख्रा बनाउँछु ।

स्वदेशमै हराएका नागरिकलाई पढाउँछु
भोका, नाङ्गा , बुङ्गालाई
नैतिक , अर्ती सिकाउँछु
पिजडाका सुगाजस्तै
ज्ञानीगुणी बनाउँछु
मान्छेका छोराछोरीलाई
भेडाबाख्रा बनाउँछु ।

म मास्टर !
खै के मास्टर ?
न सत्य बोल्न सक्छु
न साँचो खोल्न सक्छु
बस् , पढाउँछु
मान्छेका छोराछोरीलाई
भेडाबाख्रा बनाउँछु ।